उपचुनावमा सेना परिचालन गरिने

 कात्तिक २१, २०७६ बिहिबार १९:१२:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - आउँदो मंसिर १४ गते हुन लागेको उपचुनावमा नेपाली सेना परिचालन गरिने भएको छ । सरकारले चुनावको सुरक्षाका लागि भन्दै सेना परिचालन गर्ने निर्णय गरेको हो । 

मन्त्रिपरिषद् बैठकले गरेको निर्णय बिहीबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मंसिर १४ गते हुने उपचुनाव शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सेना परिचालन गर्ने निर्णय भएको जानकारी दिनुभयो । 

१ प्रतिनिधि सभा सदस्य, ३ प्रदेश सभा सदस्यसहित ३७ जिल्लाका स्थानीय तहका विभिन्न कार्यकारी पदका लागि चुनाव हुन लागेको हो । उपचुनावका लागि बिहीबार उम्मेदवारी दर्ता सकिएको छ । 

यस्तै सरकारले तीनै तहको सरकारबीच प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँडको आधार र हिस्सा स्वीकृत गरेको छ । सरकारले गोदावरी नगरपालिकामा तीन हजार सिट क्षमताको सम्मेलन केन्द्र निर्माणका लागि रहेको जग्गा मध्ये २५ रोपनी जग्गा शहरी विकास मन्त्रालयको नाममा स्वामित्व हस्तान्तरण गर्ने निर्णय पनि गरेको छ ।

यस्तै सरकारले नेपाली सेनाका लेखा प्रमुख सेनानी गोपालप्रसाद सिग्देलको पदोन्नती गरेको छ । सिग्देललाई लेखा महासेनानी दर्जामा पदोन्नति गरिएको प्रवक्ता बाँस्कोटाले जानकारी दिनुभयो । 

गएको १७, १८ र २० गते बसेको मन्त्रिपरिषदकाे ३ वटा बैठकले विभिन्न १६ वटा निर्णय गरेको छ ।  

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया