नेपालका विभिन्न आयाेजनामा गरिएकाे लगानी समयमै खर्च हुन सकेन : एसियाली विकास बैंक

 मंसिर ४, २०७६ बुधबार १२:४४:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एसियाली विकास बैंक (एडीबी) ले नेपालमा लगानी गरेका परियोजनाहरुको वित्तीय प्रगति अपेक्षा अनुरुप नभएको जनाएको छ । 

बैंकले बुधबार काठमाण्डौमा आयोजना गरेको त्रिपक्षीय पोर्टफोलियो समीक्षामा एसियाली विकास बैंकका नेपाल प्रतिनिधिले नेपालका विभिन्न आयोजनामा गरेको लगानी समयमै खर्च हुन नसकेको गुनासो गरेका हुन् ।  

समीक्षा बैठकमा एडीबीका नेपाल निर्देशक मुख्तोर खामुद्खानोभले नेपाल सरकारले रणनीतिक विकासका लागि लगानी आवश्यक ठानेमा एडीबी सहयोग गर्न तयार रहेको भन्दै समयमै खर्च गर्नतर्फ आवश्यक व्यवस्थापन मिलाउन सरकारलाई आग्रह गर्नुभयो । 

सरकारले कतिपय परियोजनामा पर्याप्त सहयोग नगर्दा वार्षिक ३५ करोड अमेरिकी डलरदेखि ४० करोड अमेरिकी डलरसम्म लगानी गर्ने लक्ष्य पूरा हुन नसकेको उहाँले बताउनुभयो । परियोजनाहरुमा लगानी बढाउन नेपाल सरकारले रणनीतिक रुपमा ध्यान दिनुपर्ने निर्देशक खामुद्खानोभले प्रस्ट पार्नुभयो । 

एडीबीले अहिलेसम्म वार्षिक ३० करोड अमेरिकी डलरभन्दा बढी लगानी गर्न सकेको छैन । एसियाली विकास बैंकले सन् २०१९ को १० महिनामा २२ करोड ७३ लाख डलर बराबरको लगानी सम्झौता गरेको थियो ।

समीक्षा बैठकमा राजश्व सचिव शिशिर ढुंगानाले एडीबीले लगानी गरेका परियोजनाको गति र दक्षता विकासमा चुनौतीहरु रहेको र यस्तो समीक्षा बैठकले महत्वपूर्ण मुद्दाहरुलाई उजागर गर्ने बताउनुभयो । सचिव ढुंगानाले परियोजना कार्यान्वयन गर्ने निकायहरु जुनसुकै परियोजना समयमै सम्पन्न गर्नका लागि संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो । उहाँले लगानी अभिवृद्धिका लागि अर्थमन्त्रालय सधै गम्भीर रहेको समेत बताउनुभयो ।

एडीबीले अहिलेसम्म नेपालमा २ अर्ब ९६ करोड अमेरिकी डलर बराबरको लगानी गरेको छ । एडीबीको नेपालमा सञ्चालित ३१ वटा परियोजनामा लगानी र २ वटा परियोजनामा ऋण सहयोग रहेको छ । एडीबीले नेपालमा ऊर्जा, यातायात, शिक्षा, खानेपानी, शहरी विकास, कृषि लगायतका क्षेत्रमा लगानी गर्दै आएको छ । 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया