काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाडाैे - युवा तथा खेलकुद मन्त्रालयले खेलकुद क्षेत्रको समग्र विकास गर्न आगामी १५ वर्षका लागि गुरुयोजनाको मस्यौदा तयार पारेको छ ।
अहिले मन्त्रालयले गुरुयोजनाबारे सरोकारवालासँग सुझाव संकलन गरिरहेको छ ।
विशेष गरी गुरुयोजनामा अन्तरराष्ट्रिय सफलताको सपना राम्रैसँग देखिएको छ । तर, त्यस चरणसम्म पुग्ने प्रक्रियाबारे भने अमूर्त व्याख्या गरिएको छ ।
१५ वर्षे गुरुयोजनामा पाँच–पाँच वर्षको तीन परिमाणात्मक कार्यक्रमको व्यवस्था गरिएको छ ।
नेपालले अन्तरराष्ट्रिय सफलताको हकमा आगामी पाँच वर्षभित्र दक्षिण एशियाली खेलकुदमा तेस्रो स्थान हासिल गर्ने गरुयोजनामा उल्लेख छ ।
त्यस्तै ओलम्पिकमा काश्य पदक हासिल गर्ने भनिएको छ ।
पाँच वर्षको अवधि धेरै लामो होइन तर, अहिलेसम्म वाइल्डकार्ड मार्फत ओलम्पिक सहभागिता जनाइरहेको नेपाली खेलकुदले यसबीचमा काश्य पदक ल्याउँछ भन्नु चरम महत्वाकाँक्षा भएन र ?
त्यस्तै आगामी १० वर्षभित्र नेपालले क्रिकेटको एक दिवसीय विश्वकपमा छनोट हुने तथा एशियन गेम्समा स्वर्ण पदक ल्याउने उल्लेख छ ।
अघिल्लो पञ्चवर्षीय योजनाको तुलनामा १० वर्षे योजना भने केही मूर्त देखिन्छ ।
एकदिवसीय मान्यता पाएको नेपाली क्रिकेट टोलीले १० वर्षभित्र एकदिवसीय विश्वकप खेल्ने लक्ष्य राख्नु अनौठो होइन ।
यद्यपि, घरेलु क्रिकेट संरचना शून्यप्रायः रहनु र विवाद समाधानको प्रक्रियामा ढिलाइ हुनु यसका चुनौतिहरु हुन् ।
एशियाली खेलकुदमा नेपालले काश्य पदकभन्दा माथि जित्न सकेको छैन ।
१० वर्षभित्र रजत पदक जित्ने मन्त्रालयको गुरुयोजनामा उल्लेख गरिएको छ ।
तर, घरेलु खेलकुद व्यवसायिक बनाउनुको सट्टा अन्तरराष्ट्रिय सफलतामा ठूलो भाग खोज्नुमा तारतम्य मिलेको देखिएन ।
नेपालले १५ वर्षभित्र ओलम्पिकमा रजत पदक हासिल गर्ने तथा एशियाली खेलकुदमा स्वर्ण पदक हासिल गर्ने चरम महत्वाकाँक्षी योजना अघि सारेको छ ।
गुरुयोजनामा नेपालले १० वर्षभित्र एशिया कप क्रिकेट तथा १५ वर्षभित्र एशियाली खेलकुदको आयोजना गर्ने लक्ष्य राखेको छ ।
तर बिडम्बना, नेपालले एउटै पनि सुविधासम्पन्न अन्तरराष्ट्रियस्तरको क्रिकेट रंगशाला छैन ।
त्यस्तै एशियाली खेलकुदजस्तो प्रतियोगिता आयोजना गर्ने बहुउद्देश्यीय रंगशाला छैन ।
ठूला अन्तरराष्ट्रिय प्रतियोगिता आयोजना गर्न एउटा वा दुईवटा रंगशालाले पुग्दैन ।
धेरै रंगशाला निर्माण गर्नका लागि नेपालको सरकारी प्रक्रिया र बजेट विनियोजन दयनीय देखिन्छ ।
१५ वर्षपछि ओलम्पिकमा रजत र एशियन गेम्समा काश्य जित्ने लक्ष्य राखेको नेपालले भौतिक पूर्वाधार निर्माण र खेलाडीको वृत्तिविकासका लागि कस्तो योजना ल्याएको छ त ?
मन्त्रालयको १५ वर्षे गुरुयोजनामा देशका सातै प्रदेशमा अन्तरराष्ट्रिय स्तरको बहुउद्देश्यीय रंगशाला निर्माण गर्ने भनिएको छ ।
त्यस्तै सबै नगरपालिका तथा समुदायस्तरमा एक–एक वटा सुविधासम्पन्न बहुउद्देश्यीय रंगशाला निर्माण गर्ने र मुलुकका सबै विद्यालयमा खेलकुदसम्बन्धी पूर्वाधार निर्माण हुने उल्लेख छ ।
जिल्ला खेलकुद विकास समिति भंग गर्ने तयारी गरिरहेको मन्त्रालयले हरेक जिल्लामा सुविधासम्पन्न प्रशिक्षण केन्द्रको स्थापना गर्ने गुरुयोजनामा उल्लेख गरेको छ ।
यो १० वर्षे योजना हो । गुरुयोजनाको पहिलो पाँच वर्षभित्र संघीय तथा प्रादेशिक तहमा सुविधासम्पन्न खेल प्रतिष्ठान तथा प्रशिक्षण केन्द्रको स्थापना गर्ने भनिएको छ ।
१५ वर्षको योजनामा भने राष्ट्रिय टोलीमा रहेका सबै खेलाडीलाई विदेशमा प्रशिक्षणको व्यवस्था मिलाउने उल्लेख छ ।
तर, प्रशिक्षक र दक्ष प्राविधिक निर्देशकको उत्पादन तथा स्तरोन्नतिमा भने केही उल्लेख गरेको छैन ।
धेरै खेल पूर्वाधार र खेलाडीलाई व्यवसायिकताको कुरा गर्दा पर्याप्त र स्तरीय प्रशिक्षक तथा प्रशिक्षणको आवश्यकता हुन्छ ।
मन्त्रालयले लोकप्रिय र ख्याति आर्जन गर्न सक्ने खेलको छनोट गरी त्यस्ता खेलका लागि विशेष योजना ल्याउने तयारी गरेको छ । मुख्य गरी फुटबल र क्रिकेट यसभित्र पर्छन् ।
मन्त्रालयले तयार पारेको १५ वर्षे गुरुयोजनाको मुख्य उद्देश्य भनेको राष्ट्रिय विकास र शासकीय प्राथकिमताका रुपमा खेलकुदलाई समावेश गर्ने हो ।
यसबाहेक खेलकुद प्रतियोगितालाई विस्तार गरी सहभागितालाई गुणात्मक र समावेशी बनाउने, खेल पूर्वाधार तथा सेवा सुविधाको पर्याप्तता र गुणात्मकता हासिल गरी विकास गर्ने, खेलकुदसम्बन्धी संस्थाहरुको सुदृढीकरण गरी खेलकुद सुशासन कायम गर्ने, खेलाडी, प्रशिक्षक तथा खेलकुद व्यवस्थापनमा संग्लग्न जनशक्तिको प्रोत्साहन तथा सामाजिक सुरक्षा व्यवस्थालाई व्यापक तुल्याउने लगायत छन् ।
सरकारले खेलकुदका लागि पछिल्ला केहि वर्षहरुमा २ अर्बको हाराहारीमा बजेट विनियोजन गरिरहेको छ । दुई ठूला प्रतियोगिता परेका कारण यस वर्ष बजेटमा दोब्बर वृद्धि गरिएको छ ।
र, खेलकुद मन्त्रालयले भने बजेटको प्रक्षेपण पनि निकै महत्वाकाँक्षी गरेको छ । यसैकारण पनि उसको गुरुयोजनामा सन्देह गर्ने ठाउँ प्रसस्तै छन् ।
मन्त्रालयको गुरुयोजनामा पहिलो पाँच वर्षभित्र सरकारको ७० अर्ब र निजी क्षेत्रबाट ३० अर्ब गरी १ खर्ब बजेट प्रक्षेपण गरिएको छ ।
दोस्रो पाँच वर्षमा त बजेट झनै बढाइएको छ ।
जसमा सरकारले १ खर्ब र निजी क्षेत्रबाट ४५ अर्बको प्रक्षेपण छ ।
अन्तिम पाँच वर्षका लागि अझै वृद्धि गरी १ खर्ब २० अर्ब सरकारले तथा ६० अर्ब निजी क्षेत्रबाट बजेट आउने प्रक्षेपण गरिएको छ ।
यसरी समग्रमा १५ वर्षको बीचमा ४ खर्ब २५ अर्ब बजेटको प्रक्षेपण मन्त्रालयको गुरुयोजनामा छ ।
योजना बन्नु निक्कै सराहनीय कुरा हुँदै हो, तर, यसका लागि आफ्नो धरातलीय यथार्थभन्दा माथि जानु उचित देखिँदैन ।
हामीले अहिलेसम्म दक्षिण एशियाली खेलकुदमा पहिलो हुन सकिरहेका छैनौं भने १५ वर्षको छोटो अवधिमै ओलम्पिकमा पदक जित्नका लागि चमत्कार नै हुनुपर्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।