दुबईबाट नेपाल आएर हत्या: अभियुक्तलाई जन्मकैद

 मंसिर ३, २०७६ मंगलबार १८:५३:४९ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा - दुबईबाट नेपाल आएर एक जनाकाे हत्या गर्ने दाङका एक युवकलाई ओखलढुंगा जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ ।

मोलुङ गाउँपालिका वडा नम्बर-३ का २७ वर्षीय सन्तोष कार्कीको घरैमा आएर हत्या गरेको अभियोगमा  दाङको भालुवाङका ३७ वर्षीय संजितकुमार थापालाई जिल्ला अदालतले सोमबार साँझ जन्मकैद सजाय हुने फैसला सुनाएको हो ।

थापालाई जिल्ला न्यायधीश दलबहादुर केसीको इजलासले कर्तव्य ज्यान मुद्दामा कसुर ठहर गर्दै २५ वर्ष कैद सजायको फैसला गरेको अदालतका श्रेस्तेदार नेत्रबन्धु पौड्यालले जानकारी दिनुभयो । दुबई प्रहरीमा कार्यरत थापाले आफ्नी पत्नीसित अनैतिक सम्बध राखेको आरोपमा कार्कीको ०७५ भदौ ५ गते अपराह्न ४ बजे मोलुङ गाउँपालिका-३ मा रहेकाे पीडितकै घरमा गइ खुकुरी प्रहार गरेर हत्या गरेकाे प्रहरीले जनाएकाे छ ।

खुकुरी प्रहारबाट कार्कीको शरीरभरी चोट लागेको र अत्यधिक रगत बगेको अवस्थामा घरभित्रै शव फेला परेको थियो । हत्या गरेर भागेका आरोपितलाई प्रहरीले ०७५ भदौ १२ गते उनकै घर छेउ दाङको भालुवाङबाट पक्राउ गरेको थियो । गएकाे भदौ १३ गते ओखलढुंगा प्रहरीले बुझेर १४ गते कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो ।

प्रहरीले क्रुर र अमानवीय तवरले यातना दिएर हत्या गरेको कसुरमा आजन्म काराबासको सजाय माग दावी गरे पनि क्रुर तरिकाले यातना दिएर हत्या नगरेको तथा आरोपितले अभियोग स्वीकारेको देखिएकाले जन्म कैद (२५ वर्ष) कर्तव्य ज्यानमा कसुर ठहर भइ सजाय तोकिएको अदालतले जनाएको छ । 

अन्तिम अपडेट: फागुन २८, २०८०

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया