धनुषा हत्या प्रकरण : ‘पटक पटकको धम्कीपछि ज्यान लिइयो, प्रशासनले चासाे देखाएन’

अवैध उत्खननविरुद्धकाे अभियानले बनायो परिवारलाई शोकमग्न

 पुस २५, २०७६ शुक्रबार १९:३९:३५ | सुभाष कर्ण
unn.prixa.net

सु

धनुषा - अवैध बालुवा गिट्टी उत्खनन विरुद्धका युवा अभियन्ता धनुषाका मिथिला नगरपालिका ५ श्रीपुरका ओमप्रकाश भन्ने दिलिपकुमार महतोले ज्यान गुमाउनु परेको छ ।

समाजिक रुपमा अवैध उत्खननविरुद्ध आवाज उठाउँदै आएका महताेकाे परिवारसहित पुरै गाउँ शोकमग्न भएको छ । ओमप्रकाशको हत्याले गाउँमा आक्रोश र शोक दुवै अवस्था रहेकाले कोही कसैसँग बोल्न सक्ने अवस्थामा छैनन् । घटनापछि ओमप्रकाशकी आमा चन्द्रकला देवी अहिलेसम्म बेहोश अवस्थामा हुनुहुन्छ भने छोरालाई इन्जिनीयर बनाउने सपना देखेका बुवा पनि स्तब्ध हुनुहुन्छ ।

यस्ताे थियाे घटना

शुक्रबार बिहानै ४ बजे समयमा बालुवा गिट्टीको अवैध उत्खनन गर्न पुगेका ना ७ ख ६४१३ नम्बरको टिपरले किचेर उहाँको हत्या गरिएको हो ।

महताेसँगै मर्निङ वाकमा रहेका प्रत्यक्षदर्शी रोशन यादवका अनुसार बालुवा गिट्टी उत्खनन गरेकाे देखेर ओमप्रकाशले रोक्न खाेज्दा टिपर चालकले बढी बोलिस् भने मारिदिन्छु भनेर धम्की दिँदा पनि नमानेपछि उनीमाथि टिप्पर चलाएर हत्या गरेकाे थियो ।

बिनामुचुल्का पोष्टमार्टम

घटनापछि रोशन यादवले प्रहरीलाई खबर गरेपछि प्रहरीले बिनामुचुल्का नै शव पोष्टमार्टमका लागि अस्पताल पठाएकाे स्थानीयको आराेप छ । याे घटनामा बिनामुचुल्का शव पोष्टमार्टमका लागि अस्पताल पठाउनुले घटना रहेको नियोजित रहेकाे उनीहरुकाे गुनासाे छ । घटनास्थलमा महताेसँगै रहेका रोशन यादवलाई अनुसन्धानको क्रममा प्रहरीले नियन्त्रणमा लिएको छ ।

मृतककी बहिनी बहिनी लक्ष्मी महतो, बुवा रामजीवन महतो, वडाध्यक्ष श्यामबाबु यादवलगायत केही स्थानीयवासीहरु घटना स्थलमा पुगेका भए पनि उनीहरुसँग केही साेधपूछ नगरी प्रहरीले बिनामुचुल्का शव उठाएर पोष्टमार्टमका लागि प्रादेशिक अस्पतालमा पठाएकाे परिवारजन तथा स्थानीयकाे आराेप छ ।

बिना मुचुल्काको प्रहरीले शव उठाएकोमा स्थानीय प्रशासन विरुद्ध आक्रोशित भएका छन । उनीहरुले बिना मुचुल्काको शव उठाउनु भनेको प्रहरी प्रशासनको पनि संलग्ना रहेको आरोप लगाउंदै समेत प्रदर्शन गरेका छन ।

बालुवा गिट्टीको अवैध उत्खननको अभियान नै चलाएकाले ओमप्रकाश क्रसर उद्योगीहरुका लागि आँखाको कसिंगर भएकाे र त्यसैकारण हत्या गरिएको ओमप्रकाशकी बहिनी लक्ष्मी कुमारी महतोले सञ्चारकर्मीसँग गुनासाे गर्नुभयाे ।

पटक पटकको धम्कीपछि हत्या

लक्ष्मी कुमारीका अनुसार रोशन यादवको फोन आएलगत्तै बिहानै ४ बजे दिलिपकुमार घरबाट निस्किए  र तयसका १५ मिनेट नबित्दै उहाँको हत्या भएको खबर आयो । खबर पाएलगत्तै आफू दौडेर गएपछि दाईलाई टिप्परले किचिएको अवस्था देखेकाे लक्ष्मीकाे भनाइ छ ।

क्रसर उद्योगी विपिन महतोले दिलिपलाई आफ्नाे काममा बाधा नपुर्‍याउन पटक पटक फोन गर्ने गरेकाे तर दिलिपले नमानेकाले उहाँकाे ज्यान लिइएकाे बहिनी लक्ष्मीकुमारीकाे भनाइ छ ।

प्रशासन र जनप्रतिनिधिकाे बेवास्ता

उद्योगी विपिनकाे धम्कीबारे स्थानीय प्रशासनलाई जानकारी गराएकाे र अवैध उत्खनन राेक्न जनप्रतिनिधिहरु लाई जानकारी गराउँदा पनि कुनै चासो नलिएकाे उहाँकाे आराेप छ । तर जनप्रतिनिधिहरुले उल्टै अनाहकको काम नलाग्न सुझाव दिँदै आएको लक्ष्मीले बताउनुभयाे ।

दाजु दिलिपकाे हत्या उद्योगी विपिन, स्थानीय प्रशासन, स्थानीय जनप्रतिनिधि तथा नगर प्रमुखको मिलेमताेमा भएकाे आराेपसमेत लगाउनुभयाे ।

ओमप्रकाशसँगै अभियानमा लागेका रहेका उहाँका काकाका छोरा रजनीश महतोले भने दिलिपलाई पहिलादेखि नै क्रसर उद्योगीहरुले अवैध उत्खननविरुद्धको अभियान बन्द नगरे ज्यानै मार्नेसम्मको धम्की दिँदै आएको बताउनुभयाे। 

परिवारको जेठो छोरा रहेका ओमप्रकाश भारतको भोपालमा रहेकाे एक कलेजमा मैकेनिकल इन्जिनियरिङ अध्ययनरत हुनुहुन्थ्याे । उहाँ दश दिनअघि बिदा मनाउन घर आउनुभएकाे थियाे ।

घटनाबारे मेयर अनभिज्ञ

यता घटनाबारे प्रतिक्रिया लिन खोज्दा मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोले सबै कुरा मेयरलाई थाहा हुनु जरुरी नरहेकाे प्रतिक्रिया दिनुभयाे ।

पत्रकारहरुप्रति झोंकिदै उहाँले भन्नुुभयाे, घरको भान्सामा के खाना पाकिरहेको छ भन्ने कुरो घरका सबै सदस्यलाई थाहा हुँदैन । त्यस्तै नगरमा के भइरहेको छ भन्ने सबै कुरा मलाई थाहा हुन जरुरी छैन ।

तर आफूले बुझेसम्म बिनामुचुल्का नै शव उठाइएकोले मुचुल्का किन गरिएन भन्ने स्पष्ट जवाफ नआएसम्म शव नबुझ्ने अडान लिने उहाँले बताउनुभयाे ।

यसैबीच टिप्पर र चालक मुणिन्द्र महतोलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

सुभाष कर्ण

कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया