सभ्य समाज बनाउन योगदान दिने चलचित्र निर्माण गर्नुपर्छ: राष्ट्रपति भण्डारी

 कात्तिक २१, २०७६ बिहिबार २०:३१:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

वीरगञ्ज - राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाललाई नेपाली मात्र नभइ विदेशी फिल्मको समेत छायांकनको केन्द्र बनाउनु पर्नेमा जोड दिनुभएको छ ।

नेपाली चलचित्र क्षेत्रले ५३ वर्ष पार गरेर ५४ वर्ष प्रवेश गरेको अवसरमा वीरगञ्जमा आयोजना गरिएको चलचित्र स्वर्णिम महोत्सवको उदघाटन गर्दै राष्ट्रपति भण्डारीले लोकतन्त्रको उदयसँगै आएको उदार समाजमा व‍िभिन्न भाषाभाषी र संस्कृतिको सहभागितामा नेपाली फिल्महरु बन्दै गएकोमा सन्तोष व्यक्त गर्नुभयो ।

नेपाल चलचित्र निर्माता संघको आयोजनामा भएको महोत्सवको उदघाटन समारोहमा राष्ट्रपति भण्डारीले नेपाली रजतपटले लामो कालखण्डको सघर्षपछि नेपाली समाजको चित्र र संस्कृति विश्वसामु प्रदर्शन गर्न सकेको प्रति गौरव गनुपर्ने बताउनु भयो ।

उहाँले सर्जकहरुलाई राष्ट्रको गहनाको संज्ञा दिँदै उहाँहरुको हकहित संरक्षण तथा सामाजिक सुरक्षाको प्रत्याभूति सरकारको समसामयिक नीति रहेको प्रष्ट पार्नुभयो । नेपाली चलचित्र क्षेत्रको विकासका लागि अझ बढी प्रविधिमैत्री तालिम र भौतिक पूर्वाधार निर्माणमा ध्यान जानुपर्ने सुझाव दिनुभयो ।

उहाँले कला संस्कृतिको माध्यमले शान्ति सदभाव पर्यटन विकास र आर्थिक समृद्धिका वाहकको रुपमा कलाकारहरु स्थापित हुनुपर्नेमा जोड दिनुभयो ।

मनोरञ्जनका लागि मात्र नभइ कुप्रथाको अन्त्य, बेटी बचाऔँ बेटी पढाऔँजस्ता अर्थपूर्ण विषयमा चलचित्र निर्माण गरेर सभ्य समाज बनाउन योगदान दिनसक्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल उद्याेग वणिज्य महासंघका अध्यक्ष भवानी राणाको अध्यक्षतामा भएको उदघाटन समारोहमा सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल बाँस्कोटा, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, वीरगञ्ज महानगरपालिकाका प्रमुख बिजयकुमार सरावगी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

तीन दिसम्म चल्ने महोत्सवमा भाग लिन वीरगञ्जमा नेपाली सिनेजगतका चर्चित कलाकारहरुको जमघट भएको छ ।कार्यक्रममा वरिष्ठ कलाकार नीर शाह,हरिवंश आचार्य, बसुन्धरा भुसाल, भुवन चन्द, शिव श्रेष्ठलगायत दर्जनौँ कलाकारहरुको सहभागिता रहेको छ ।

यसअघि कलाकारहरुको सहभागितामा वीरगञ्जमा बिहान प्रभातफेरी निकालिएको थियो । वीरगञ्जको घण्टाघरबाट निस्किएको प्रभातफेरी आदर्शनगर रंगशालासम्म पुगेको थियो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया