अन्धाधुन्ध हिसाबले देश बन्दैन, सरकारले साेच विचार गरेर काम गरिरहेकाे छ : प्रधानमन्त्री ओली

 फागुन १३, २०८१ मंगलबार १८:२२:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले देश अँध्यारो युगबाट उज्यालो युगमा प्रवेश गरेकाले युवाहरू निराश हुनु नपर्ने बताउनुभएको छ ।

काठमाण्डाैकाे जोरपाटीमा रहेकाे नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा असाधारण विकास हुँदै गएकाले केही भएन वा सरकारले केही गरेन भन्न नमिल्ने बताउनुभएको हो । उहाँले देश बनाउने सवालमा अन्धाधुन्ध हिसाबले नभई सोच विचार गरेर सरकारले काम गरिरहेको स्पष्ट गर्दै नागरिकले पनि यस यात्रामा साथ र सहयोग दिनुपर्नेमा जोड दिनुभयो ।

‘खान लाउन नपाउनेलाई सरकारले हेर्नुपर्छ । पढ्न नसक्नेलाई सरकारले पढाउनुपर्छ । शुल्क तिर्न सक्नेलाई छात्रवृत्ति दिइरहनुपर्छ भन्ने छैन । आफैँ तिरेर उच्चशिक्षा पढ्न चाहने स्वदेशी र विदेशीलाई सरकारी वा निजी सबै शिक्षालयमा पूर्वाधार सुविधा र कोटा बढाएर अध्ययन गर्ने वातावरण तयार गर्नुपर्दछ’, उहाँले भन्नुभयो, ‘निजी विद्यालयलाई गुठीमा लानुपर्छ भन्ने छैन । शिक्षा क्षेत्र खेलबाड गर्ने थलो होइन । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ५२ प्रतिशत अनुत्तीर्ण हुने स्थिति र प्रणालीलाई अन्त्य गर्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले एसइईमा धेरै सङ्ख्यामा विद्यार्थी अनुत्तीर्ण हुने गरी पढाउने शिक्षकलाई तलब बढाउन नसकिने र विद्यार्थीलाई बुझाएर पढाउन नसक्ने शिक्षकको कमजोरीको दोष विद्यार्थीलाई दिन नमिल्ने बताउनुभयो ।

यसअघि प्रधानमन्त्री हुँदा आफूले ३ सय ९६ वटा आधारभूत अस्पतालको एकै पटक शिलान्यास गरेको स्मरण गराउँदै उहाँले यसबीचमा प्रभावकारी रूपमा काम हुन नसकेको बताउनुभयो । कार्यक्रममा प्रधानमन्त्री ओलीले अस्पतालको रजत जयन्ती स्मारिकाको विमोचन गर्नुभएको थियो ।

अन्तिम अपडेट: फागुन १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया