अयोध्याबाट आएका जन्तीको बिदाइ गरी विवाह पञ्चमी सम्पन्न

 मंसिर १६, २०७६ सोमबार १८:५५:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा – गएको एक सातादेखि जनकपुरधाममा जारी राम–जानकी विवाह पञ्चमी महोत्सव सोमबार रामकलेवा र अयोध्याबाट आएका जन्तीको बिदाइ गरी विधिवत रुपमा सम्पन्न भएको छ ।

आइतबार राति उपप्रधान एवं कानुन तथा न्याय मन्त्री उपेन्द्र यादवको प्रमुख आतिथ्य र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको विशिष्ट आतिथ्यमा राम जानकीको मिथिला वैवाहिक परम्पराअनुसार विवाह सम्पन्न भएको थियो ।

विवाह उत्सव कार्यक्रममा संघीय सांसद राजेन्द्र महतो, प्रदेश सभा सदस्य परमेश्वर साह, जनकपुरधाम उपमहानगरपालिका मेयर लालकिशोर साह सहित विभिन्न राजनीतिक दलका नेता तथा भगवान रामको नगर अयोध्याबाट आएका जन्तीहरुको उपस्थिति रहेको थियो ।

प्रत्येक वर्ष मार्ग शुक्ल पञ्चमीका दिन त्रेतायुगमा भगवान श्रीराम र सीताबीच विवाह सम्पन्न भएको स्मरणमा जनकपुरधामको जानकी मन्दिरमा विवाह पञ्चमी महोत्सवको साताव्यापी रुपमा विवाह पञ्चमी महोत्सव मनाइँदै आइएको छ ।

वैवाहिक कार्यक्रममा मिथिला परम्पराअनुसार मरजादी अर्थात रामकलेवा (विवाह पश्चात जन्तीहरुलाई खुवाइने खाना) र भगवान श्रीरामको नगर अयोध्याबाट आएका जन्तीहरुलाई बिदाइ गरी विवाह पञ्चमी महोत्सव विधिवत रुपमा सम्पन्न भएको छ ।

महोत्सव आयोजक जानकी मन्दिरद्वारा आयोजित रामकलेवामा जन्तीसहित साधु सन्तहरुलाई भोजन गराइ दोसल्ला र दक्षिणाले सम्मान गरिएको थियो । रामकलेवापछि भारत अयोध्याबाट भगवान रामका अभिभावकको भूमिकामा अयोध्या लक्ष्मण अखडासहित अयोध्याकै विभिन्न मठ मन्दिरबाट आएका साधुसन्तसँग माता सीताको अभिभावकको रुपमा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव गला मिली सम्धि मिलान गर्नुभएको छ ।

सम्धी मिलान अर्थात अन्तिम भेट पश्चात उनीहरुलाई लत्ताकपडा र बाटोको भोजन दिइ सम्मानका साथ बिदाइ गरिएको छ । विवाह पञ्चमी महोत्सव हेर्न भारत तथा नेपालका विभिन्न ठाउँबाट श्रद्धालु जनकपुरधाम आएका थिए । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया