चीनमा रहस्यमय भाइरसका कारण १ हजार ७ सय भन्दाबढी संक्रमित

 माघ ४, २०७६ शनिबार ९:२१:१० | उज्यालो सहकर्मी
unn.prixa.net

चीनमा देखिएको रहस्यमय भाइरसबाट संक्रमित व्यक्तिको संख्या बढ्दै गएको छ ।

सरकारी अधिकारीहरुले सार्वजनिक गरेको तथ्यांकभन्दा धेरै संक्रमित भेटिएकाे अनुसन्धानकर्ताले बताएका बीबीसीले जनाएको छ । ४१ जनामा नयाँ भाइरस पुष्टि भएपछि बेलायती वैज्ञानिकले भने झण्डै १ हजार ७ सय नागरिक संक्रमित भएको अनुमान गरेका छन् ।

गएको डिसेम्बरमा चीनको वुहान शहरमा देखिएको भाइरसबाट अहिलेसम्म दुई जनाको ज्यान गैसकेको छ । नयाँ भाइरसबाट संक्रमितको संख्या बढ्दै गएपछि चीनले विमानस्थलमा चेकजाँचमा कडाइ गरेको छ ।

यो भाइरस मानिसबाट मानिसमा नसर्ने चिनियाँ अधिकारीले दाबी गरेका छन् । तर वुहानको बन्यजन्तु पाइने बजारमा पुगेको संक्रमित जनावरको सिफुडले यो भाइरस फैलाएको उनीहरुको भनाई छ ।

यो भाइरसको नमुना परीक्षणको लागि प्रयोगशालामा पठाइएको छ । चिनियाँ अधिकारी र विश्व स्वास्थ्य संगठन डब्लुएचओले यो संक्रमण कोरोनाभाइरस भएको निष्कर्ष निकालेका छन् ।

कोरोनाभाइरस रुघाखोकी हुँदै गम्भीर रोग निम्त्याउने भाइरसको ठूलो समूहको एउटा सदस्य रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । यो यसअघि मानवमा पहिचान गरिएको थिएन । तर यो जनावर र मानिसबीच सर्ने भाइरस हो ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया