'अर्थ मन्त्रीकाे अभिव्यक्तिले मात्रै शेयर बजार ओरालाे लागेकाे हाेइन'

 मंसिर १८, २०७६ बुधबार १६:२५:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - शेयर बजारमा परिसूचक नेप्से ११ सय अंक नजिक भएपछि पछिल्लो समय लगानीकर्ताले खरिदबिक्री घटाएका छन् ।

बुधबार भने नेप्से बढेको भए पनि तीन वर्ष ताको बजार बैंक तरलता र ब्याजदरका कारण प्रभावित छ । लगानीकर्ताले भने सरकारी नीतिलाई देखाउँदै अर्थ मन्त्रीलाई बजार घट्नुको मुख्य पात्र बनाउँदै आएका छन् । तर विश्लेषकहरु भने अर्थ मन्त्रीका कारणभन्दा पनि पूँजी वृद्धि, तरलता र ब्याजदर नै सूचक घट्नुको मूख्य कारण भएको बताउँछन् ।

२०७३ साउनमा १ हजार ८ सय ८१ विन्दुमा पुगेको नेप्से परिसूचक पछिल्लो समय १ हजार १ सयको नजिक छ । यसरी हेर्दा नेप्से ४० प्रतिशत बढीले अर्थात ७ सय ५७ अंकले घटेको देखिन्छ । पछिल्लो तीन वर्षको अवधिमा बजार निरन्तर घटेको भने होइन। बजारमा यसरी गिरावट आउनुमा लगानीकर्ताले भने अर्थमन्त्री डा. युवराज खतिवडालाई दोष दिने गरेका छन् । अर्थमन्त्री खतिवडाका विभिन्न अभिव्यक्ति र सरकारका नीतिहरुकै कारण शेयर किन्न नसकेको लगानीकर्ताहरुको भनाइ छ ।

तर केही लगानीकर्ताले भने दीर्घकालसम्मका लागि लगानी गर्नेहो भने सरकारी नीतिले कुनै असर नपार्ने बताउँछन् । त्यसमा अर्थ मन्त्रीलाई दोष दिनुभन्दा बैंकको ब्याजदर र कम्पनीको वित्तीय विवरणमा ध्यान दिनुपर्ने उनीहरुको तर्क छ । लगानीकर्ता जेबी थापा भने बजार ब्याजदरबाट प्रभावित हुने भएकाले बैंकको निक्षेपबाट भन्दा शेयर बजारबाट पाउने प्रतिफल बढी भए मात्र कारोबार बढाउन सकिने बताउन हुन्छ ।

शेयर विश्लेषक सन्तोसराज बजगाईँ भने शेयर बजार अर्थ मन्त्रीका अभिव्यक्तिबाट भन्दा पनि ब्याजदरबाट प्रभावित भएको बताउनुहुन्छ । उहाँले पछिल्लो तीन वर्ष बैंकको ब्याजदर १४ प्रतिशत सम्म पुगेकाले बजारमा शेयरको माग घटेको बताउनुहुन्छ । छोटो समयमा अर्थमन्त्री डा. खतिवडाका अभिव्यक्तिले असर गरे पनि बजार घटनुको मुख्य कारण बैंक तरलता र ब्याजदर नै भएको बजगाईंँ बताउनुहुन्छ ।

बुधबारको शेयर बजार भने ब्याजदरमा स्थिरता आएको भन्ने हल्लाका कारण ८ दशमलव ७३ अंकले बढ्यो । कारोबार रकम पनि ३० करोड रुपैयाँभन्दा माथिको भएको छ ।

कतिपय लगानीकर्ताले भने बुधबारको वृद्धि करेक्सन हुन सक्ने बताएका छन् । तर पनि केही बैंकहरुमा अझै पनि तरलताको समस्या कायम छ । यसले ब्याजदरलाई माथि पुर्‍याएको छ । ब्याजदरको उल्टो असर शेयर बजारमा पर्ने गरेको छ । त्यसैले ब्याजदर बढ्दा नेप्से घट्नु स्वभाविक हो ।

यसको असर दीर्घकालसम्म पर्ने विश्लेषक बजगाईंँ बताउनुहुन्छ । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको पूँजी वृद्धिका कारण बैंकिङ प्रणालीमा देखिएको तरलताले ब्याजदर बढ्न गई नेप्सेमा गिरावट आए पनि नीतिगत व्यवस्थालाई देखाउँदै लगानीकर्ताले भने अर्थमन्त्री डा. खतिवडालाई बजार घटनुको मुख्य पात्र बनाउँदै आएका छन् । 

अर्थ मन्त्री खतिवडाले कहिले शेयर किन्न उपयुक्त समय भएकाे र कहिले उपयुक्त समय नभएकाे अभिव्यक्ति दिँदै आउनु भएकाे छ । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया