सवारी नियम मिच्ने चालकलाई खादा र फूलका गुच्छा !

 कात्तिक २९, २०७६ शुक्रबार १५:६:२३ | किरण लोहनी
unn.prixa.net

गोरखा – हामीलाई थाहा भएकै कुरा हो, सवारी चलाउने क्रममा सवारी चालनसन्बन्धी नियम पालना नगरेमा ट्राफिक प्रहरीले कारबाही गर्छन् ।तर गोरखामा भने नियम उल्लंघन गर्ने सवारी चालकलाई पुष्पगुच्छा र खादा लगाइएको छ ।

आबुखैरेनी गोरखा सडकखण्डको १२ किलो बजारमा कार्यक्रम गरी जिल्ला प्रहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालयले यो अभियान सुरु गरेका हुन् । ‘आज पहिलो दिन भएकाले हामीले नियमानुसार गरेका र नगरेका सबै चालकलाई खादा लगाएर फूल दियौँ, भोलिदेखि भने नियम मिच्ने चालकलाई पहिले खादा लगाइदिन्छाैँ अनि थप कारबाही गर्छौँ’, एसपी ओम अधिकारीले भन्नुभयो, ‘नियम पालना गरेर सवारी साधन चलाउनका लागि यो अभियानले प्रेरित गर्छ भन्ने विश्वास लिएका छौँ ।’ ट्राफिक नियम पालना नगर्नेलाई व्यङ्ग्यात्मक रूपमा सम्मान गर्ने अभियान सुरु गरिएको उहाँको भनाइ छ । 

कतिपय सवारी चालकलाई प्रहरीका लागि नियम पालन गर्दिनुपर्छ भन्ने लाग्ने गरेको भन्दै एसपी अधिकारीले भन्नुभयो, ‘नियम पालन गरेर सवारी चलाउँदा दुर्घटनाको जोखिम कम हुन्छ भन्ने बुझ्न सकेमात्रै पनि सवारी दुर्घटनाबाट हुने मानवीय क्षति निकै कम गर्न सकिन्छ ।’

नियमविपरीत सवारी चलाउनेलाई प्रहरीमात्र नभै यात्रु र अन्य नागरिकले पनि खवरदारी गर्नु पर्ने उहाँको भनाइ छ । ‘तपाईँ कुनै बसमा यात्रा गरिरहनु भएको छ, ड्राइभरले सहचालकलाई गाडी चलाउन दियो भने चुप लागेर बस्ने होइन नि, प्रहरीलाई खबर गर्नु तपाईँको कर्तव्य हो’, कार्यक्रममा सहभागी यात्रुलाई लक्षित गर्दै उहाँले भन्नुभयो, ‘एउटा बसमा यात्रा गरिरहेका बीसौं यात्रुको जिम्मा लिएर हिँडेका चालकलाई गल्ती गर्ने छुट हामीले दिनुभएन ।’

ट्राफिक नियम पालनामा कडाइ गरेपछि जिल्लामा सवारी दुर्घटनाको क्रम घटेको ट्राफिक प्रहरी प्रमुख शुकबहादुर विकले बताउनुभयो । ‘यो वर्षको चाडबाडलाई दुर्घटनारहित बनाउने भनेर लागेका थियौं, हामी त्यसमा सफल पनि भयौँ’, उहाँले भन्नुभयो, ‘अरु कारण भन्दा पनि चालकको लापर्वाहीका कारण बढी दुर्घटना हुने देखिएको छ, त्यसलाई सुधार्न विभिन्न अभियान चलाइरहेका छौँ ।’ 

त्यही क्रममा नियम पालना नगर्ने सवारि चालकलाई खादा लगाइ फूलको गुच्छा दिने अभियान सुरु गरिएको उहाँको भनाइ छ । आम नागरिक सचेत र जागरुक नभएसम्म प्रहरी एक्लैले सवारी दुर्घटना कम गर्न नसक्ने उहाँको भनाइ छ ।

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया