‘भान्सा’को विवादले एउटै पार्टीका सांसद र नगर सभापतिबीच कुटाकुट !

 मंसिर ४, २०७६ बुधबार १५:३५:० | उज्यालो सहकर्मी
unn.prixa.net

पर्सा – प्रदेश सभा सदस्य ओमप्रकाश शर्मामाथि बुधबार बिहानै कुटपिट भएको छ । 

बुधबार बिहानीपख वीरगञ्जको आदर्शनगरमा मर्निंग वाकमा निस्कनुभएका प्रदेश सांसद शर्मालाई उहाँकै पार्टीका नगर सभापति भोला कलवारले कुटपिट गरेका हुन् । कलवारले आफ्ना मान्छेहर बोलाएर कुट्न लगाएको सांसद शर्माले बताउनुभयो ।

मोर्निङ  वाकमा निस्किएका शर्मा र भोला कलवारको आदर्शनगरमा रहेकाे बब्लु चिया पसलमा भेट भएको हो । उनीहरुबीच सामान्य विवादपछि हात हालाहालसमेत भएको थियो । प्रदेशसभा सदस्य शर्मालाई नगर सभापति भोला कलवारले सार्वजनिक ठाउँमा गालीगलौज गरेपछि दुवै जनाबीच कुटाकुट भएको हो ।

त्यसपछि फेरि कलवारले आफ्ना मान्छे बोलाएर शर्मामाथि आक्रमण गरेको प्रत्यक्षदर्शीले बताए । उनीहरुबीच भनाभन भएको भिडियोसमेत सामाजिक सञ्जालमा भाइरल भएको छ । कुटपिट हुँदा घाइते दुवै जना सामान्य घाइते भएका थिए ।  नारायणी अस्पतालमा सामान्य उपचारपछि शर्मा घर फर्कनु भएको छ ।  भोला कलवार भने थप उपचारका लागि काठमाण्डौ जानु भएको छ ।

भोला कलवार नेपाली कांग्रेस वीरगञ्जका नगर सभापति हुनुहुन्छ । उहाँले वीरगञ्ज महानगरपालिकाको नगरसभा गृह भाडामा लिएर चलाइरहनु भएको छ । ओमप्रकाश शर्मा पनि नेपाली कांग्रेसबाटै प्रदेशसभा सदस्यमा मनोनित हुनु भएको हो ।

दुवै जना एउटै पार्टीका भए पनि पार्टीको जिल्ला अधिवेशनदेखि मनमुटाव रहँदै आएको थियो । पार्टीको आन्तरिक राजनीतिमा पनि एउटै गुटका हुन् । पार्टीको जिल्ला अधिवेशनमा अजय द्विवेदीलाई सभापति बनाउन दुवै एउटै समूहमा रहेका थिए ।

कार्यकर्ताको भात भान्साको व्यवस्थापन भोलाको थियो भने रकमको जोहो शर्माले गर्नु भएको थियो । त्यतिबेला भएको खाना खर्चको विषयमा साह र शर्माबीच असहमति बढेको थियो । साहले १५ लाखको हिसाब देखाउनु भएको थियो भने शर्माले त्यति खर्च नहुने जिकीर गर्नुभएको थियो । विवादको चुरो यही थियो ।

पार्टी सभापतिमा निर्वाचित अजय द्विवेदीले १० लाख रुपैयाँ भुक्तानी दिलाएर यो विषयलाई मिलाउनु भएको थियो ।  त्यतिबेलादेखि नै दुवैबीच मनमुटाव बढेको थियो ।

त्यसपछि ओमप्रकाश शर्माले प्रदेश सभा सदस्यमा मनोनित भएपछि उहाँले नगर सभा गृहमा भएको आर्थिक अनियमितताको विरोधमा बोल्दै आउनु भएको थियो । त्यही कुराले नगर सभापतिसमेत रहेका भोला कलवार चिढिनु भएको थियो । 

साहले शर्मालाई सार्वजनिक रुपमा गालीगलौज गर्दै आउनु भएको थियो । शर्मालाई गालीगलौज गर्ने कुरा राम्रो नभएको र पार्टीले कारबाही गर्नुपर्ने आवाज पनि उठ्दै आएको थियो ।

नेपाली कांग्रेसका केन्द्र उपसभापति विलेन्द्र निधि, केन्द्रीय सदस्यदेखि पर्सा जिल्ला सभापति अजय द्विवेदीसम्मलाई शर्माले साहलाई कारबाही हुनुपर्ने माग राख्दै आउनु भएको थियो । 

नगर सभा गृहको अनियमितताको विषयमा ओमप्रकाश शर्माले कुरा उठाउनु भन्दाअघि नै अख्तियारले छानबिनका लागि महानगरपालिकालाई पत्राचार गरेको थियो । तर महानगरपालिकाले भने अख्तियारको पत्रलाई ढाकछोप गरेर राखेको छ । नगरसभागृह सञ्चालनमा कांग्रेस नगर सभापति भोला कलवार र समाजवादी पार्टी  निकटका विश्वामित्रप्रसाद कलवारको साझेदारी छ ।

त्यसैले महानगरपालिकामा समाजवादी पार्टीको दबाबले पत्र ढाकछोप गरेको हुनसक्ने अनुमान गरिएको छ । नगर सभापति कलवार भने शर्माले भने जस्तो विषयमा शर्मासँग आफनो कुनै असन्तुष्टि नरहेको बताउनुहुन्छ । नगर सभापति साह शर्मामाथि उल्टै व्यापारीको माल समात्न र छोड्न लगाउने र त्यसबाट कमिसन खाने  गरेको आरोप लगाउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘मलाई शर्माको दलाली गर्ने प्रवृति मन पर्दैन । आज बिहान पनि मैलै यही कुरा भनेको र यही विषयमा झगडा भएको हो  ।’

नगर सभाको विषयमा धेरैले विरोध गरे पनि त्यस विषयमा शर्मासँग झगडा नभएको साहको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया