बडिगाड दुर्घटनामा बेपत्ता भएका मृत अवस्थामा भेटिए: ज्यान गुमाउनेको संख्या १५ पुग्यो

 मंसिर १८, २०७६ बुधबार १३:४५:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

बागलुङ - बडिगाड गाउँपालिका-७, भिमगिठेको घोकर्नामा मंगलबार भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ ।

गुल्मीको इश्मा गाउँपालिका वडा नम्बर ५ दोहोली कैयापाटाबाट बागलुङको निसीखोला गाउँपालिका १ बायखोला तर्फ जाँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप मध्यपहाडी लोकमार्गको बागलुङ बुर्तिबाङ सडक खण्डको छेउबाट झण्डै ३ सय मिटर तल बडिगाड खोलामा खस्दा बेपत्ता भएका इश्मा गाउँपालिका ४ का ६५ वर्षीय धनबहादुर कार्कीको बुधबार शव फेला परेको छ ।  

कार्कीको शव दुर्घटनास्थल भन्दा केही तल बडिगाड ७ दिच्छेमा खोलाले बगाएको अवस्थामा फेला पारिएको स्थानीय दिनेश शर्माले बताउनुभयो । 

दुर्घटनामा गम्भीर घाइते भएका नवलपरासी बर्दघाट नगरपालिका २ बस्ने बर्ष २१ का जीवन कार्की, गुल्मी इश्मा गाउँपालिका ४ बस्ने मृतक सूचना कार्कीका छोरा ४ वर्षीय हिमाल कार्की र २४ वर्षीय निमा केसीको महाराजगञ्जमा रहेकाे त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

घाइते तीनै जनालाई ढोरपाटनमा रहेकाे बुर्तिबाङ अस्पतालमा सामान्य उपचारपछि हेलिकप्टर मार्फत काठमाण्डौँ लगिएको थियो । 

गुल्मीको इश्मा गाउँपालिकाबाट २६ जना यात्रु बोकेर आएको जीप दुर्घटना हुनुभन्दा झण्डै आधा घण्टा अगाडि ग्वालीचौरको खौलारामा ट्राफिक कारबाहीमा परेको थियो । ट्राफिक प्रहरीले ओभरलोड भएको भन्दै आठ जनालाई त्यसै ठाउँमा झारेर लोकल भ्यानमा पठाएको थियो । भ्यानमा पठाएका कारण आठ जना सकुशल छन् । अन्य १५ जनाको भने घटनास्थलमै मृत्यु भएको थियो । 

दुर्घटनामा परेका सबै निसीखोलाको बायखोलामा कार्की बन्धुहरुको बुधबार हुने भनिएको कुलपूजाका लागि जाँदै थिए । दुर्घटनापछि निसीखोला गाउँपालिका १ काे कार्की गाउँ भनेर चिनिने बायखोला शोकमा डुबेको छ । 

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया