बदमासी गर्ने कर्मचारीलाई सरुवाकाे सट्टा कारबाही गर्नुपर्ने सांसदहरुकाे माग

 पुष ८, २०७६ मंगलबार २०:०:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सांसदहरुले बदमासी गर्ने कर्मचारीलाई कारबाही नगरी एकठाउँबाट अर्को ठाउँमा सरुवा गर्ने व्यवस्था हटाइनुपर्ने बताएका छन् । 

संघीय संसदको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदनमाथि छलफल गर्दै सांसदहरुले बदमासी गर्ने कर्मचारीहरुलाई कारबाही नगरी सरुवा गर्ने प्रचलन हटाइनुपर्ने बताएका हुन् ।

सांसद रेखा शर्माले बदमासी गर्ने कर्मचारीहरुलाई कारबाहीको व्यवस्था गर्नुपर्ने बताउनुभयाे। सांसद पम्फा भुसालले विधेयकमा सरकारले स्पष्टीकरण लिन सक्ने, बढुवा रोक्ने र निलम्बनसम्म गर्नसक्ने व्यवस्था राख्नुपर्ने बताउनुभयो ।

सांसदहरुले परराष्ट्र सेवामा रहेका कर्मचारीहरु राजदूत बनेर जाँदा ठाउँ खाली हुने तर अर्को कर्मचारी दरबन्दी गर्न नमिल्ने समस्या रहेकाले विधेयकमा त्यस सम्बन्धी उचित व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् । सांसद जनार्दन शर्माले परराष्ट्र सेवाका सहसचिवहरु राजदूत बनेर जाँदा मन्त्रालयमा दरबन्दी सिर्जना हुनुपर्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै सांसदहरुले तल्लो तहमा रहेका कर्मचारीहरुलाई करारमा लिने व्यवस्था हटाइनुपर्ने बताएका छन् । उनीहरुले ठुलो पदमा रहनेले राज्यको सबै सेवा सुविधा पाउने तर तल्लो तहमा काम गर्ने कर्मचारीले कुनै पनि सेवा सुविधा नपाउने खालको विभेदकारी व्यवस्था गर्न नहुने बताएका हुन् ।

सांसदहरुले लोकसेवामार्फत नै कर्मचारी लिनुपर्ने व्यवस्था गर्नुपर्ने बताएका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइरालाले तल्लो तह मुख्य काम नहुने र पुरै समय कार्यालयमा बस्नुपर्ने आवश्यकता नभएकाले करारमा कर्मचारी राख्ने व्यवस्था गरिएको बताउनुभयो । उहाँले मुख्य काम (कोर फङ्सन) र अन्य काम छुट्याउन सकिने बताउनुभयो ।

समितिको मंगलबारको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफा ९ अन्तर्गतका १० वटा उपदफाहरुमाथि छलफल भएको थियो ।

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया