कार्यान्वयनमा आएन सिञ्जाको १० वर्षे पर्यटकीय गुरुयोजना

 पुस १९, २०७६ शनिबार ८:२२:२५ | नेत्र शाही
unn.prixa.net

जुम्ला - जुम्लाको सदरमुकाम सिञ्जामा पर्यटकीय पूर्वाधार निर्माण गर्ने उदेश्यसहित तयार पारिएको १० वर्षीय गुरुयोजना कार्यान्वयनमा आउन सकेको छैन । 

पर्यटन प्रवर्द्धन र आधुनिक विकास लागि तत्कालीन जिल्ला विकास समितिले तयार पारेको गुरुयोजना कार्यान्वयनमा आउन नसकेको हो । सिञ्जा क्षेत्रको विकासको लागि जुम्ला सामाजिक विकास केन्द्रले २०६५ सालमा गुरुयोजना निर्माण गरेर समितिलाई हस्तान्तरण गरेको थियो । केन्द्रका अध्यक्ष भक्तबहादुर बोगटीले गुरुयोजना कार्यन्वयनमा नआउनु विडम्बनाको कुरा भएको बताउनुभयाे

गुरुयोजनामा तीन सय चार ओटा पर्यटकीय क्षेत्रको पूर्वाधार निर्माण गरिने उल्लेख गरिएको छ । तर सन् २०१२ देखि २०२२ सम्म कार्यान्वयन हुनुपर्ने भए पनि सरकारी निकायले भने कुनै चासो देखाएको छैन । 

गुरुयोजनामा सिञ्जा क्षेत्रमा चारलेन सडक निर्माण गर्नुका साथै तटबन्ध, संग्रहालय निर्माण गर्ने, ओझेलमा परेका मठमन्दिर व्यवस्थित गर्ने, स्नातकोत्तर तहको कलेज स्थापना गर्ने लगायतका विषयहरु उल्लेख गरिएको छ । 

यहाँका कनकासुन्दरी मन्दिर, विराट दरबार, पाण्डव गुफाको गरुड नुहाउने मन्दिर, वाणगंगा मन्दिर आदि पवित्र तीर्थस्थलकाे रुपमा चिनिन्छन् । अंग्रेजीमा तयार भएको गुरुयोजनालाई नेपालीकरण गर्नुपर्ने स्थानीयको माग छ ।

स्पष्ट गुरुयोजनाको काम अगाडि नबढेपछि सिंञ्जामा बोलिने भाषा, सभ्यता तथा पर्यटकीय स्थलहरु संकटमा पर्दै गएकाे भन्दै स्थानीय आक्रोसित बनेका छन् ।

अन्तिम अपडेट: चैत २९, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया