शरद ऋतुमा हिमाल आरोहण अनुमतिको रोयल्टी साढे ६ करोड

 कात्तिक २२, २०७६ शुक्रबार ७:४८:१९ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – शरद ऋतुमा देशका विभिन्न हिमाल आरोहण अनुमतिबाट ६ करोड ४० लाख ८८ हजार ८४ रुपैयाँ रोयल्टी संकलन भएको छ । ६२ देशका १ हजार १ सय ६२ आरोहीबाट यो रोयल्टी संकलन भएको पर्यटन विभागले जनाएको छ ।

विभागका अनुसार आरोहण अनुमति लिनेमा पुरुष ९ सय १५ र महिला २ सय ४७ जना रहेका छन् । आरोहीले शरद ऋतुमा विभिन्न ५० हिमाल आरोहणका लागि अनुमति लिएको पर्यटन विभागका नायब सुब्बा रामेश्वर निरौलाले जानकारी दिनुभयो । जसमध्ये सबैभन्दा बढी २७ समूहका ३ सय १६ जनाले आमादब्लम हिमालको आरोहण अनुमति लिएका छन् । जसबाट १ कारोड ४० लाख ३६ हजार ३ सय रुपैयाँ रोयल्टी संकलन भएको छ ।

सबैभन्दा बढी रोयल्टी भने मनास्लु हिमाल आरोहण अनुमतिबाट उठेको छ । मनास्लुबाट मात्रै २ करोड ७० लाख ८५ हजार ६ सय रुपैयाँ रोयल्टी संकलन भएको निरौलाले जानकारी दिनुभयो । मनास्लु हिमाल आरोहणका लागि २७ समूहका २ सय ६४ जनाले अनुमति लिएका छन् ।

त्यसैगरी धवलागिरि हिमाल आरोहणबाट ३२ लाख ८ हजार ५ रुपैयाँ रोयल्टी संकलन भएको छ । यो हिमाल आरोहणका लागि तीन समूहका ३१ जानले अनुमति लिएका छन् । यता थापा पिक आरोहण अनुमतिबाट ११ लाख ८९ हजार ३ सय १२ रुपैयाँ संकलन भएको पर्यटन विभागले जनाएको छ ।

वसन्त ऋतुमा आरोहीको भिड लाग्ने विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको लागि २ समूहका १० जनाले अनुमति पाएका थिए । उनीहरुबाट सरकारले ६३ लाख ११ हजार ८ सय रोयल्टी संकलन गरेको छ । लामो समयपछि शरद ऋतुमा आरोहणका लागि गएको भए पनि सफल हुन नसकेको निरौलाको भनाइ छ ।

सगरमाथा आरोहण असफल भएपछि उनीहरु फर्किसकेका छन् । शरद ऋतुमा आरोहणका लागि मौसम सामान्य अनुकुल हुने भए पनि उच्च गतिको हावाको कारण जोखिम हुने आरोहीहरुको भनाइ छ ।

सगरमाथा आधारशिविरदेखि क्याम्प १ सम्मको अति जोखिम युक्त बाटो निर्माणको जिम्मा पाएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)का अध्यक्ष आङछिरिङ शेर्पाका अनुसार शरद ऋतुमा बाटो निर्माण गर्दा खर्च बढी लाग्छ । त्यसैले यो समयमा आरोही समूहले नै बाटो  निर्माण गर्दै जानुपर्ने हुन्छ । उहाँका अनुसार वसन्त ऋतुमा ६०० अमेरिकी डलरमा क्याम्प एक सम्मको बाटो बनाउने सकिने भए पनि शरद ऋतुमा कम्तीमा २५ हजार अमेरिकी डलर लाग्ने समितिले जनाएको छ ।

नेपाल सरकारलेसमेत शरद ऋतुमा हिमाल आरोहणका लागि पूर्वाधार निर्माणमा खासै चासो राखेको पाइँदैन ।

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया