मधेश आन्दोलनका घाइतेको गुनासो : राहत वितरणमा प्रदेश सरकारले विभेद गर्‍याे

 साउन ६, २०७५ आइतबार १९:३७:२१ | केसी लामिछाने
unn.prixa.net

पर्सा –  प्रदेश नम्बर २ को सरकारले राहत वितरणमा विभेद गरेको भन्दै मधेश आन्दोलनका घाइतेहरुले रोष प्रकट गरेका छन् ।

आइतबार नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा पत्रकार सम्मेलन आयोजना गर्दै मधेस आन्दोलनका दुईजना घाइते उपेन्द्र यादव र नगीना पासवानले वीरगञ्जमा  राहत वितरणमा प्रदेश सरकारले विभेद गरेको आरोप लगाएका हुन् । 

संविधान विरोधी आन्दोलनको क्रममा  २०७२ साल भदौ १५ गते वीरगञ्जमा भएको प्रदर्शनमा प्रहरीले हानेको गोली देब्रे खुट्टामा लागेर अपाङग भएका वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ मनियारीका उपेन्द्र यादव र माघ २० गते वीरगञ्जमै भएको प्रदर्शनमा प्रहरीले चलाएको गोलीको छर्रा टाउकोमा लागेर घाइते भएका वीरगञ्ज महानगरपालिका–२३, प्रसौनीका नगीना पासवानले प्रदेश सरकारले गरेको निर्णय अनुसारको राहत नपाएपछि पत्रकार सम्मेलन गरेरै सरकार प्रति रोष प्रकट गरेका हुन् ।

देब्रे खुट्टामा गोली लागेका यादव अहिले पनि बैशाखीको साहरामा हिँड्डुल गर्नुहुन्छ ।  टाउको भित्र रहेको गोलीको छर्रा उपचारको अभावमा निकाल्न नसकेका पासवानले आफूलाई प्रदेश सरकाले पनि विभेद गरेको बताउनुहुन्छ ।

प्रदेश सरकारले मधेस आन्दोलनका घाइतेहरुलाई उनीहरुको अवस्था हेरेर अधिकतम तीन लाख रुपैयाँसम्म राहत दिने निर्णय गरको थियो । त्यहीँ निर्णय अनुसार पहिलो साता मुख्यमन्त्री लालबाबु राउतले पर्साका दुई जना घाइते मुन्सी पटेल र पन्नालाल यादवलाई जनही तीन÷ तीन लाख रुपैयाँ राहत  वितरण गरिसक्नुभएको छ ।

यादवलाई पनि राहत स्वरुप मुख्यमन्त्री राउतले आफ्नै घरमा बोलाएर एक लाख रुपैयाँ दिनुभएको थियो तर यादवले आफ्नो अपमान गरेको भन्दै त्यो रकम लिन मान्नुभएन् ।  ‘मैले तीन लाख किन नपाउने भनेर प्रश्न गरे’, उहाँले भन्नुभयो, ‘तिमीलाई एक लाख मात्र दिन सकिन्छ भनेपछि मैले एक लाखको चेक फिर्ता गरिदिए ।’ बैशाखीको भरामा हिँडडुल गर्ने यादवले मजदूरी गर्न सक्नुहुन्न । अन्य कुनै सीप छैन । आफूले ऋण लिएर बालबच्चा र परिवार पालिरहेको उहाँले बताउनुभयो । उपचारमा १५ लाख रुपैयाँ खर्च भएको र त्यो उपचार खर्च पनि आफूले अहिलेसम्म नपाएको उहाँको गुनासो छ ।

पासवानले पनि राहतका नाममा अहिलेसम्म केही नपाएको गुनासो गर्नुभयो ।  पहिला मधेस आन्दोलनका क्रमममा टाउँकोमा गोलीको छर्रा लागेर घाइते भएका पासवानले उपचारका अभावमा अहिलेसम्म पनि गोलीको छर्रा आफ्नो टाउँकोबाट निकाल्न नपाएको बताउनुभयो ।

टाउकोमा गोलीको छर्रा रहेका कारण सधैजसो बिरामी परिरहने पासवानले आफ्ना बालबच्चालाई निजी स्कुलबाट निकालेर सरकारी स्कुलमा भर्ना गर्नु परेको गुनासो गर्नुभयो ।

अन्तिम अपडेट: चैत १६, २०८०

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया