नेकपाको सरकार छ, विकास चाहिँ कांग्रेसले गर्छ भन्ने कसैले पत्याउने कुरा हो?: नेकपा नेता पाण्डे

 मंसिर १०, २०७६ मंगलबार १८:५५:२ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डेले नेकपाको सकारले विकास निर्माणका समग्र विषयवस्तु क्रमश: पूरा गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुन्दरबजार नगर कमिटीको आयोजनामा सुन्दरबजार नगरपालिका–२, हाँडेटारमा आयोजित चुनावी सभालाई मंगलबार सम्बोधन गर्दै नेता पाण्डेले यस्तो बताउनुभएको हो ।

उहाँले सरकार नेकपाको रहेको बताउँदै ‘विकास कांग्रेसले गर्छ’ भन्ने कुरा तथ्यसंगत नरहनुका साथै पत्याउन नसकिने बताउनुभएको छ ।

‘तीनै ठाउँमा सरकार नेकपाको हुने, विकासचाहिँ कांग्रेसले गर्छ, यो कहीँ पत्याउने कुरा हो ?,’ उहाँले भन्नुभयो, ‘विकासका लागि बजेट, योजना, नीति, नियम, कानुन, निर्देशिका, कार्यविधि चाहिन्छ । त्यो सबै बनाउने नेकपाले अनि फेरी विकासचाहिँ कांग्रेसले गर्छ भनेर भन्ने कुरा कसैले पत्याउन मिल्छ ? यो तथ्यसंगत छ ? त्यसैले हामी तपाईका विकास निर्माणका समग्र विषयवस्तु क्रमश: पूरा गर्दै जान्छौँ ।’

नेकपाका केन्द्रीय सदस्यसमेत रहनुभएका नेता पाण्डेले पार्टीको लागि काम गर्ने चुनावकै बेलामा रहेको बताउँदै त्यतिबेला सक्रिय रहन नेकपाका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयाे ।

‘पार्टीका लागि हामीले काम गर्ने निर्वाचनकै बेला हो । यही बेलामा काम गरेर जनताको अभिमत लिने, सर्वश्रेष्ठ हुने हो । त्यसैले यो बेलामा तपाईँहरु सक्रिय रहनुस्,’ उहाँले भन्नुभयो, ‘बोलीमा भन्दा हामी व्यवहारमा अघि बढाउँ । जनतालाई नझुक्याउँ । जनतासँग सम्बन्ध सुमधुर बनाउने प्रयत्न गरौँ ।’

चुनावी सभामा नेकपाका केन्द्रीय सदस्य, नेकपा गण्डकी प्रदेशका प्रमुख सचेतक एवम् गण्डकी प्रदेशसभा सदस्य मायानाथ अधिकारी, नेकपा जिल्ला कमिटि लमजुङका अध्यक्ष एवम् गण्डकी प्रदेशसभा सदस्य मधुमाया अधिकारी लगायत नेकपाका केन्द्र, जिल्ला तथा स्थानीय नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

मंसिर १४ गते हुन गइरहेको उपचुनावमा सुन्दरबजार नगरपालिका–२, परेवाडाँडामा रिक्त रहेको वडाध्यक्ष पदमा नेकपाबाट नवीनकुमार श्रेष्ठ उम्मेदवार बन्नुभएको छ ।

चुनावी सभामा बोल्दै उहाँले आवाजविहीनको आवाज, सहाराविहीनको सहारा बनी सिंंगो वडा र वडावासीको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।

चुनावी सभामा नेकपाका केन्द्र, जिल्ला तथा स्थानीय स्तरका नेता, भ्रातृ संगठनका नेताका साथै कार्यकर्ताहरुको उलेख्य उपस्थिति रहेको थियो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया