धनगढी विमानस्थल आजदेखि एक महिनासम्म दैनिक चार घण्टा बन्द हुने

 मंसिर १, २०७६ आइतबार ८:२४:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

धनगढी – धनगढी विमानस्थल आइतबारदेखि एक महिनासम्म दैनिक चार घण्टा बन्द हुने भएको छ । धावन मार्ग मर्मत तथा विमानस्थल स्तरवृद्धिको काम गर्न विमानस्थल बन्द गर्न लागिएको हो ।

धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले धावन मार्गको मर्मत तथा स्तरवृद्धिको काम गर्न दिउँसो तीनदेखि सातबजेसम्म एक महिना बन्द हुने जानकारी दिनुभयो । यसअघि जेठमा एक महिना विमानस्थल बन्द गरेर धावन मार्गको मर्मत र पार्किङ क्षेत्र विस्तारको काम गरिएको थियो तर त्यति बेला काम सम्पन्न नभएकोले फेरि विमानस्थल एक महिनाका लागि आशिंक रुपमा बन्द गर्न लागिएको हो ।

विमानस्थल दैनिक चार घण्टा बन्द हुने भएपछि धनगढीबाट काठमाण्डौका लागि हुने दैनिक उडान प्रभावित हुने भएका छन् । विमानस्थल कार्यालयले दिउँसो तीन बजेदेखि ७ बजेसम्म हुने उडान अन्य समयमा गर्न विमान कम्पनीलाई आग्रह गरेको छ । 

धनगढी विमानस्थलमा धावन मार्ग र पार्किङ क्षेत्र विस्तारका लागि एक वर्षको अवधि तोकेर ठेक्का सम्झौता भएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार धनगढी विमानस्थलमा अहिले ६० मिटर चौडाइ र १८ सय मिटर लम्बाइको कालोपत्रे धावनमार्ग छ । झण्डै २२ करोड रुपैयाँ लगानीमा धावनमार्गमा थप कालोपत्रे गरिने छ भने दुवैतर्फ २/२ मिटर धावनमार्ग फराकिलो बनाउने योजना रहेको छ ।

यस्तै, अहिले ३ वटा जहाज पार्किङको व्यवस्था रहेकोमा अब थप एक जहाज पार्किङ गर्न सक्ने गरि पार्किङ क्षेत्र विस्तारको योजना पनि रहेको छ ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया