आलमको बयान सकिएन: भोलि पनि जारी रहने

 कात्तिक २०, २०७६ बुधबार १९:८:६ | उज्यालो सहकर्मी
unn.prixa.net

राैतहट - राजपुर बमकाण्डको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता आफताब आलमको बयान आज दोश्रो दिन पनि सकिएन । बिहान १० बजे नै अदालत पुर्‍याइएका आलमको बयान साँझ ४ं.३० बजे सम्म चलेको थियो ।

जिल्ला अदालत रौतहटको चार नम्बर इजलासमा आज भएको बयानमा आलमलाई २३ वटा प्रश्न मात्रै सोध्न भ्याइएको थियो । पहिलो दिनको बयानमा मंगलबार आलमलाई ९ वटा प्रश्न सोधिएको थियो ।

आजसमेत गरेर आलमको ३२ वटा बयान लिइसकिएको छ । न्यायाधीश दिपक ढकालको इजलाशमा आलमलाई मिसिलअनुसार प्रश्न सोध्ने र त्यसको जवाफ लिने काम भएको सरकारी वकिल खडिन्द्रराज कटुवालले जानकारी दिनुभयाे ।

न्यायाधीशले आलमलाई घटनासम्बन्धी मिसिल, घटना भए नभएको, कसरी के भएको र आलममाथि लगाइएको अभियोगको बारेमा प्रश्न सोधेकाेमा आलमले अधिकांश प्रश्नको इन्कारी बयान दिएका थिए । उनले घटना नै नघटेको र आफूलाई झूटाे आरोप लगाइएको जवाफ दिएका थिए । प्रहरीले अनुसन्धान गरी मिसिलमा सामेल गरेको अधिकांश प्रमाणहरुको बारेमा पनि आलमको जवाफ इन्कारी नै रहेको थियो ।

आलममाथि लगाइएका तीन मुद्दामध्ये आज कर्तव्य ज्यान मुद्दासम्बन्धी बयान मात्र सकियाे । आलमलाई भोलि बिहीबार ज्यान मार्ने उद्योग र बम विस्फोटनसम्बन्धी कसुरका बारेमा प्रश्न सोधिने अधिवक्ता पुष्पराज पौडेलले बताउनुभयाे । 

बेन्चले मिसिल अध्ययन गर्ने पूर्ण समय नपाएका कारण पनि बयानको क्रम सुस्त भएको अदालत श्रोतले बताएको छ । गम्भीर प्रकृतिको घटनाको बयान आज दोश्रो दिनमा पनि नसकिएर तेश्रो दिनका लागि तोकिएकाले अदालती प्रक्रियाको गति बढाउनु पर्ने आवश्यक्ता देखिएको छ ।

बयानकाे काम बाँकी रहेकोले आलमलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा पठाइएको छ ।

पीडित वादीको तर्फबाट बहसका लागी पूर्व महान्यायधिवक्ता डा. युवराज संग्रौलासहित अधिवता पुष्पराज पौडेल, आशिक राम कार्की रौतहटमा छन् भने
अधिवक्ता गोविन्द शर्मा बन्दी र ओमप्रकाश अर्याल पनि आउँदै गरेको अधिवक्ता कार्कीले जानकारी दिनुभयाे ।

प्रतिवादीका तर्फबाट बहस गर्न कानून व्यवसायी आए पनि वकालतनामा गर्न बाँकी रहेको जिल्ला अदालत रौतहटले जनाएको छ ।
 

अन्तिम अपडेट: फागुन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया