रेलदेखि जेलसम्म, यतिदेखि पप्पुसम्म : के मात्रै हेर्ने पर्यटकले !

 पुस १९, २०७६ शनिबार ९:४२:४३ | मिलन तिमिल्सिना
unn.prixa.net

सगरमाथा, लुम्बिनी, गैंडा, हात्ती, बाघ । हिमाल, पहाड, तराई । थरीथरीका संस्कृति रीतिरिवाज र जैविक विविधता । अन्त देख्न नपाइने यी सबै कुरा नेपालमा देख्न पाइन्छ भन्ने त सबै विदेशी पर्यटकलाई थाहा छ । तर नेपाल भ्रमण वर्षमा यसबाहेक नयाँ कुरा के होला ? सबैलाई चासो र खुल्दुली छ ।

पर्यटकलाई पुराना कुराले मात्रै चित्त बुझ्दैन, धित मर्दैन । नयाँ नयाँ कुरा पनि देखाउनुपर्‍याे । तामझामका साथ सुरु भएको नेपाल भ्रमण वर्षलाई लक्षित गरेर सरकार र दलहरुले यस्तै नयाँ नयाँ कुरा ठिक पारेका छन् पर्यटकलाई देखाउन । 

सबैभन्दा ठूलो त नेपालमा कुरैकुरा छ । सबै कुरा एक ठाउँमा थुपार्ने हो भने सगरमाथा भन्दा अग्लो हुन्छ । हजार जिब्रा भएको शेषनागले समेत बयान गरेर साध्ये नलाग्ने कुरा । कुरा अर्थात गफ । प्रधानमन्त्रीका कुरा र सपना, मन्त्री र अरु नेताहरुका भाषण र गफ । कति छन् कति !

कुरा, गफ, भाषण, सपनालाई मान्ने हो भने नेपालमा रेल चल्न थालिसक्यो । पानीजहाजमा मालसामान ओसारपसार सुरु भैसक्यो । उहिल्यै प्रधानमन्त्रीले पानीजहाजको टिकट किनेर बस्नु भनेलगत्तै टिकट लिएर लाइनमा बसेका कतिको त अझै पालो आएको छैन । पर्खेर बसेका छन् ।

मोनोरेल, मेट्रोरेल कुन मात्रै चढ्नु ! बाटो उस्तै फराकिलो र चिल्लो । धुलो, धुवाँ र खाल्डाखुल्डी हेर्छु भन्दा पनि देख्न नपाइएला भन्ने डर । पानीजहाज र रेलको मात्रै के कुरा ? मेलम्चीको पानी छताछुल्ल भएर काठमाण्डौ नै डुबाउने हो कि भन्ने डर भैसक्यो । लुम्बिनी र निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनिसक्यो । कुरा र गफमै बनेका अरु कुरा अझ कति छन् कति ।

विकासका कुरा छोडेर राजनीतिको रमाइलो हेर्न खोज्ने पर्यटकका लागि पनि मनोरञ्जन गर्न मिल्ने थुप्रै कुरा छन् । हुँदाखाँदाका सभामुख जेलमा छन् ।

विकास र समृद्धि मात्रै हेर्न खोज्ने पर्यटकलाई सन् २०२० को जाबो ३६५ दिनले मात्रै पनि पुग्दैन । अझै समय थप्नुपर्ने देखिएको छ ।

विकासका कुरा छोडेर राजनीतिको रमाइलो हेर्न खोज्ने पर्यटकका लागि पनि मनोरञ्जन गर्न मिल्ने थुप्रै कुरा छन् । हुँदाखाँदाका सभामुख जेलमा छन् । उपसभामुखले भैपरिआउँदा सभामुखको काम गरिरहेकी छिन् । अर्का सभामुख खोज्ने लम्बेतान प्रक्रिया चलिरहेको छ । जेलमा रहेका सभामुख, काम चलाउ सभामुख र हुनै लागेका सभामुख । सभामुख नै तीनजना, कतिवटाको मात्रै मुख हेर्नु ।

नेपाल घुम्न आउने पर्यटकलाई मुख देखाउन नमिल्ने र मुख देखिनसकेका सभामुख मात्र होइन, पहिलेका एमाले र माओवादी पनि हेर्न मन लाग्ला । दुई पार्टी एक भएपछि पहिलेका एमाले र माओवादी देख्न नपाइने हो कि भन्ने चिन्ता होला । तर चिन्ता मान्नै पर्दैन । बालुवाटार, सिंहदरबार, बानेश्वर, धुम्बाराई, पेरिसडाँडादेखि गाउँपाखासम्म जताततै एमाले र माओवादी छन् । नेकपाभित्रै एमाले र माओवादी धित मरुञ्जेल हेर्न पाइन्छ ।

अनि कम्युनिष्ट पो धेरै छन् र धेरै हेर्न पाइन्छ, कांग्रेस त एउटै छ, एकछिन हेर्दैमा सकिएला भन्ने कतिलाई लागेको होला । तर धेरै कांग्रेस हेर्न चाहने पर्यटकलाई पनि त्यो सुविधा छ । देउवा कांग्रेस, पौडेल कांग्रेस, कोइराला कांग्रेस, सिटौला कांग्रेस....। जति पनि छन् ।

मधेसवादी र अरु दललाई पनि उसैगरी हेरेर रमाइलो मान्न सकिन्छ । एकटकले हेरिरहँदा सरकारमा, आँखा झिमिक्क गर्‍याे कि प्रतिपक्षमा । फेरि अर्कोपटक आँखा झिम्क्याउँदा सरकारमा । को कुनबेला सरकारमा र प्रतिपक्षमा हुन्छ छुट्याउनै गाह्रो । जादू हेरेजस्तो । मधेसवादी दलको रमाइलो पर्यटक आकर्षित गर्ने अर्को कुरा हो ।

सरकारले किसानलाई यतिसम्म राहत दिएको छ कि अब किसानले खेतबारीमा मात्रै काम गर्नु पर्दैन । बेलाबेला शहरको रमाइलो हेर्न आउन पाउँछन् ।

राजनीति र विकाससँगै किसान, मजदूरलाई पनि एकपटक हेर्ने पर्यटकको चाहना हुन सक्छ । किसानलाई भेट्न गाउँपाखा र खेतबारीमा पुग्नै पर्दैन । एकछिन माइतीघरमा बस्ने हो भने माइतीमा चेलीबेटी आएझैं कहिले किसान आउँछन्, कहिले मजदूर । कसैले उखु देखाउँछन्, कसैले मुख ।

सरकारले किसानलाई यतिसम्म राहत दिएको छ कि अब किसानले खेतबारीमा मात्रै काम गर्नु पर्दैन । बेलाबेला शहरको रमाइलो हेर्न आउन पाउँछन् । अहिले उखु किसान यसैगरी शहर आएका छन् । सरकार र चिनी उद्योगीले उनीहरुलाई काठमाण्डौको झिलिमिली हेर्ने अवसर दिएका हुन् । भ्रमण वर्षमा पर्यटक नेपाल आएजस्तै, किसान यसैगरी काठमाण्डौ आउँछन् । काठमाण्डौ आएका किसानलाई विदेशी पर्यटकले पनि प्रत्यक्ष देख्न पाउँछन् । अनि किसानले पनि पर्यटक भनेका यस्ता हुँदा रहेछन् भनेर हेर्न पाउँछन् । दोहोरो फाइदा । 

पर्यटकलाई आकर्षित गर्ने यस्ता कुरा खोतल्दै जाने हो भने कति छन् कति । यति, नेपाल ट्रस्ट, गोकर्ण रिसोर्ट, बालुवाटार जग्गा प्रकरण, वाइडबडी प्रकरण, निर्मला हत्याकाण्ड, ३३ किलो सुन काण्ड, पप्पु ठेकदार, घरबेटी ठेकदार लगायतका चर्चित काण्ड, घटना र पात्र पर्यटकका लागि थप आकर्षण हुन् ।

नेपाल भ्रमण वर्ष सफल बनाउन सरकार, दल र नेताहरुले यस्तै अरु नयाँ गन्तव्य र कुराको खोजी गरिरहेका होलान् भन्ने आशा गरौं ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया