दाङमा सर्पदंश उपचार केन्द्र भवनको शिलान्यास

 मंसिर १०, २०७६ मंगलबार ९:३८:३३ | हेमराज शर्मा
unn.prixa.net

दाङ – लमहीमा सर्पदंश उपचार केन्द्र स्थापना हुने भएको छ । २ करोड रुपैयाँभन्दा बढीको लागतमा दाङको लमहीमा बन्न लागेको सर्पदंश उपचार केन्द्रको सोमबार  शिलान्यास गरिएको हो ।

लमही नगरपालिकाले लमही अस्पताल भवनको नजिकै यो सर्पदंश उपचार केन्द्र भवन निर्माण गर्न लागेको हो । पश्चिममा नेपालगञ्जदेखि पूर्वमा कपिलवस्तुसम्म सर्पदंश उपचार केन्द्र नरहेको र सर्पको टोकाइबाट बर्सेनि ज्यान गुमाउनेको संख्या बढ्दै गएकोले सर्पदंश उपचार केन्द्रको निर्माण थालिएको नगरपालिकाले जनाएको छ ।

सर्पदंश भवनको शिलन्यास गर्दै लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले अब सर्पको टोकाइबाट अकालमा ज्यान गुमाउनु नपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अस्पताल निर्माण सम्पन्न भएपछि अस्पतालमा औषधि र अन्य सेवामा कमी आउन दिनेछैनौँ ।’

यस्तै, शिलान्यास कार्यक्रममा लमही नगरपालिका उप–प्रमुख देवका बेल्वासेले अस्पतालमा सरकारी डाक्टरहरुले सकारात्मक भुमिका निर्वाह गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

लमही नगरपालिकाका इञ्जिनियर विजयदेव चौधरीले २ करोड ७ लाख रुपैयाँ बजेटमा सर्पदंश उपचार केन्द्र भवनको निर्माण हुने बताउनुभयो । भवन निर्माणका लागि डोको कन्सल्टेन्ट एण्ड कन्सट्रक्सन प्रा.लि र लमही नगरपालिकाबीच सम्झौता भइसकेको छ । भवन निर्माणको लागि २०७७ साल साउन ६ गतेसम्मको अवधि दिइएको इञ्जिनियर चौधरीले जानकारी दिनुभयो ।

स्वास्थ्यकर्मीलाई तालिम

लमही नगरपालिकाले लमही अस्पतालबाट सर्पदंशको उपचार प्रभावकारी रुपमा सञ्चालन गर्न देउखुरीका स्वास्थ्यकर्मी तथा चिकित्सकलाई तालिम दिएको छ ।

लमही नगरपालिका, राजपुर गाउँपालिका, गढवा गाउँपालिका र राप्ती गाउँपालिकाका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई सर्पदंशको उपचारलाई प्रभावकारी रुपमा सञ्चालन गर्न तालिम दिइएको लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले जानकारी दिनुभयो । लमही नगरपालिकाले लमही अस्पतालमा सर्पदंश उपचार केन्द्र स्थापना गर्न स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई दक्ष बनाउन थालको हो ।

लमही नगरपालिका, राजपुर गाउँपालिका, गढवा गाउँपालिका र राप्ती गाउँपालिकाका स्वास्थ्यकर्मी तथा चिकित्सकहरु तालिममा सहभागि भएका हुन् ।  

स्वास्थ्य सेवा विभागको इडीसी स्वास्थ्य सेवाका प्रमुख डा. समिरकुमार अधिकारी र काठमाण्डौ स्वास्थ्य सेवा विभाग सर्पदंश विशेषज्ञ डा.कृष्णप्रदास सुबेदीले स्वास्थ्यकर्मी तथा चिकित्सकलाई प्रशिक्षण दिनु भएको हो ।

अन्तिम अपडेट: चैत २१, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया