च्याम्पियन्स ट्रफी : अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल टस पनि...
फागुन १३, २०८१ मंगलबार
काठमाण्डाै - सरकारले किसानको भुक्तानी गर्न चीनी मिल सञ्चालकलाई निर्देशन दिइसकेको भन्दै काठमाण्डौको माइतीघरमा प्रदर्शन गरिरहेका उखु किसानलाई घर फर्कन अपिल गरेको छ ।
राष्ट्रियसभाको बिहीबारको बैठकमा समय मागेर सरकारका तर्फबाट धारणा राख्नुभएका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उखु किसानका समस्या समाधान नभए किसानले बोलाएको ठाउँ र समयमा उपस्थित हुने प्रतिबद्धता व्यक्त गर्दै प्रदर्शनमा आएका सबै किसानलाई घर फिर्ता जान आग्रह गर्नुभएको हो ।
उहाँले यो वर्ष कुनै पनि अवस्थामा उखु किसानका सम्पूर्ण समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयाे ।
मन्त्री भट्टले अन्नपूर्ण सुगर मिल र इन्दिरा सुगर मिलका सञ्चालक राकेशकुमार अग्रवाल मन्त्रालयको टेलिफाेन सम्पर्कमा आएको तथा महालक्ष्मी सुगर मिल प्रालिले पुस २५ गतेभित्र सबै उखु किसानको बाँकी बकौता भुक्तानी गर्ने लिखित प्रतिबद्धता गरेको पनि जानकारी दिनुभयो ।
त्यसैगरी श्रीराम सुगर मिलले किसानको रकम भुक्तानी गर्न सहजीकरणका लागि मन्त्रालयमा अनुरोध गरेकाले अब किसानका समस्या छिट्टै समाधान हुने बताउनुभयाे ।
उहाँले माघको पहिलो सातासम्म उखु किसानको सम्पूर्ण बक्यौता चुक्ता गरिसक्ने गरी मन्त्रालयले काम गरिरहेकाे बताउनुभयाे । यसका साथै अब उखु बिक्री गर्दा तत्काल भुक्तानीकाे वातावरण मिलाउने गरी काम भइरहेकाले किसानले भुक्तानी पाउनेमा विश्वस्त हुन आग्रह गर्नुभयो ।
उहाँले उखु किसानलाई सरकारले दिने भनि घाेषणा गरेको अनुदान रकम पर्याप्त र सहज तरिकाले उपलब्ध हुने व्यवस्था मिलाउन अर्थ मन्त्रालय र कृषि मन्त्रालयमा सहजीकरणका लागि अनुरोध गरिएको बताउनुभयो ।
उहाँले उखु किसान र चिनि मिल सञ्चालककाबीच वर्षाैँदेखि देखिएको समस्याको दिगो समाधानका लागि सरोकारवाला मन्त्रालयका पदाधिकारी, उखु किसान र चिनी मिलका प्रतिनिधि र विषय विज्ञ सम्मिलित समिति गठन गरिएको र त्याे समितिलाई १५ दिनभित्र प्रतिवेदन दिन भनिएकाले समितिले दिएको प्रतिवेदनका आधारमा सरकारले पहल अघि बढाउने पनि बताउनुभयाे ।
समितिलाई किसानले उखु बिक्री गर्नासाथ भुक्तानी किसानकै खातामा जम्मा हुने स्वचालित पद्धतिकाे खाेजी गर्ने, ताैलमा हुने अनियमिता रोक्ने, बिचौलियाको प्रभाव र खरिद प्रक्रियालाई सहज र पारर्शी बनाउने, उखु किसानको बाँकी बक्यौताको रकम यकिन गर्ने, उखु किनबेचलाई सबै कोणबाट व्यवस्थित बनाइ स्वचालित पद्धति अपनाउने गरी सरकारलाई सिफारिस गर्न भनिएको छ ।
मन्त्री भट्टका अनुसार पुस १६ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत आपूर्ति व्यवस्थापन महाशाखाको संयोजकत्वमा चिनीको कारखाना मूल्य निर्धारण गरी आवश्यक सुझाव दिन पनि समिति गठन गरिएको छ ।
उखु किसानको ऋण र बाध्यता तथा समस्याको बारेमा कार्यदलले दिने सुझावका आधारमा सरकारले समस्या सम्बोधन गर्ने उहाँले स्पष्ट पार्नुभयो ।
उखु किसानको समस्या आउन नदिन चिनी मिलका सञ्चालकलाई बोलाई भुक्तानी दिन तथा उखु उत्पादन र चिनी मिल सञ्चालकबीच छलफल गरी उखु किसानलाई सरकारबाट दिइएको अनुदान रकम सहज उपलब्ध गराउन, उखु किसानलाई अनुदान दिने कार्यविधि सरल र व्यवहारिक हुने गरी आवश्यक परिमार्जन गर्न कृषि तथा पशुपंक्षी विकास मन्त्रायलाई अनुराध गर्ने काम पनि मन्त्रालयबाट भएको उहाँले जानकारी दिनुभयो ।
उहाँले उखु किसानको भुक्तानी गर्न बाँकी रकम तुरुन्त भुक्तानी गर्ने गरी मिल सञ्चालकहरुलाई आवश्यक प्रबन्ध मिलाउन आग्रह गरेको र यस वर्षका लागि उखुको मूल्य प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।