यस्तो बन्दैछ पोखरा रंगशालाको फुटबल मैदान

 मंसिर १३, २०७६ शुक्रबार २०:३७:० | सुमन गुरुङ
unn.prixa.net

कास्की – १३ दक्षिण एसियाली खेलकुद (साग) मा महिला फुटबलको लागि पोखरा रंगशालामा मैदान निर्माणको काम अन्तिम चरणमा पुगेको छ । 

पोखरा रंगशालामा साग अन्तर्गतको महिला फुटबल खेल हुने भएपछि तीव्र गतिमा अगाडि बढाइएको हो । पोखरा रंगशालाको फुटबल मैदानमा अहिले धमाधम काम भइरहेको निर्माण कम्पनी ग्रेट स्पोर्ट्स एण्ड एम.ए. कन्ट्रक्सनका म्यानेजर दिपक बरालले बताउनुभयो । 

फुटबल मैदानको पूर्व र पश्चिम भागमा प्यारापिट जडानको काम शुक्रबार सकिनेछ । बाँकी उत्तर र दक्षिण भागमा सागपछि प्याराफिट जडानको काम गरिने बरालले बताउनुभयो । मैदानको लगाइएको दुबो सबै सरिसकेकोले मैदानमा अब समस्या छैन ।

मैदानको लागि दुबो भारतबाट ल्याइएको हो भने प्यापिटको सामान सबै फ्रान्सबाट झिकाइएको हो । प्यारापिट जडानका लागि फ्रान्सबाटै एक जना प्राविधिक आएको काम गरिरहेको उहाँको भनाइ छ । मैदान वरिपरि ट्रयाकमा लाइनिङको काम पनि शुक्रबार नै सकिनेछ ।  

पोखरामा २ दिनपछि सागको उद्घाटन भव्य रुपमा हुने राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य राजेश गुरुङले बताउनुभयो । ‘सबै तयारी पूरा भैसकेको छ, केही दिन अघिसम्म फुटबल मैदान तयार हुँदैन कि भन्ने शंका थियो, यति काम भैसकेपछि अब सबैजना हुन्छ भन्नेमा ढुक्क भएका छन्’, उहाँले भन्नुभयो, ‘हामी पोखरामा हुने सागमा केही कमी कमजोरी हुन नदिने पक्षमा छौँ ।’

पोखरामा हुने महिला फुटबल सबै खेल पोखरा रंगशालाको मैदानमा हुनेछ भने अभ्यास खेलका लागि सहारा एकेडेमीको खेल मैदान, हेम्जाको गौरी शंकर खेल मैदान, प्रहरी गण तालिम केन्द्र र पश्चिम पृतना विजयपुरको खेल मैदानलाई तोकिएको छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया