के गर्दैछन् नयाँ मन्त्री ?

 पुस ११, २०७६ शुक्रबार १४:२६:४६ | नवराज फुयाँल
unn.prixa.net

काठमाण्डौ - सरकार गठन भएको २१ महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले गएको मंसिरको सुरुमै मन्त्रिपरिषद् पुनर्गठन गर्नुभयो । 

मन्त्रिपरिषद् पुनर्गठन हुँदा सरकारले लिएको लक्ष्यअनुसार काम गर्न नसकेको भन्दै ६ जना मन्त्री बर्खास्तमा परे । कार्यसम्पादनमा कमजोर भनेर निकालिएका मन्त्रीहरुको कुर्सी सम्हाल्न आइपुगेका ‘सक्षम’ भनिएका मन्त्रीहरुको कार्यकाल पनि एक महिना कटिसकेको छ ।  

मन्त्रिपरिषद् पुनर्गठन गर्दा लालबाबु पण्डित, गोकर्ण बिष्ट, चक्रपाणि खनाल, मातृका यादव, रघुवीर महासेठ र थममाया थापा बर्खास्तीमा परे । बर्खास्त पर्नुअघि उनीहरुले क्रमशः सामान्य प्रशासन, श्रम, कृषि, यातायात र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हालेका थिए । 

उनीहरुलाई विस्थापित गर्दै सक्षम भनेर भित्र्याइएका मन्त्रीहरुमा हृदयेश त्रिपाठी, घनश्याम भूसाल, रामेश्वर राय यादव, लेखराज भट्ट, बसन्त नेम्वाङ र पार्वत गुरुङ छन् ।  

राष्ट्रपतिसँग सपथ लिँदै नयाँ मन्त्रीहरु

पुनर्गठनका बेला मन्त्री बनेका ६ जना मन्त्रीहरुले अझैसम्म पनि आफूले गर्ने कामको बारेमा कुनै कार्ययोजना सार्वजनिक गर्न सकेका छैनन् ।  

उनीहरुले क्रमशः सामान्य प्रशासन, कृषि, श्रम, उद्योग, भौतिक पूर्वाधार र महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।  
सक्षम भनेर भित्रिएका मन्त्रीहरुलाई पहिलेका मन्त्रीहरुभन्दा राम्रो काम गरेर देखाउने चुनौती छ । 

विगतमा मन्त्री बनेकाहरुले मन्त्री पद सम्हालेको केही दिनमा नै आफ्नो कार्यकालमा के–के गर्ने भनेर कार्ययोजना सार्वजनिक गर्ने गर्दथे । तर पुनर्गठनका बेला मन्त्री बनेका ६ जना मन्त्रीहरुले एक महिने कार्यकाल बिताइसक्दा पनि अझैसम्म आफूले गर्ने कामको बारेमा कुनै कार्ययोजना सार्वजनिक गर्न सकेका छैनन् ।  

कृषि मन्त्री घनश्याम भूसाल सरकारको नीति र कार्यक्रमअनुसारको परिणाम ल्याउनु नै आफ्नो पहिलो प्राथमिकता रहेकाले त्यसै अनुरुप आफू अघि बढ्ने बताउनुहुन्छ ।  

आफूले आजसम्म मोटामोटी कुरा मात्र बुझेको र मसिना कुरा बुझ्न, प्रशासनिक र नीतिगत जटिलता बुझ्न केही समय लागेको हुँदा विज्ञहरुसँगको सुझाव अनुसार अब छिट्टै मन्त्रालयले गर्ने कार्ययोजना सार्वजनिक गर्ने तयारीमा लागेको बताउनुभयो ।  

अन्य मन्त्रीलाई जनचासोका सामान्य काम गरे पनि वाहवाही पाउने अवसर छ । तर कार्यसम्पादन राम्रो हुँदाहुँदै पनि गोकर्ण विष्टलाई ‘असक्षम’ भनेर हटाएपछि श्रममा आएका रामेश्वर राय यादवमाथि विष्टभन्दा राम्रो काम गरेर ‘सक्षम’ सावित गर्नुपर्ने ठूलो चुनौती छ । यो उहाँका लागि फलामको च्यूरा चपाउनु सरहको चुनौती हो । त्यसो त अन्य मन्त्रीहरुलाई पनि यो चुनौती नभएको भने होइन । 

पदभार ग्रहण गरे पनि यसभित्रका कुरा बुझ्न केही समय लाग्यो - यादव

विष्टले श्रमिकको हितमा सामाजिक सुरक्षा योजना सुरु गर्नुभएको थियो । अब श्रमिकको हित अनुकूल सामाजिक सुरक्षा योजना ल्याएर कोषलाई सशक्त बनाउने जिम्मेवारी यादवले पाउनुभएको छ । यस्तै देशभित्र आन्तरिक रोजगार प्रवद्र्धन गर्ने र वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने जिम्मेवारी पनि यादवको काँधमा आई पुगेको छ ।  

एक महिनाको अवधिसम्म पनि आफूले गर्ने कार्ययोजना सार्वजनिक नगरेका मन्त्री यादवले अबको केही दिनमै आफूले गर्ने कामको कार्ययोजना सार्वजनिक गर्ने बताउनुभयो । ‘पदभार ग्रहण गरे पनि यसभित्रका कुरा बुझ्न केही समय लाग्यो,’ उज्यालोसँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘अब छिट्टै कार्ययोजना बनाएर सार्वजनिक गर्छु ।’  

सधैं चर्चामा रहने लालबाबु पंण्डितलाई विस्थापित गर्दै सामान्य प्रशानमन्त्री बन्नुभएका हृदयेश त्रिपाठीका सामु संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी पठाउनु चुनौतीपूर्ण देखिएको छ । पण्डितको कार्यकालमा कर्मचारी समायोजनको काम सकिएको भनिए पनि अझै पनि प्रदेश र पालिकाले कर्मचारी नहुँदा काम गर्न कठिनाइ भइरहेको भन्ने गुनासो गर्न छाडेका छैनन् ।  

नवनियुक्त मन्त्री त्रिपाठीले आफ्नो पहिलो प्राथमिकता स्थानीय तहमा आर्थिक अनियमितता व्यवस्थित गर्नु रहेको बताउनुभयो । यस्तै संघीय निजामती ऐनलाई निष्कर्षमा लैजाने तथा कर्मचारी समायोजनको कामलाई पूर्णता दिनु पनि आफ्नो प्राथमितामा रहेको उहाँले बताउनुभयो । 

अबको तीन वर्षभित्रै चीनबाट पनि पाइप लाइनमार्फत पेट्रोलियम पदार्थ ल्याउने प्रयत्न हुन्छ : भट्ट

भारतबाट पाइप लाइनमार्फत पेट्रोलियम पदार्थ भित्र्याउन सफल बनेको श्रेय पाएका मातृका यादवलाई विस्थापित गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनेका लेखराज भट्टलाई त्यो भन्दा पनि राम्रो काम गर्ने चुनौती छ । मन्त्री बन्दै गर्दा भट्टले चीनबाट पनि अबको तीन वर्षभित्रै पाइप लाइनमार्फत पेट्रोलियम पदार्थ ल्याउने भनेर चर्चा बटुल्ने काम गर्न भने पछि पर्नु भएन ।  

मन्त्री भट्टले बजारमा हुने अनियमितता, कालोबजारी र महँगी रोक्नु आफ्नो मुख्य काम भएको बताउनुभयो । उज्यालोसँग कुरा गर्दै उहाँले आफू अहिलेको अर्थतन्त्र खुल्ला भएकोले खुल्ला बजारलाई अनुगमन र नियमनको लागि के–कसरी अघि बढ्ने भन्नेबारे छलफलमा केन्द्रित रहेको पनि सुनाउनुभयो ।  

पहिलेका मन्त्रीको बारेमा आफूले कुनै टिप्पणी गर्न नचाहने भन्दै उहाँले आफू प्रचारमा नभई काममा विश्वास गर्ने मान्छे भएको पनि भन्न भ्याउनुभयो । 

रघुवीर महासेठलाई विस्थापित गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका वसन्तकुमार नेम्वाङलाई काम गर्ने अवसर प्राप्त भएको छ । ओली मन्त्रिपरिषद्मा सबैभन्दा बढी आलोचना खेपेका मन्त्री नै महासेठ थिए ।

सिण्डिकट हटाउने निर्णय गरेर पनि कार्यान्वयन गर्ने बेला व्यवसायीसँग घुँडा टेकेको, काठमाण्डौकै सडकका खाल्डाखुल्डी टाल्न नसकेको, सडक निर्माणमा ठेकेदारसँग मिलेर ढिलाई गरेको भन्ने जस्ता आरोप महासेठलाई लागेको थियो । महासेठकै कारण देशभर ओली सरकारको आलोचना भएको थियो । नेम्वाङलाई नागरिकले खोजेका यिनै काम गरे वाहवाही कमाउने अवसर छ । 

मन्त्री नेम्वाङलाई सिण्डिकेट पूर्ण कार्यान्वयन गराउँदै सफल मन्त्री बन्न सक्ने अवसर छ । 

सबैभन्दा बढी प्रभाव पार्ने यातायातको क्षेत्रमा सुधार र सडकका खाल्डाखुल्डीको पुरपार नै हो । काठमाण्डौकै चाबहिल–जोरपाटी सडक, कलंकी–नागढुंगा सडक निर्माणले पनि मन्त्रीको साख उँभो लाग्छ । यातायातको सिण्डिकेट हटाइएको घोषणा गरे पनि व्यवहारमा लागू भएको छैन । मन्त्री नेम्वाङलाई सिण्डिकेट पूर्ण कार्यान्वयन गराउँदै सफल मन्त्री बन्न सक्ने अवसर छ । 

पार्वत गुरुङ, थममाया थापालाई विस्थापित गर्दै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बन्नुभएको हो । गुरुङ मन्त्री बनेसँगै महिला मन्त्रालयमा पुरुष मन्त्री राखेको भन्दै कतिपयले व्यङ्य गरे । तर मन्त्री गुरुङले भने महिला, बालबालिका तथा जेष्ठ नागरिकका क्षेत्रमा आफूले सशक्त ढंगले काम गर्न कार्ययोजना बनाइरहेको सुनाउनु भयो ।  

अहिले आगामी योजनाका लागि विभिन्न पक्षसँग छलफल भइरहेकाले सरोकारवाला पक्षसँगको छलफल पछि छिट्टै आगामी नीति तथा कार्यक्रमका लागि योजना बनाउने उहाँको भनाई छ ।

बुझ्नै समय लाग्याे अब फटाफट काम हुन्छ : गुरुङ

महिला मन्त्रालयले गर्नुपर्ने काम अहिले विभिन्न संस्थाले पनि गरिरहेको बताउँदै अब त्यस्ता काम एकद्वार पद्धतिअनुसार अघि बढाउने गरी आवश्यक तयारी थालेको उहाँले जानकारी दिनुभयो । 

मन्त्री पद सम्हालेको एक महिना मात्रै भएको भन्दै उहाँले मन्त्रालयले गर्नु पर्ने काम तथा आफ्नो कार्यबारे बुझ्न केही समय लागेको र अब भने फटाफट देखिने गरी काम हुने बताउनुभयो । राम्रो काम गरेर देखाउने चुनौती रहेको आफूले बुझेको भन्दै उहाँले त्यसका लागि आवश्यक गृहकार्य पनि गरिरहेको बताउनुभयो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

नवराज फुयाँल

फुयाँल सञ्चारकर्मी हुनुहुन्छ । उहाँ राजनीति, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया