साझा पार्टी के हाे, के हाेइन भन्ने कुरा नै बुझाउन सकिएकाे छैन : प्रवक्ता आचार्य

 मंसिर १६, २०७६ सोमबार १५:१:२० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - साझा पार्टीले शनिबार भएको उपचुनावको नतिजालाई आफ्ना कमीकमजोरीको समीक्षा गर्नुपर्ने सन्देशका साथै देशको राजनीतिक धरातलको थप परीक्षणका रूपमा लिएको जनाएको छ ।

पार्टीका प्रवक्ता डाक्टर सूर्यराज आचार्यले आज एक विज्ञप्तिमार्फत हिमालको टाकुरामा पुग्न उकालो मात्र होइन कहिलेकाहीँ ओरालो ओर्लिनु र अनेक अवरोध पार गर्नुपर्ने उल्लेख गर्नुभएको छ । साथै उहाँले देश रूपान्तरणको राजनीतिक यात्रामा रणनीतिक दृढता र पार्टी निर्माणको परिष्कृत मार्गचित्रका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

प्रतिकूलता हुँदाहुँदै पनि पार्टीलाई भोट दिएर अगाडि बढ्न आत्मविश्वास प्रदान गर्ने मतदाता र निर्वाचनमा सामेल भएर लोकतन्त्रलाई जीवन्त राख्ने सम्पूर्ण जनसमुदायप्रति साझा पार्टीले आभार प्रकट गरेको छ । आफ्ना गल्ती कमजोरीबाट पाठ सिक्दै आउँदा दिनमा मतदाताको मन सँगसँगै मत पनि जितेर नेपाल रूपान्तरणको यात्रामा अघि बढ्ने विज्ञप्तिमा उल्लेख छ । 

साझा पार्टीले आफ्नाे बलियाे संगठन नभएकाे स्वीकार गर्दै भनेकाे छ, 'राजनीतिक पार्टीको जनतासँगको प्रत्यक्ष सम्बन्धका लागि तल्लो तहसम्मको पार्टी सङ्गठनको महत्त्वपूर्ण भूमिका हुन्छ। तर साझा पार्टीको सङ्गठन सञ्जाल बन्ने क्रममा नै छ। यसको अभावमा साझा पार्टी के हो, के होइन, यसले के गर्छ, के गर्दैन भन्ने जस्ता पार्टीबारेका आधारभूत जानकारी जनतामाझ राम्रोसँग सम्प्रेषण हुन सकेको छैन ।' 

विज्ञप्तिमा पुराना दलमाथि टिप्पणी गर्दै लेखिएकाे छ, 'पुराना दलको परम्परागत राजनीतिक अभ्यास पछिल्लो चरणमा मूलतः सत्ता-शक्ति, राज्य दोहन र भ्रष्टाचारमा निर्भर छ। विधिको शासन भत्काइएको छ। जनताले राज्यबाट पाउने आधारभूत सेवाका लागि दलका कार्यकर्ताको निगाह आवश्यक बनेको छ। गाउँ-टोलमा ठूला दलसँगको आबद्धताबिना सामाजिक जीवन बहिष्कृत हुने जोखिम छ।' 

साझा पार्टीले छिट्टै ‘साझा भुईँयात्रा’को देशव्यापी राजनीतिक जागरण र नागरिक संवादको अभियानमा लाग्ने तथा पार्टीका विचार, नीति र एजेन्डा जनतासमक्ष प्रस्तुत र छलफल गर्ने विज्ञप्तिमार्फत जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया