कास्की २ काे मतगणना आजै, मतगणनास्थलमा सीसी क्यामेरा र तारजालीकाे घेरा !

 मंसिर १४, २०७६ शनिबार १८:२८:२६ | सुमन गुरुङ
unn.prixa.net

कास्की -   कास्कीको क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यका लागि भएको चउपचुनावमा झण्डै ६५ प्रतिशत मत खसेको छ ।

पोखरा महानगरपालिकाको ११ वटा वडा रहेको कास्की २ मा बिहान ७ बजेबाट मतदान सुरु भएर साँझ ५ बजे सकिएको हो । झण्डै ६५ प्रतिशत मत खसेको अनुमान गरिएको  कास्कीका प्रमुख निर्वाचन अधिकृत महेन्द्रराज सुवेदीले जानकारी दिनुभयो ।

बुथहरुमा समन्वयन भइरहेकोले यति नै भयो भनेर भन्न केही समय लाग्ने उहाँको भनाइ छ । ‘कास्की ४ स्थानमा बम पड्किएको बाहेक अन्य स्थानमा शान्तिपूर्ण रुपमा नै मतदान भयो’, उहाँले भन्नुभयो, ‘बम पड्किएका स्थानमा पनि स्थिति सामान्य रुपमै मतदान भयो ।’ 

कास्की क्षेत्र नम्बर २ को उपचुनावका लागि लागि ३२ मतदानस्थलमा ८२ केन्द्र रहेको  थियो । कास्की क्षेत्र नम्बर २ मा १० स्वतन्त्रसहित २१ जना उम्मेदवार चुनावी मैदानमा छन् । कास्की २ मा कुल ७१ हजार ८ सय ७१ मतदाता छन् । पोखरा महानगरपालिकाका विभिन्न ११ वटा वडामध्ये वडा ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ यस क्षेत्रमा पर्दछन् । उपचुनावको सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।

कास्कीमा मतगणना आजै

कास्की क्षेत्र नम्बर २ मा भएको उपचुनावकाे मतगणना शनिबार रातिदेखि नै सुरु हुने भएको छ ।

शनिबार राति १० बजेपछि मतगणना हुने निर्वाचन कार्यालय कास्कीले जानकारी दिएको छ । साँझ ८ बजेसम्म सबै मतपेटिकाहरु जिल्ला समन्वय समिति कास्कीमा ल्याइसक्ने र दलहरुसँग बैठक बस्ने तय भएको कार्यालयले जानकारी दिएको छ ।

दलहरुसँगको छलफलपछि राति १० बजेदेखि मतगणना सुरु हुने प्रमुख निर्वाचन अधिकृत महेन्द्रराज सुवेदीले जानकारी दिनुभयो । मतगणना हुने ठाउँ जिल्ला समन्वय समितिको हलमा सीसी क्यामेरा जडान गरिएको छ । त्यस्तै बाहिरी मान्छेले अवरोध नगरुन भनेर तारजाली लगाएर लगाइएको छ ।

४ ठाउँमा बम विस्फोट

कास्कीको पोखरा महानगरपालिका नयाँबजार, बाघमारा, अर्मला र बाटुलेचौरमा बम विस्फोट भएको थियो ।

पोखरा महानगरपालिका ९ मा रहेको नवप्रभात माविमा मतदान भैरहेका बेला बम विस्फोट भएको थियो । त्यस्तै पोखरा महानगरपालिका ३३ मा रहेकोे सरस्वती टीका माविनजिकै पनि बिहान बम विस्फोट भएको थियो । त्यसैगरी बिहान वडा नम्बर १६ मा रहेको शान्ति मावि मतदान केन्द्रनजिकै बम विस्फोट भएको थियो ।

पोखरा महानगरपालिकाको वडा नम्बर १६ बाटुलेचौरको चण्डिका प्राविनजिकै पनि बम विस्फोट भएको थियो । बम विस्फोटबाट कुनै मानवीय क्षति भने भएको छैन । 

काे-काे छन्  चुनावी मैदानमा ?

२०५६ सालको प्रतिनिधिसभा चुनावमा कास्की २ बाट कांग्रेस नेता महादेव गुरुङ विजयी हुनुभएको थियो भने त्यसपछिको चुनावमा लगातार तत्कालीन एमाले नेता रवीन्द्र अधिकारी विजयी हुँदै आउनुभएको थियो ।

यसपटकको उपचुनावमा अधिकारीको पत्नी विद्या भट्टराई र कांग्रेसका पाका नेता खेमराज पौडेल चुनावी मैदानमा उत्रिएका छन् । यसअघिको चुनावमा तत्कालीन एमालेका उमेद्वार रवीन्द्र अधिकारी नेपाली कांग्रेसका उम्मेद्वारलाई ८ हजार पाँच सय मतको अन्तरले हराउँदै विजयी हुनुभएको थियो ।

२०७४ सालको चुनावमा अधिकारीले २७ हजार २ सय ७ मत प्राप्त गर्नुभएको थियो भने नेपाली कांग्रेसका देवराज चालिसले १८  हजार ६ सय ६१ मत प्राप्त गर्नुभएको थियो । अघिल्लो चुनावमा ७० हजार ६ सय ५१ जना मतदाता रहेका थिए । हाल ७१ हजार ८ सय ७१ मतदाता रहेका छन् ।

प्रमुख प्रतिस्पर्धीको रुपमा रहेका दुवै दलले जित्ने दाबी गरेका छन् । नेकपाले राजनीतिक स्थायित्वलाई पहिलो प्राथमिकतामा राखेको छ । त्यस्तै साझा पार्टीकाे उम्मेदवारमा २ महिनाअघि मात्रै प्रमुख प्रतिपक्ष कांग्रेस छोडेर पार्टी प्रवेश गरेकी रजनी केसी हुनुहुन्छ ।

समाजवादी पार्टीले धर्मराज गुरुङलाई उम्मेदवारको रुपमा उठाएको छ । आफूलाई वैकल्पिक शक्तिको रुपमा दाबी गर्दै आएको समाजवादी पार्टीले इन्जिनियर र भूतपूर्व सैनिकलाई चुनावी मैदानमा उतारेको हो ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट रोमबहादुर भण्डारी प्रतिस्पर्धामा हुनुहुन्छ । भण्डारी पोखरा महानगरपालिका १५ का पुराना नेता हुनुहुन्छ । युवाहरुले स्थापना गरेको विवेकशील नेपाल दलले स्वतन्त्र रुपमा जमुना शर्मालाई उम्मेदवार बनाएकाे छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया