जडीबुटी बेचेर पढाइको जोहो

 पुस ८, २०७६ मंगलबार १३:२४:७ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही –  जाडो बढेसँगै उच्च पहाडी तथा हिमाली भेगका स्कुले बालबालिकाहरु जडीबुटी बेच्न तराई आइपुगेका छन् ।

जुम्ला, जाजरकोट, डोल्पा लगायत विभिन्न जिल्लाका स्कुले बालाबलिकाहरु समूह बनाएर हिमाली जडीबुटीको व्यापार गर्न तराई आइपुगेका हुन् । जाडो मौसममा त्यहाँकाे सामुदायिक विद्यालयको पठनपाठन तीन महिना बन्द हुने गर्छ ।   

विद्यालय बन्द भएपछि पढाइ खर्चको जोहो गर्न जडीबुटी लिएर तराई आएको जुम्लाको हिमशिखर माविमा कक्षा ८ मा पढ्दै गरेका छात्र तिलक न्यौपानेले बताउनुभयाे । न्यौपाने भन्नुहुन्छ, ‘जडीबुटीको व्यापारका लागि हामी १३/१४ जना आएका छौँ ।  दिनभरि डुलेर जडीबुटी बेच्छौँ । राति बास बस्न सबैलाई पायक पर्ने ठाउँमा कोठा भाडामा लिएका छौँ ।’ दैनिक ५ देखि ६ सय रुपैयाँको हाराहारीमा व्यापार हुने गरेकाे उहाँले बताउनुभयाे ।    

उनीहरुले शिलाजित, जटामसी, पाखनबेत, बुडो ओखतो, हिङ, जिम्बु, यार्सागुम्बा, बिरेनुन, टिम्बुर ,भेडीको घ्यूलगायतका हिमाली जडीबुटी बेच्ने गरेका छन् । जुम्लादेखि जडीबुटी बेच्न तराई आइपुग्नुभएका राजकुमार रावल भन्नुहुन्छ, ‘घर बसेर कामै छैन । हिउँ पर्दा जाडोले बाहिर निस्कन सकिँदैन । जाडो बिदामा अलिअलि पढाइ खर्च कमाइन्छ कि भनेर यहाँ आएका हौँ ।’

जडीबुटी बेच्न तराई झरेका उनीहरु जाडो कम हुँदै गएपछि पुनः आफ्नै बासस्थान फर्कने गरेका छन् । हिमाली भेगबाट जडीबुटी बेच्न एकै घर परिवारका चार जनासम्म तराई आउने गरेका छन् । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया