अँगेनोका राप, ताप र बातका सम्झना

 पुस २६, २०७६ शनिबार ८:२०:३१ | मिलन तिमिल्सिना
unn.prixa.net

पुसको ठण्डी, त्यसमाथि झरी । सिरकभित्र पसेर मोबाइल खेलाउन पाएपछि भोक र निद्राजस्तै चिसोको पनि त्यति वास्ता हुँदैन । फेसबुक र ट्वीटरमा जाडो भएको, हिउँ खेलेको, मकै भटमास र चिया खाएको, आगो तापेको कुरा भन्न र हेर्न पाएपछि यसै पनि तातो हुने नै भयो । 

फेसबुकमा आगो तापेको कुरा गर्दा सानो छँदा घरको अँगेनोको झलझली याद आउँछ । भुईंतलामा दुईवटा अँगेनो । एउटा माझमा, अर्को चाहिँ अलि पर कुनामा । माझमा रहेको अँगेनोभन्दा पर कुनाको अँगेनो अलि विशेष प्रकारको । 

पर कुनाको अँगेनामा भात, तिउन पाक्थ्यो । तल्लो अँगेनामा दूध र कुँडो । कुनाको अँगेनो हजुरबा र हजुरआमाबाहेक अरुको पहुँचमा थिएन । तल कुँडो पाक्ने अँगेनो चाहिँ केटाकेटी र आगो ताप्न पुग्ने छरछिमेकीलाई पनि खुला थियो ।

आगो ताप्न र गफ गर्न माथ्लो घरको टीकाराम काका, भिरालचौरे माईलो हजुरबा, चितुने हजुरबा, सदस्य हजुरबा पनि आउँथे ।

तल्लो अँगेनोमा बस्न हुने गरी खाट आकारको भूईं । त्यहाँ ओछ्याउनको लागि छुट्टै गुन्द्री । जाडोमा घरका सबै यहीँ बसेर आगो ताप्थ्यौं । हामी केटाकेटी पनि अँगेनोको छेऊमा बसेर लेखपढ सिध्याउँथ्यौं । कहिलेकाहीँ पढ्दापढ्दै तातोमा त्यहीँ पल्टेर निदाउँथ्यौं । 

आगो ताप्न र गफ गर्न माथ्लो घरको टीकाराम काका, भिरालचौरे माईलो हजुरबा, चितुने हजुरबा, सदस्य हजुरबा पनि आउँथे । बुढाहरुका कुरा निकै झटकलाग्दा र चाखलाग्दा हुने । त्यसैले उनीहरुका गफ सुन्न हामी छिटोछिटो लेखपढको काम सिध्याईसक्थ्यौं ।

भात खाएर चुठेपछि हजुरबा पनि गफमा मिसिनुहुन्थयो । त्यतिबेलासम्म वरपर घरका बा, काकाहरु आगो ताप्न आइसकेका हुन्थे । हजुरबा र अरु बा काकाहरुले गफको मेलो थाल्दा हजुरआमा, आमा र काकीहरुको चाहिँ कामको मेलो आधा पनि सकिएको हुँदैनथियो । बेलुकीको भात खाइसकेपछि पनि काम त अझै कति हो कति । त्यतिका भाँडा माझ्ने, लोटाईपोताई, ढिंकीजाँतो थुप्रै काम बाँकी हुन्थे घरका महिला सदस्यहरुका । 

हजुरबाहरुको गफ सकिँदासम्म पनि आँबै र आमाहरुका काम नसकिने । काम गर्दै उहाँहरु पनि बेलाबेला गफ सुन्न खोज्नुहुन्थ्यो । तर हजुरबाहरुले जस्तो उहाँहरु अँगेनोको छेउमा हात पसारेर बस्न पाउनुहुँदैनथियो । ढिंकी भकुर्दै, जाँतो घुमाउँदै, भाँडा मस्काउँदै, चुल्हो पोत्दै गरेको बेला हजुरबाहरुका गफ सुन्न खोज्नुहुन्थ्यो । 

एकपटक त दूधभन्दा पानी धेरै भएर उल्टै फर्काएर ल्याउनु परेको कुरा उहाँले फुँदा गाँसेर भनिसक्दा अरु सबै गलल्ल हाँस्थे । 

बेलुकाको खाना खाइसकेपछि अँगेनोको छेउमा आगो ताप्दै बुढाहरुले खेतीपातीदेखि तात्तातो राजनीतिका गफसम्म भ्याउँथे । चितुने हजुरबा राजनीतिमा बढी चासो राख्ने मान्छे । त्यसैले रेडियो नेपालबाट बज्ने ‘घटना र विचार’ नसकिँदासम्म उहाँ अरुलाई बोल्न दिनु हुन्नथियो । रेडियो सुनेर घरीघरी ‘ला’, ‘ए’, ‘हो नि त’, ‘च्व’, ‘थुक्क’ भनेर उहाँ एक्लै फतफताउनुहुन्थ्यो । 

रेडियो सुन्ने काम सकेपछि बुढाहरुका गफले गति लिन्थ्यो । सानो कुराबाट लम्बेतान गफ बन्थ्यो । ‘साँच्ची अहिले भैंसीले कति दूध दिईरहेको छ दाज्यै’ भनेर चितुने हजुरबाले दूधको कराईतिर हेर्दै सोधेपछि हजुरबाले ‘बेच्न त त्यस्तै हो, खान पुगेकै छ’ भन्नुहुन्थ्यो । त्यसपछि टीकाराम काकाले सानोमा दूध बेच्न गएको कथा सुनाउनुहुन्थ्यो । घरबाट शुद्ध दूध लिएर जाँदा बाटोमा पानी मिसाएर लगेको, एकपटक त दूधभन्दा पानी धेरै भएर उल्टै फर्काएर ल्याउनु परेको कुरा उहाँले फुँदा गाँसेर भनिसक्दा अरु सबै गलल्ल हाँस्थे । 

हाँसो पनि भाँतीभाँतीका । टीकाराम काकाले हाँसेको पूछारघरे कान्छाको घरसम्म सुनिन्थ्यो । टीकाराम काकाको दूधको कुरा सकेपछि सदस्य हजुरबाले काँक्रो चोरेको कथा सुनाउनुहुन्थ्यो । खै कहिले हो कसको काँक्रो चोर्न जाँदा काँक्रा धनी पिसाब गर्न उठेछन् । बुढा उठेपछि काँक्रा चोरहरु कान्लामुनी लुकेछन् । काँक्रा साउले माथ्लोपाटाको डिलबाट पिसाब गर्दा जीउभरी भिजेको कुरा सुन्दा फेरि हाँसोको फोहोरा छुट्थ्यो । 

भैंसीको दूधबाट सुरु भएको गफ राजनीति हुँदै सिंहदरबार र राजदरबारसम्म पुग्थ्यो ।

सदस्य हजुरबाले काँक्रो चोरको कथा सुनाएपछि भिरालचौरे माइलो हजुरबाले अर्को चोरको प्रसँग सम्झनुहुन्थ्यो । उहाँले त्यो चोरको कहानी सुनाएपछि चितुने हजुरबाले ‘काँक्रा चोरको के कुरा, सरकारमै सबै चोर छन्’ भनेर राजनीतिका कुरा मिसाउनुहुन्थ्यो । 

भैंसीको दूधबाट सुरु भएको गफ राजनीति हुँदै सिंहदरबार र राजदरबारसम्म पुग्थ्यो । तर राजनीतिका कुरा गर्न चितुने हजुरबा मात्रै सिपालु, अरु हजुरबाहरुलाई चाहिँ खेतीपाती र अरु रमाइलो गफमा मात्रै झटक लाग्थ्यो ।

भए नभएका कुरामा त्यस्तै झटकलाग्दा फुँदा गाँसेर गफ गर्न सबै सिपालु । भिरालचौरे माईलो हजुरबा चाहिँ अलि लेग्रो तानेर भिन्नै स्वादमा गफ मिसाउनुहुन्थ्यो । हाम्रो हजुरबा चाहिँ भूमिका बाँधेर गफ झिक्नुहुन्थ्यो । तीनतारे तारा दुई जुवामाथि आउँदासम्म हाम्रो घरको अँगेनो नजिक बसेर बुढाहरु गफ गर्थे । 

एकपटक रेडियोमा ‘घटना र विचार’ आउनुभन्दा अलि पहिले हाम्रो घरको त्यही अँगेनोको कुनामा बा, जगन्ननाथ हजुरबा, सुन्दरीपानीका कृष्णले खासखुस कुरा गरेका थिए । लेखपढको काममा व्यस्त मास्टर बुढाहरुले त्यसरी खासखुस कुरा गरेको पहिले त्यति पत्तो पाएको थिईनँ मैले । 

राति एकछिन कानेखुशी कुरा गरेर बुढाहरु ‘हाम्रो काम छ भोलि मात्रै आउँछौं’ भनेर निस्कँदा आमाले खुईय........सुस्केरा हालेर फतफताउँदै सुत्न गएकोसम्म मात्र निधो पाईयो । त्यही रात माथि पोखरीडाँडामा पञ्चायत व्यवस्थाविरुद्ध नारा घन्काउँदै शंख बजेको थियो । पछि मात्रै थाहा भयो हाम्रो घरको अँगेनो नजिक बसेर खासखुस कुरा सकेपछि बुढाहरु शंख फुक्न डाँडामा पुगेका रहेछन् । 

हाम्रो घरको अँगेनो नजिक यस्ता खासखुस कुरा पहिले पनि हुने रहेछन् । ठूल्ठूला कम्युनिष्टका नेताहरु बेलाबेला पुगिरहन्थे रे घरमा, हजुरआमा र आमाले भन्नुभएको । बहुदल आएपछि भने हजुरबाहरुका झटकलाग्दा गफ नै मजाले सुन्न पाईयो अँगेनोमा आगो तापेर ।

पछि मात्रै थाहा भयो हाम्रो घरको अँगेनो नजिक बसेर खासखुस कुरा सकेपछि बुढाहरु शंख फुक्न डाँडामा पुगेका रहेछन् । 

तल्लो अँगेनोमा बिहान हजुरआमा र आमाले आगो सल्काए पनि दिउँसो खाजा खाने र बेलुका खाना पकाउने बेलामा हजुरआमाले हामी केटाकेटीलाई आगो सल्काउन अह्राउनुहुन्थ्यो । 

कुनै दिन त आगो राम्ररी नै बल्थ्यो । कुनै दिन मरिगए नबल्ने । पुतपुत धुवाँ निस्कने, तर दाउरा नसल्कने । फलामको ढुंग्रोबाट फू....फू.....गरेर फुक्दाफुक्दा आँखा रातो भैसक्दा समेत आगो नबल्दा रीस नै उठेर आउने । 

एकदिन बा दूध उमाल्नको लागि आगो फुक्दै हुनुहुन्थ्यो । ढुंग्रोबाट फू...फू...गरेर फुक्दा समेत दाउरा नबलेपछि बाले भित्रबाट मुर्मुरिँदै आएर आँगनको डिलबाट घुईंय ढुँग्रो तलतिर बत्याईदिनुभयो । हजुरआमाले भोलिपल्ट बल्लतल्ल खोजेर ल्याउनुभयो । 

मलेखुमा पसल थापेर बस्ने बा कहिलेकाहीँ घरमा आउँदा ढुँग्रोले जस्तै रेडियो, टर्च लाईटले पनि यस्तै हविगत भोग्नुपर्थ्याे । खाँबोमा झुण्ड्याएको बेला राम्रोसँग नबज्ने रेडियो बाले आँगनमा फालेपछि बज्न थाल्थ्यो ।

कहिलेकाहीँ आगो नबलेर दुःख दिए पनि हाम्रो घरको अँगेनोमा दूध उम्लन छाडेन । तल्लो चुल्होमा मजाले टाङ फाटेर खुट्टामा बिराली परुञ्जेल हामीले आगो तापी नै रह्यौं । हजुरआमाले नदेख्नेगरी आलु र पिँडालु पोलेर मुख कालो हुनेगरी खाइरह्यौं । उम्लेको दूध कुर्ने डिप्टी पर्दा कतिपटक अँगेनामा दूध पोख्यौं, कतिपटक सुटुक्क बटुकामा दूध भरेर पियौं । 

अहिले मोबाइल र फेसबुकमा रमाउन बानी परेपछि घरको अँगेनो पनि हराउन थाल्यो ।

यही चुल्होमा हजुरआमा, आमा र काकीले कतिपटक हात घोटिरहनुभयो । अँगेनोको छेउमा बसेर हामी केटाकेटीले पनि पेन्सिल धसिरह्यौं । हजुरबा र बा हरुले यही अँगेनो छेउमा बसेर खेतीपाती र राजनीतिका काम लाग्ने, नलाग्ने सबै गफ बुन्न भ्याए । यहीँ बसेर कतिले पुराना कुराको स्मरण गरे । कतिले नयाँ कुराको योजना बनाए । 

पहिले हाम्रो घरकोजस्तै यस्तो अँगेनो सबैका घरमा थियो । अँगेनोमा यसैगरी दूध उम्लन्थ्यो, कुँडो पाक्थ्यो । जाडोमा आगो ताप्नेहरुको घेरा लाग्थ्यो । त्यही घेरोमा गाउँठाउँ, देशदुनियाँ, खेतीपाती र राजनीतिका कुरा हुन्थ्यो । सुखदुःख, पीरव्यथा र विचार विमर्शको मन्थन हुन्थ्यो । हजुरबा, हजुरआमाहरुले कथा सुनाउँथे । केटाकेटीले पढाइसँगै कथा र कुरा सुन्थे । आगोको न्यानोसँगै परिवार र छिमेकीको न्यानो जमघटले आत्मीयता बढ्थ्यो ।

यो त उबेलाको कुरा । अहिले मोबाइल र फेसबुकमा रमाउन बानी परेपछि घरको अँगेनो पनि हराउन थाल्यो । अँगेनोका राप, ताप र बातको महत्व पनि घट्न थाल्यो ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया