रामेछापमा प्रभावित क्षेत्रका स्थानीयद्वारा दुई जलविद्युत आयोजना बन्द गर्ने चेतावनी

 कात्तिक २९, २०७६ शुक्रबार १५:१:४८ | दीपक भट्ट
unn.prixa.net

रामेछाप - रामेछाप र सोलुखुम्बु जिल्लाको सिमाना भएर बग्ने लिखु खोलामा निर्माणाधीन दुई वटा जलविद्युत आयोजनाले प्रभावित क्षेत्रका नागरिकहरुलाई दिनुपर्ने सुविधा नदिएपछि स्थानीयले आयोजनाको काम बन्द गर्ने चेतावनी दिएका छन् ।

एमभी दुगड हाइड्राेपावरद्वारा निर्माणाधीन लिखु–१ र लिखु–२ जलविद्युत आयोजना प्रभावित क्षेत्रका नागरिकले विभिन्न ८ बुँदे माग राख्दै माग पूरा नभए आन्दोलन गरेर आयोजनाको थप काम अगाडि बढ्न नदिने चेतावनी दिएका हुन् ।

स्थानीयहरुको तर्फबाट रामेछाप जिल्लाको उमाकुन्ड गाउँपालिका वडा नं–१, गुम्देलका वडाध्यक्ष नुर्बु शेर्पाले हस्ताक्षर गरेकाे मागपत्र आयोजना समक्ष पेश गरेका छन् ।

स्थानीयहरुले पेश गरेको मागपत्रमा त्यस वडाका सबै बस्तीहरुमा निःशुल्क विद्युत, स्थानीय स्तरमा उत्पादित तरकारीजन्य वस्तुहरु कम्पनीले खरिद गर्नुपर्ने, स्थानीय युवाहरुलाई योग्यता र क्षमताका आधारमा काम गर्ने अवसर दिनुपर्ने, गुम्देलका विभिन्न गाउँका सडकहरु स्तरोन्नतिगर्नु पर्ने, प्रभावित क्षेत्रका सर्वसाधारणको स्वास्थ्य, शिक्षा, खानेपानी लगायतका कुराहरुमा सहयोगका लागि विशेष ध्यान दिनुपर्ने साथै दुवै आयोजनाको २० प्रतिशत शेयर स्थानीयहरुलाई दिनुपर्ने लगायतका मागहरु राखेका छन् । 

गुम्देलका ६५ जना स्थानीयको हस्ताक्षरसहित बुझाइएको मागपत्रका बारेमा व्यवस्थापन पक्षले बेवास्ता गरेको भन्दै स्थानीयहरुले कात्तिकभित्र ती माग पूरा नगरे मंसिरदेखि आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

आयोजना प्रभावित स्थानीयले यस अघि पनि आयोजनाले मुआब्जालगायतका विषयमा सर्वसाधारण माथि अन्याय गरेको भन्दै विरोध गरेपछि त्याे विवादलाई सर्वपक्षीय भेलाबाट सुल्झाइएको थियो । 

स्थानीयहरुले जायज माग राखेको भए पनि आयोजनाले वास्ता नगरेकाले आफ्नो पनि यसतर्फ ध्यानाकर्षण भएको उमाकुन्ड गाउँपालिकाकी उपाध्यक्ष उर्मिला कार्की (बस्नेत) ले बताउनुभयाे ।

लिखु–१ बाट ७० र लिखु–२ बाट ५५ गरी जम्मा १२५ मेगावाट बिजुली निकाल्ने लक्ष्यका साथ एमभी दुगड हाइड्राेपावर कम्पनीले ३ वर्ष अघि याे आयाेजना सुरु गरेको थियो । ती आयोजनामध्ये लिखु–१ लाई पान हिमालयन हाइड्राेपावर प्रालि र लिखु-२ लाई ग्लोबल हाइड्राेपावर प्रालिका नामबाट आयोजना सञ्चालन गरिएको छ ।   

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया