अकुपाई टुँडिखेल : टुँडिखेल बचाउने अभियान

 कात्तिक २३, २०७६ शनिबार ७:५३:२० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर - इमेजेस अफ् सेन्चुरी

काठमाण्डौ – स्वच्छ र खुल्ला टुँडिखेलका लागि दबाबस्वरुप शनिबार बिहान मानव साङ्लोले टुँडिखेललाई घेरिँदैछ ।

‘अकुपाई टुँडिखेल’ नाम दिइएको यो अभियानअन्तर्गत शनिबार बिहान ८ बजे मानव साङ्लोले टुँडिखेललाई घेर्न थालिएको हो । यो अभियानमा विभिन्न राजनीतिक दल, स्थानीय नागरिक, अभियन्तालगायतका व्यक्तिको सहभागिता रहने जनाइएको छ । 

पहिलो चरणमा टुँडिखेल अन्तर्गतको खुल्लामञ्च र दुई माजुमा भएको अतिक्रमणविरुद्धको अभियानमा हजारौं मानिस मानव साङ्लो बनाएर सांकेतिक आन्दोलनमा सहभागी हुने अपेक्षा आयोजकले लिएको छ । अकुपाइ टुँडिखेलमा विभिन्न क्षेत्रका व्यक्तिदेखि जनप्रतिनिधिसम्म समर्थनमा उत्रने आयोजकको विश्वास छ ।

आज पहिलो चरणको समापनपछि तीन महिनासम्म रहेक शनिबार टुँडिखेल क्षेत्रमा रचनात्मक र चेतनामूलक कार्यक्रम संचालन गरिने पनि  अभियानका संयाेजक विजयलाल श्रेष्ठले जानकारी दिनुभयो । आउँदा दिनमा टुँडिखेलको कथा, संचालन हुँदै आएका जात्रा पर्वका बारेमा चर्चाका साथै कविता वाचन, चेस प्रतियोगिता, विभिन्न खेलकुद गतिविधि संचालन गरिने उहाँले बताउनुभयो ।

मल्लकालमा राजा प्रताप मल्लले रानीपोखरीको निर्माण गरेसँगै खुला रुपमा रहेको टुँडिखेलको विखण्डन सुरु भएको मानिन्छ । त्यसपछि राजा महेन्द्रले २०१३ सालमा नामबाट रत्नपार्क निर्माण गरेसँगै टुँडिखेल २ भागमा विभाजन हुन पुगेको जानकारहरुको भनाइ छ । त्यसपछि बनेका खुलामञ्च, सैनिक मुख्यालय, सैनिक मञ्च, र दशरथ रगशालाका कारण खुलामञ्च साँघुरिन पुगेको हो ।

अहिले टुँडिखेलको २५ प्रतिशत भन्दा धेरै भूभाग नेपाली सेनाले प्रयोग गरिरहेको अभियन्ताहरुले बताएका छन् । २०७२ सालको भूकम्पपश्चात् धेरैलाई आश्रय दिएको टुँडिखेलमाथिको अतिक्रमण भूकम्पपछि झनै बढेको  हो ।

अक्कुपाई टुँडिखेल किन ?

टुँडिखेल काठमाण्डौको प्राकृतिक फोक्सो (स्वच्छ हावाको स्रोत) भएकाले यसको संरक्षण गर्नु अति आवश्यक रहेको छ । त्यस्तै भूमिगत जल भण्डारको पुनर्भरणको स्रोत पनि हो टुँडिखेल ।

महांकाल, दुई माजु तथा रैथानेहरुको इस्ट देवतालगायत अन्य कैयौँ मूर्त, अमूर्त सांस्कृति सम्पदा भएका क्षेत्रको संरक्षण गर्नु आवश्यक रहेको छ ।

पाहेँ चर्हेँ जात्रा, घोडे जात्रा, गुरुमापालाई भात खुवाउने जस्ता कैयौँ जात्रा हुने ठाउँ र ऐतिहासिक, राजनैतिक परिवर्तको साक्षीका रुपमा रहेको खुल्ला मञ्च भएको क्षेत्र अतिक्रमण हुँदै गएकाले यसको बचाउमा सबै एकजुट भएर लाग्नुपर्ने सरोकारवालाको माग रहेको छ ।

त्यस्तै दैवी प्रकोपका बेला टुँडिखेलले धेरैलाई सुरक्षित्र आश्रय दिन सक्ने भएकाले पनि यसको क्षेत्र खुम्च्याइँदै लैजानु जानीजानी आफैमाथि विपद् निम्त्याउनु हो । 

खुम्चिँदै छ टुँडिखेल

कुनै बेला त्रिपुरेश्वर चोकदेखि नारायणहिटी दरबारसम्म टुँडिखेल फैलिएको थियो भन्दा सपना जस्तो लाग्छ अहिले । विभिन्न भौतिक संरचना बनाउँदै टुँडिखेललाई निकै नै खुम्च्याइएको छ । अस्थायी बसपार्क भन्दै स्थायी बसपार्क नै बनाइएको छ ।

त्यस्तै कमिसनको चक्करमा टुँडिखेल क्षेत्रमा अनधिकृत रुपमा पसल सञ्चालन गर्न दिइएको छ । त्यस्तै अनधिकृत रुपमा पार्किङ गर्ने र विभिन्न बहानामा जमिनमा ढलान गर्ने काम भएको छ । यसले गर्दा भूमिगत जल भण्डारको पुनर्भरण पनि राम्रोसँग हुन पाएको छैन ।

अन्तिम अपडेट: फागुन ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया