भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार
रामेछाप – रामेछापका किसानहरु अलैँचीको उचित मूल्य नपाउँदा मारमा परेका छन् ।
परम्परागत रुपमा मकै, कोदो, गहुँ लगायतका बालीहरुमा उत्पादनमा गिरावट आउन थालेपछि किसानहरुले वैकल्पिकरुपमा अलैँची खेती सुरु गरेका थिए । केही समयअघि अन्य बालीभन्दा अलैँची खेतीबाट सोचेभन्दा बढी आम्दानी हुने भन्दै किसानहरु अलैँची खेतीतर्फ आकर्षित भएका थिए ।
व्यवसायीहरु अलैँची खरिद गर्न किसानको घर घरमै आउने र मूल्य पनि उचित पाउन थालेपछि किसानहरुले परम्परागत खेती त्यागेर अलैँची खेतीलाई व्यावसायिकरुपमा सुरु गरेका थिए ।
सुरुमा अलैँची प्रतिकेजी २ हजार ६ सयमा बिक्रि हुन थालेपछि किसानहरु हुरुक्क हुन थाले । तर व्यावसायिकरुपमा खेती गर्न थालेका किसानहरु यतिबेला केजीको ५ सय हुँदा समेत बजार नपाएपछि चिन्तित भएका हुन् ।
उत्पादन गर्न लागेको खर्चअनुसार बिक्री नै नभएपछि किसानहरु घरमा नै अलैँची थन्काएर बस्न बाध्य भएका छन् ।
विशेषगरी रामेछापका अलैँची उत्पादन हुने गुम्देल, वाम्ती, कुभुकास्थली, प्रिती, भुजी, गुप्तेश्वर लगायत क्षेत्रका किसानलाई मार परेको उमाकुण्ड गाउँपालिका ३ को कुभुकास्थलीका स्थानीय किसान बालकुमार कार्कीले गुनासो गर्नुभयो ।
‘विगतको वर्षभन्दा यस वर्ष उत्पादन घटे पनि अहिले अलैँची कौडीको भाउमा बिक्री गर्नुपर्ने अवस्था आएको छ’, उहाँले भन्नुभयो, ‘घरमा अहिले १० टनभन्दा बढी अलैँची थन्किएको छ । अब त बिक्री नहोला कि भन्ने डर भइसक्यो ।’
रामेछापमा ग्लोसाइ, रामशाही र चिवेशाही गरी तीन प्रजातिको अलैँची खेती गरिँदै आएको छ ।
लेकाली भूभागमा वर्षाको समयमा बढी मात्रामा पानी पर्ने र हिउँदको समयमा बढी हिमपातसहित तुसारो पर्ने गरेकाले पनि अलैँची खेती लगाउने किसानहरुको आम्दानी मौसमअनुसार घटबढ हुने कुभुकास्थलीका अर्का किसान भरतकुमार बस्नेतले बताउनु भयो ।
‘पहिले त अलैँची छ भन्ने थाहा पाएपछि झापा, विराटनगर, वीरगञ्ज र काठमाण्डौ लगायतका ठाँउबाट व्यवसायीहरु आउँँथे’, उमाकुण्ड गाउँपालिका २ वाम्तीका किसान रोकट बस्नेतले दुखेसो पोख्दै भन्नुभयो, ‘यस वर्ष अलैँचीले बजार नपाउँदा हामी हैरान भएका छौँ ।’
रामेछापको उमाकुण्ड, गोकुलगंगा, दोरम्बा र लिखु तामाकोशी गाउँपालिकामा गरी झण्डै ५ सयभन्दा बढी किसानहरुले अलँँची खेती गर्दै आएका छन् ।
किसानहरुले उत्पादन गरेको अलैँची बिक्रीको लागि केही व्यवसायीहरुसँग छलफल भइरहेको उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ ।