गोरखा दरबार पुनर्निर्माण : म्याद सकियो, काम सकिएन

 पुस ४, २०७६ शुक्रबार १७:४३:६ | किरण लोहनी
unn.prixa.net

गोरखा - गोरखा दरबार पुनर्निर्माणको ठेक्का अवधि सकिएको छ ।

ठेक्का सम्झौतामा उल्लेख भएअनुसार दरबार पुनर्निर्माणको काम मंसिर मसान्तमा सकिनु पर्थ्यो, तर काम भने ३५ प्रतिशत मात्रै भएको छ ।

आधा काम पनि पूरा नहुँदै ठेक्का अवधि सकिएपछि  म्याद थपको तयारी सुरु भएको छ । निर्धारित साढे दुई वर्षको ठेक्का अवधि मंसिर मसान्तमा सकिएपछि म्याद थप्ने प्रक्रिया सुरु भएको पुरातत्व विभागले जनाएको छ ।

२०७२ सालको भूकम्पले क्षति पु¥याएको गोरखा दरबार पुनर्निर्माणका लागि २०७४ सालको कात्तिकमा पचली सिभाको जेभी नामको ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो । पुनर्निर्माणका लागि कम्पनीसँग ४ करोड ३७ लाख रुपैयाँमा ठेक्का  सम्झौता भएको थियो । तर ठेक्का अवधि सकिँदा ३५ प्रतिशत मात्रै काम भएको पुरातत्व विभागअन्तर्गतको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुुसालले बताउनुभयो ।

दरबारको पहिलो तल्लाको काम पनि पूरा भएको छैन । निर्माण व्यवसायीले एक वर्ष म्याद थपका लागि निवेदन दिएका गोरखा दरवार पुनर्निर्माण परियोजनाकी प्रमुख मञ्जुसिं भण्डारीले बताउनुभयो ।

ठेकेदारले एक वर्षको म्याद मागे पनि सार्वजनिक खरिद ऐनको आठौं संशोधनअनुसार कुल ठेक्का अवधिको २५ प्रतिशत समय मात्रै थप्न सकिने उहाँको भनाइ छ । त्यसैले अव बढीमा ६ महिना मात्रै म्याद थप हुन सक्ने उहाँले जानकारी दिनुभयो । थपिएको अवधिमा कामको प्रगति नदेखिए ठेक्का सम्झौतानै भंग गर्नेबारे छलफल भैरहेको भण्डारीले जानकारी दिनुभयो ।

‘म्याद थपिएपछि एक दुई महिना हामी उहाँहरुको काम हेर्छौं, अहिलेको जस्तै काममा ढिलाइ भयो भने हामी ठेक्का तोड्ने मनस्थितिमा छौं’ उहाँले भन्नुभयो, ‘निर्माण व्यवसायीमा पुरातात्विक महत्वको सम्पदासम्बन्धी कामको अनुभव पनि कम रहेको पाइयो, त्यस कारण पनि काममा अलमल भएको हो ।’

सुरुमा जगको काममा भएको अलमलका कारण पनि म्याद थप्नुपर्ने देखिएको पुरातत्व विभागले जनाएको छ । दरबार पुननिर्माण छिटो सक्न चौतर्फी दबाब बढिरहेका बेला काम भने फेरि सुस्ताएको छ । पुरातत्व विभागको ताकेतापछि तीव्र बनेको काम फेरि सुस्ताएको गोरखा दरबार हेरचाह अड्डाले जनाएको छ ।

दरबार पुनर्निर्माणमा ढिलाइ भएको चौतर्फी गुनासोपछि निर्माण व्यवसायीले जग र पहिलो तल्लाको निर्माण कार्य धमाधम अघि बढाएका थिए । तर पहिलो तल्लाको गाह्रो लगाउने काम बाँकी रहँदै निर्माणको काममा सुस्तता आएको हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले बताउनुभयो ।

दशैंअघि जग र पहिलो तल्लाको काठको काम सकेको ठेकेदार कम्पनीले त्यसयता भने निर्माणको काममा गति दिन सकेको छैन । दरवार क्षेत्रमा चुना र सुर्कीलगायतका निर्माण सामग्री ढुवानी गरे पनि कामले गति लिन नसकेको हेरचाह अड्डाका प्रमुख भुसालको भनाइ छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया