मकालु गाउँपालिकाका गरिब र विपन्न परिवारलाई सोलार बत्ती वितरण

 पुष ९, २०७६ बुधबार १३:२५:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

संखुवासभा - संखुवासभाको मकालु गाउँपालिकाभित्रका विपन्न तथा निम्न आर्थिक स्तर भएका ५२ घरपरिवारलाई निःशुल्क सोलार बत्ती वितरण गरिएको छ ।
    
मकालु गाउँपालिका-४, सेलसेले सामुदायिक वन उपभोक्ता समितिभित्रका ५२ घरपरिवारलाई निःशुल्क सोलार बत्ती वितरण गरिएको हो । कोशी टप्पु टु कञ्चनजङ्घा संरक्षण (केटीके बेल्ट) को आर्थिक सहयोगमा ५२ घरपरिवारलाई सोलार बत्ती वितरण गरिएको मकालु गाउँपालिकाका उपाध्यक्ष चमेली राईले बताउनुभयो । 

वातावरण संरक्षण गर्ने उद्देश्यले सामुदायिक वनका ५२ घरपरिवारलाई निःशुल्क रुपमा सोलार बत्ती वितरण गरिएको उहाँले जानकारी दिनुभयो । 

केटीके बेल्टका प्रमुख राजीव गोयलका अनुसार वर्षाैँदेखि अँध्यारोमा रात बिताउँदै आएका पावाखोला र बिहीबारेका गरिब र विपन्न घरपरिवार छनोट गरी ५२ घरपरिवारलाई निःशुल्क सोलार बत्ती वितरण गरिएको हो । 
 
दाताहरुको सहयोगमा निःशुल्क रुपमा सोलार बत्ती पाएपछि आफू अत्यन्तै खुशी भएको मकालु ४ मा रहेको पावाखोलाका स्थानीय तुलाराम राईले बताउनुभयो । उहाँले वर्षौँदेखि अँध्यारोमा रात बिताउँदै आएको र पहिलो पटक रातको समयमा घर नै झिलिमिली भएपछि आफू दङ्ग परेको सुनाउनुभयो । 
    
टुकीको भरमा गुजारा चलाउन निकै अप्ठ्यारो भइरहेको बेला अहिले रातको समयमा घरायसी कामकाज गर्न र केटाकेटी पढाउन सजिलो भएको स्थानीय राईको भनाइ छ । पावाखोलाकै अर्का स्थानीय छिरिङ भोटेले भन्नुभयो, ‘घरैमा सोलार बत्ती भएपछि मोबाइल चार्ज गर्न बिहानै छिमेकी गाउँ जानुपर्ने बाध्यता हटेको छ ।’ 
    
मकालु गाउँपालिका केन्द्र नुम बजारसम्म मात्रै केही महिना अगाडि विद्युत् पुगेको छ । भर्खरै मात्रै गाउँपालिकाको केन्द्रसम्म विद्युत् विस्तार भए पनि गाउँ–गाउँमा पुग्न अझै समय लाग्ने विद्युत् प्राधिकरणले जनाएको छ । 

गाउँ–गाउँमा विद्युतकाे पहुँच नहुँदा मकालु गाउँपालिकाका स्थानीयहरु मोबाइल फोन चार्ज गर्न समेत छिमेकी गाउँ र नुम बजार धाउनुपर्ने बाध्यता छ । 

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया