आइतवारदेखि हुन लागेको लगानी सम्मेलनमा नेपालले एक सय ५१ वटा...
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डौ – अछामको साँफेबगरमा महिनावारी भएकी एक महिलाको छाउपडी गोठमा ज्यान गएको छ ।
साँफेबगर नगरपालिका– ३ सिद्धेश्वर डिक्रेनिमा २१ वर्षीया पार्वती बुढा रावतको ज्यान गएको इलाका प्रहरी कार्यालय साँफेवगरका प्रहरी निरीक्षक नरपती भट्टले जानकारी दिनुभयो ।
मेल्लेख गाउँपालिका–७ नन्देगडा माइती भएकी पार्वतीको १८ महिना पहिला विवाह भएको थियो ।
आइतबार साँझ खाना खाएर सुतेकी रावत सोमबार बिहान मृत फेला परेकी हुन् । बिहान साढे सात बजेसम्म नउठेपछि छाउगोठको ढोका फुटाएर हेर्दा मृत भेटिएको मृतकका जेठाजु छत्र रावतले जानकारी दिनुभयो । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मृतकका श्रीमान करन रावत ६ महिनादेखि रोजगारीको सिलसिलामा भारतमा रहनुभएको नगरपालिकाका प्रमुख कुलबहादुर कुँवरले जानकारी दिनुभयो । अछाममा अहिलेसम्म १५ जनाभन्दा बढी महिलाको छाउ गोठमा ज्यान गइसकेको छ ।