नेपालमा उत्पादित विद्युत भारतीय बजारमा बेच्न सहमति भइसकेको छ : ऊर्जामन्त्री पुन

 कात्तिक २२, २०७६ शुक्रबार १२:२८:३१ | हेमराज शर्मा
unn.prixa.net

दाङ – ऊर्जा मन्त्री वर्षमान पुन अनन्तले नेपालमा उत्पादित विद्युत भारतीय बजारमा बेच्न भारत सरकारसँग सहमति भइसकेको बताउनुभएको छ । प्रेस संगठन नेपाल दाङले शुक्रबार बिहान घोराहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले भारतीय  बजारमा  नेपालमा उत्पादित विद्युतको व्यापार गरिने बताउनुभयो । 

नेपालमा खपत भएर बचेको विद्युत भारत र बंगलादेशसम्म लगेर बेच्ने योजनामा सरकारले गृहकार्य गरेको र त्यसका लागि नेपाल, भारत र बंगलादेशबीच तीन महिनाभित्र त्रिपक्षीय बैठक बसेर प्रक्रिया अघि बढाउने उहाँले जानकारी दिनुभयो ।विदेशी लगानी नेपालको विद्युत उत्पादनमा ल्याउने गरी सरकारले ७ हजार मेघावाट विद्युत उत्पादनको लाइसेन्स दिएको र तीन वर्षमा तीन हजार,  पाँच वर्षमा पाँच हजार र आगामी १० वर्षमा १५ हजार मेघावाट विद्युत उत्पादन गर्ने लक्ष्यकासाथ सरकारले काम गरिरहेको बताउनुभयो । 

बर्तमान सरकारले उर्जा उत्पादनको क्षेत्रमा क्रान्ति नै गरेको दाबी गर्दै ऊर्जा मन्त्री पुनले आगामी वर्ष १ हजार मेघावाट विद्युत केन्द्रीय विद्युत लाइनमा जडान गरिने बताउनुभयो । अर्को वर्षदेखि देशमा विद्युत खपत गरेर बचेको भारत र बंगलादेशसम्म बेच्न सक्षम हुने दाबी उहाँको छ । दाङसहितका जिल्लाहरुलाई पूर्ण विद्युतीकरणका जिल्ला बनाउने गरी अहिले काम भइरहेको दाबी उहाँको छ । 

माडीको पानी दाङमा

दाङको ५६ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ पू¥याउनका लागि सकारले माडी डाइभर्सनको योजना ल्याएको मन्त्री पुनले बताउनुभयो । 

माडी डाइभर्सनका लागि गएको वर्षदेखि काम अघि बढेको भन्दै उहाँले २६ किलोमिटर सुरुङ बनाएर माडीमा १५६ मेघावाट विद्युत पनि निकाल्ने र माडीको पानी दाङमा ल्याउने गरी अध्ययन भइरहेको जानकारी दिनुभयो । माडीको  पानी दाङमा ल्याएपछि दाङमा सिँचाइसहित शहरीकणका गराउने काम भइरहेको उहाँको भनाइ छ । 
 

अन्तिम अपडेट: चैत १३, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया