हेदाहेर्दै खरानी बन्यो तीनतले घर

स्रोतसाधन नहुँदा तत्काल उद्धारमा कठिनाइ

 मंसिर ९, २०७६ सोमबार ९:३५:१५ | नेत्र शाही
unn.prixa.net

जुम्ला – चन्दननाथ नगरपालिका कालेखोलीका गोविन्द भण्डारीको वर्षौँदेखिको सपना आगोको लप्काले निमेषभरमै खरानी बनायो । आइतबार मध्यान्ह भण्डारीको घरमा लागेको आगोले विपद्को रुप लियो । हेर्दाहेर्दै तीनतले घर खरानीमा परिणत भयो । 

सिंगो गाउँमा त्रास छायो । आगो नियन्त्रणमा लिनका लागि सुरक्षाकर्मी, स्वयंसेवक र स्थानीयवासी खटिए । तर स्रोतसाधन नहुँदा तत्काल आगलागी नियन्त्रणमा लिन कठिन भयो ।

स्थानीय प्रत्यक्षदर्शी कर्णबहादुर भण्डारीले भन्नुभयो, ‘नजिकै दमकल भएको भए आगो नियन्त्रणमा लिन सकिन्थ्यो होला, धेरै काठ प्रयोग गरेर बनाइएको घर बेस्सरी जलिरह्यो, हामीले टुलुटुलु हेर्न बाहेक केही गर्न सकेनौँ ।’

१८ कोठा भएको तीनतले घर ६ घण्टासम्म निरन्तर जलिरह्यो । आगो निभाउन सुरक्षाकर्मी, स्वयंसेवक र स्थानीयवासीले गरेको प्रयास सफल भएन । अन्त्यमा आगलागी नियन्त्रणमा लिन डोजरको प्रयोग गरी घर भत्काउनु पर्‍यो । 

आगालागी भएको खबर प्राप्त हुनासाथ प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे र चन्दननाथ नगरपालिकाका उपमेयर अप्सरादेवी न्यौपाने पनि घटनास्थलमा पुग्नु भएको थियो । आगलागी भएको केही समयपछि दमकल पुगे पनि साँघुरो बाटो भएकाले आगलागी भएको घरसम्म पुग्न नै समस्या भएको थियो । त्यसपछि पनि पटक–पटक दमकलमा पानी सकिएकाले आगो नियन्त्रणमा लिन कठिन भएको हो ।

आगलागी पछि ग्यास सिलिण्डर पड्किँदा ठूलो क्षति

आगलागी भएको भण्डारीको घरमा १४ परिवार भाडामा बस्ने गरेका थिए । आगलागी भएपछि घरमा राखिएको ग्यास सिलिण्डर पड्केर आगलागीले ठूलो रुप लिएको थियो ।

भाडामा बस्ने १४ परिवार बिचल्लीमा 

आगलागीमा मानवीय क्षति नभए पनि घर भाडामा बस्दै आएका १४ परिवार बिचल्लीमा परेका छन् । 

घरमा भएका लत्ता कपडासहित सबै सामान जलेर नष्ट भएका छन् । ढुंगा र काठले निर्माण गरिएको घरमा करोडौँको क्षति भएको अनुमान गरिएको छ । क्षति संकलनको काम भइरहेको प्रहरीले जनाएको छ ।

आगलागीले क्षति पुर्‍याएपछि बस्ती निर्माणको विषयलाई लिएर विभिन्न कोणबाट टीकाटिप्पणी भइरहेका छन् । यो बस्तीमा पानीको पर्याप्त सुविधा, दमकल एम्बुलेन्स छिर्ने बाटोलगायतका विभिन्न आवश्यकता भए पनि नगरपालिकाले भने यसबारे खासै चासो दिएको छैन ।

अन्तिम अपडेट: चैत १९, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया