भरतमोहन अधिकारी फाउण्डेशनले मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिदिने

 पुष ५, २०७६ शनिबार १७:८:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर - भरतमोहन अधिकारी स्मृति फाउण्डेशनले भक्तपुरको सूर्यविनायक नगरपालिका रानीकोटमा शनिबार निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ ।

भक्तपुर सामुदायिक स्वास्थ्य केन्द्र र माट्रिका आई सेन्टरको प्राविधिक सहयोगमा फाउण्डेशनद्वारा आयोजित शिविरबाट भक्तपुरका साथै रानीकोटसँगै सीमा जोडिएका काभ्रे र ललितपुरका करिब १ सय ५० जना आँखाका बिरामीले सेवा लिएका छन् ।

त्यस क्रममा विशेषज्ञ चिकित्सक टोलीले निःशुल्क आँखा जाँच गर्नुका साथै चश्मा र औषधि वितरण गरेको स्वर्गीय भरतमोहन अधिकारी पुत्री एवं फाउण्डेशनकी सदस्य लीमा अधिकारीले जानकारी दिनुभयाे । जाँचका क्रममा मोतियाबिन्दु प्रमाणित भएका ३० जनाको फाउण्डेशनले आगामी एक साताभित्रै निःशुल्क शल्यक्रिया गरिदिने भएको छ ।

‘मोतियाबिन्दुको लक्षण देखिएका ३० जनाको हामी आउँदो हप्ताभित्रै निःशुल्क शल्यक्रिया गराउँछौंँ’, कार्यक्रममा बोल्दै अधिकारीले भन्नुभयाे । 

कार्यक्रममा फाउण्डेशनका उपाध्यक्ष एवं नेकपा नेता सोमप्रसाद पाण्डेले राजनीतिक जीवनमा गरेका सराहनीय कामका कारण भरतमोहन अधिकारीलाई नेपाली समाजले कहिल्यै बिर्सन नसक्ने बताउनुभयाे। अधिकारीले ०५१ सालको अल्पमत सरकारको अर्थमन्त्री छँदा पिछडिएका ग्रामीण भेगमा बसोबास गर्ने जनतालाई लक्षित गरेर सुरु गरेका लोकप्रिय कार्यक्रमकै निरन्तरतामा  अहिले घरघरमा सरकार पुगेको उल्लेख गर्नुभयाे ।

अधिकारीको ‘आफ्नो गाउँ आफैँ बनाऔंँ’ कार्यक्रमको सकारात्मक प्रभाव नेपाली समाजमा कहिल्यै नमेटिने पनि पाण्डेकाे भनाइ थियाे ।

‘भरतमोहन अधिकारी अहिले हुनुहुन्न’, पाण्डेले भन्नुभयाे, ‘तर, उहाँले मुलुकका लागि गर्नुभएको योगदानका धेरै सकारात्मक पक्षहरु नेपाली समाजले कहिल्यै बिर्सन सक्दैनन् ।’

नेपाली कम्युनिष्ट आन्दोलनका वरिष्ठ व्यक्तित्व भरतमोहन अधिकारीको २०७५ साल फागुन १८ गते ८२ वर्षको उमेरमा निधन भएको थियो । उहाँकै नाममा फाउण्डेशन स्थापना भएको हो ।

अन्तिम अपडेट: फागुन १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया