कविलासी नगरपालिकाकाे काम एक सातादेखि ठप्प

प्रदेश सभा सदस्यले ज्यान मार्ने धम्की दिँदै आएको प्रमुख प्रशासकीय अधिकृत महतोकाे आरोप

 पुस १९, २०७६ शनिबार १८:१८:१८ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही - सर्लाही क्षेत्र नम्बर-३ प्रदेश (ख) का प्रदेश सभा सदस्य सञ्जय यादवले कविलासी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार महतोलाइ ज्यान मार्ने धम्की दिएपछि एक सातादेखि नगरपालिकाको कामकाज ठप्प भएको छ।

सदस्य यादवले आफू अनुकूलको काम नगरेकाले आफूलाइ पटक-पटक ज्यान मार्ने धम्की दिँदै आएको प्रमुख प्रशासकीय अधिकृत महतोले आरोप लगाउनुभयो। आफूले स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार नगर कार्यपालिकाले नगरसभाबाट अनुमोदन गरेको योजना कार्यान्वयन गर्न खोज्दा प्रदेश सभा सदस्य यादवले धम्काउने गरेकाले आफू त्यस ठाउँमा बसेर काम गर्न नसक्ने प्रमुख प्रशासकीय अधिकृत महतोको भनाइ छ।

नगरपालिकामा बसेर काम गर्ने वातावरण नभएकाले सरुवाका लागि उहाँ अहिले संघीय राजधानी काठमाण्डाैमा हुनुहुन्छ । प्रमुख प्रशासकीय अधिकृत महतो सरुवाको माग गर्दै राजधानी पुगेपछि नगपालिकाको सम्पूर्ण कामकाज ठप्प हुनका साथै विकासका योजना प्रभावित भएका छन्।

कविलासी नगरपालिकाका प्रमुख कौशलकिशोर राय र प्रमुख प्रशासकीय अधिकृत महतो मिलेर नगरपालिकामा व्यापक अनियमितता र भ्रष्टाचार गरेको प्रदेश सभा सदस्य सञ्जय यादवले आरोप लगानुभएको छ ।

प्रदेश सभा सदस्य यादव भनुहुन्छ, ‘कविलासी नगरपालिका भ्रष्टाचार र अनियमितताको कारण कालो सूचीमा परेको छ, मैले हाकिम र नगर प्रमुखलाइ पटक-पटक हिसाब देखाउनुस् भनेँ, उहाँहरुले देखाउनु भएन, हाकिमले सरुवा मागेपछि मैले हिसाब नदेखाइ जहाँ गए पनि तपाईँलाइ मुन्ट्याएर ल्याउँछु भनेको हो, अरु कुरा हाकिम आफैँले गलत प्रचार गरेका हुन्।’

प्रदेश सभा सदस्य यादव कविलासी नगरपालिकाकाका स्थायी बासिन्दा हुनुहुन्छ । उहाँ संघीय समाजवादी फोरमबाट प्रदेश सभा सदस्यका लागि निर्वाचित हुनुभएको हो । प्रदेश सभा सदस्य सञ्जय यादवको ‘दादागिरी’को कारण कुनै कर्माचारी नगरपालिकामा बसेर काम गर्न नसक्ने र छोटो अवधिमै सरुवा गराएर जाने गरेको कविलासी नगरपालिकका प्रमुख कौशलकिशाेर रायले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया