दुःख बिर्साउने कालिञ्चोक : बाटोभरि ‘गाइच’, ‘ब्रो’ र हिउँको 'शो'

 माघ ७, २०७६ मंगलबार १३:३७:२ | मिलन तिमिल्सिना
unn.prixa.net

‘हिउँ पर्‍याे ...’ राजु लामाको गीत सुन्दा मनमा लाग्थ्यो, त्यो फुरुरु हिउँ परिरहेको दृश्य प्रत्यक्ष अनुभव गर्न पाउँदा कस्तो होला ?  गीतमा भनिएजस्तै साँच्चै हिउँ कपास झरेझैँ फुरुरु झर्छ होला ? 

हिउँको बारेमा थाहा त भएको तर प्रत्यक्ष देख्न र भोग्न नपाएको मैले यसपालि धित मरुञ्जेल फुरुरु हिउँ परेको अनुभव गर्न पाएँ । हिउँसँग जोडिएका नयाँ,  नौला, चाखलाग्दा र घतलाग्दा कुरा देख्ने र भोग्ने अवसर पनि मिल्यो । 

शुक्रबार दिनभर हिउँ पर्‍याे । भोलिपल्ट छ्याङ्ग आकाश खुल्यो । अघिल्लो दिन हिउँमा भिजेको, भोलिपल्ट चारैतिर त्यही हिउँ देखेर दङ्ग परेको । जिन्दगीमा पहिलो पटक हिउँसँग अद्भुत साइनो गाँसियो ।

दुई दिनसम्म हिउँमा हिँड्दा थाहा भयो, हिउँमा मनले शान्ति र शरीरले सास्ती पाउँदो रहेछ । अनि सधैँ हिउँमा बस्नेहरुलाई दुःख र हैरानीसँगै त्यही हिउँले आम्दानीको बाटो पनि देखाउँदो रहेछ ।

मनलाई शान्ति, शरीरलाई सास्ती

शुक्रबार चरिकोटबाट कालिञ्चोक निस्कने बेला पानी पर्‍याे । ढलान भन्ने ठाउँ पुगेपछि हिउँसँग साक्षात्कार गर्न पाइयो । साँच्चै राजु लामाको गीतमा भनिएजस्तै हिउँ त फुरुरु नै झर्ने रहेछ । वरपरका वनपाखा पूरै सेताम्य । रुखको पातमा अडिएर बसेका हिउँ हावा चल्ने बित्तिकै असिना परेझैँ बर्सँदो रहेछ । अघिसम्म पानीमा भिजेर दिक्क लागेको मन हिउँ देखेपछि त्यसै त्यसै फुरुङ्ग हुन थाल्यो ।

फुरुरु परेको हिउँमा उभिएपछि पानीमा भिज्दा जस्तो दिक्क नलाग्ने रहेछ । रमाइलो पो हुने रहेछ । जति जति माथि उक्लियो, उति उति हिउँ । उति उति रमाइलो । हिउँमा चिप्लनु, पल्टनु, दौडनु, उफ्रनु, हिउँको डल्ला समातेर हुत्याउनु, भुइँमा त्यही हिउँ डल्ला पार्नु, मन परेको मान्छेका नाम लेख्नु, सेल्फी खिच्नुमा उत्तिकै मज्जा । ‘यसो गर’ भनेर कसैले सिकाउन नपर्ने, हिउँ देखे र टेकेपछि भित्रैबाट सबै थोक गर्न आउने । 

बाटोभरि हिउँ खेल्नेहरुको रमाइलो । त्यही रमाइलोमा भेटिए आबुखैरेनीका विष्णु श्रेष्ठ र उहाँकी श्रीमती बिनु । उनीहरु बालबच्चासहित भीमेश्वर मन्दिर दर्शन गर्न पुगेका रहेछन् । तर हिउँ परेको छ भन्ने थाहा पाएपछि हिउँ हेर्न चरिकोटबाट उकालो लागेका । एक घण्टा उकालो हिँडेपछि उनीहरुले हिउँ भेटे । ‘जिन्दगीमा पहिलो पटक हिउँ खेलेको, यति रमाइलो हुने रहेछ भन्ने कुरा बयान गरेर साध्य छैन’ उनीहरुले एकै स्वरमा भने ।

तर रमाइलोसँगै सास्ती पनि उस्तै । हिउँ नपरेको अघिल्लो दिन गाडी र मोटरसाइकल लिएर जानेको बाटोमा बिजोग देखियो । हिउँ परेपछि बाटो चिप्लो भयो । गाडी गुड्न सकेन । कोही मोटरसाइकल घिसार्दै गरेका, कोही चाहिँ हिउँले पुर्नै लागेको मोटरसाइकल हेरेर झोक्राइ रहेका । कोही कोही चाहिँ हिँड्न नसकेर खोच्याइ रहेका ।

‘एकछिन त रमाइलै हो तर धेरै भएपछि गाह्रो हुँदो रहेछ’ जुत्ता हातमा बोकेर खोच्याउँदै हिँडेकी एक बहिनीले भनिन् । गाडी र मोटरसाइकल लिएर जाने, अनि हिँड्न नसक्नेहरुलाई हिउँले मज्जासँगै सास्ती पनि थप्दो रहेछ । त्यसमाथि सधैँ हिउँमा बस्नेहरुलाई त झन् कस्तो होला ? 

कुरी बजारमा होटल चलाएर बसेका शङ्करबहादुर तामाङलाई सोधेँ । भित्र आगो तापेर बसिरहनु भएका उहाँले भन्नुभयो, ‘गाउँमा सास्ती, हामी व्यवसायीलाई चाहिँ रमाइलै हुन्छ । हिउँ खेल्न आउनेहरुकै कारण हाम्रो व्यापार बढ्छ नि ।’ हिउँ परेपछि बालीनाली पनि सप्रने भएकाले सास्ती नै भए पनि गाउँमा पनि हिउँले फाइदा पुर्‍याउने उहाँले बताउनु भयो ।

सधैँ हिउँमा बस्नेहरुलाई हिउँले फाइदा पनि गरेको छ, सास्ती पनि दिएको छ । हामी कहिलेकाहीँ हिउँ देखेर रमाउनेहरुका लागि पनि यस्तै लाग्ने । रहरले केही बेर हिउँमा उफ्रँदा रमाइलो तर त्यही हिउँमा बाध्यताले हिँड्नुपर्दा दुःख र सास्ती । मनलाई शान्ति, शरीरलाई सास्ती ।

‘सही हो’, ‘हेलो गाइच’, ‘हामी त यस्तै हो नि ब्रो’

रमाइलो र रमझममा ठिटाठिटीलाई कसले जित्न सक्छ र ? हिउँ खेल्नेहरुको जमातमा पनि ठिटाठिटीकै हालीमुहाली थियो ।

‘पर्ख न यार गाइच’ हिउँ खेल्दाखेल्दै थाकेर हिँड्न नसक्नेहरु अघिल्तिर लागेका साथीलाई बोलाउँथे । अनि घुँडाघुँडा आउने हिउँ कुल्चँदै माथिबाट सलल बग्दै आएकी ठिटीलाई जिस्क्याउँदै अर्कोले भन्थ्यो, ‘यो स्टायल चाहिँ सही हो क्या, सही हो ।’

सेल्फी खिचेरहेकी ठिटीलाई सँगै रहेको ठिटो भन्थ्यो, ‘हैन ए गाइच कति खिच्चौ सेल्फी ।’ मस्किँदै ठिटी भन्थी, ‘हामी त यस्तै त हो नि ब्रो ।’

हिउँको रमाइलो हेर्दै हिँड्दा ठिटाठिटीहरुले बोल्ने प्रचलित थेगो कण्ठस्थ भयो । थाहा भयो कि हिजोआज प्रायः सबै ठिटाठिटीहरुको मुखमा तीन वटा थेगो

झुण्डिएकै हुँदो रहेछ– ‘हेलो गाइच’, ‘सही हो सही हो’, ‘हामी त यस्तै त हो नि ब्रो ।’

गाडीको पाङ्ग्रामा फलामे साङलो 

हिउँ परेको बाटोमा गाडी गुडाउन मुश्किल । हिउँ नपर्दै माथि पुगेका जीप र मोटरसाइकल बाटोमै अलपत्र । तर त्यहाँ गाडी चलाएर कमाइ गर्न पल्किएका व्यवसायीलाई भने जति हिउँ परे पनि फरक नपर्ने रहेछ । 

हिउँमा नचिप्लियोस् भनेर गाडीको पछिल्तिरको दुई वटा पाङ्ग्रामा फलामे साङ्लोले बेरेको हुने रहेछ । अनि जति चिप्लोमा पनि फलामे साङ्लोले पाङ्ग्रोलाई चिप्लिनबाट रोक्ने रहेछ । ‘चान्स पायो भने नेपालीले गर्छ भन्थे हो रहेछ’ गाडी गुडाउने नौलो शैली पहिलो पटक देख्नेहरु भन्दै थिए ।

तर बेलाबेला फलामे साङ्लो चुँडिएर धोका दिने रहेछ । गुडिरहेको गाडी हिउँमा चिप्लिएर छेउकुनातिर पनि पुग्दो रहेछ । त्यसैले हिउँ परेको बेला गाडी गुडाउँदा चालक र सहचालक बाटो हिँड्नेहरुलाई अलि परबाटै चिच्याउँदा रहेछन् – कुनातिर जानुस् है कुनातिर, गाडी आयो ।

हिउँ पकाएर पानी

बाटोघाटो, आँगन, पिँढी, छाना जताततै सेताम्य । यता फर्के पनि हिउँ, उता फर्के पनि हिउँ । हिमपात हुन थालेपछि धाराबाट आउने पानी पनि जमेर हिउँ नै हुँदो रहेछ । आकाशबाट परेको हिउँ र धाराकै पानी जमेर बनेको हिउँले पानीको काम नगर्ने । हातमुख धुन, खाना पकाउन, शौचालयमा प्रयोग गर्न त पानी नै चाहिन्छ । त्यसैले हिउँ धेरै परेपछि ती ठाउँका मान्छेले डेक्चीमा हिउँको डल्ला पकाएर पानी निकाल्दा रहेछन् ।

होटलमा अँगेनोमाथि डेक्चीभरि हिउँ पकाइरहेका मणिराज बोहोराले भन्नुभयो, ‘तपाईंहरुले गाउँमा यसरी कुँडो पकाउनु हुन्थ्यो, हामी चाहिँ हिउँ पकाउँछौँ ।’

हिउँमै आम्दानी

हिउँमा रमाइलो र सास्ती भोग्नेहरु मात्र होइन, हिउँमै पैसा फलाउनेहरुसँग पनि भेट भयो । कालिञ्चोकको मन्दिर नजिकै ३८ सय मिटरको उचाइमा बसेर फूलपाती बेच्ने मिमा दोर्जे पाख्रिनले हिउँमै पैसा फलाउनु भएको छ । सोधीखोजी गर्दा थाहा भयो, उहाँ ९ वर्षदेखि यही ठाउँमा बसेर जडीबुटी र फूलपाती बेच्दै आउनु भएको रहेछ । यही काम गरेर उहाँले झण्डै २० लाख रुपैयाँ कमाइसक्नु भएको छ । 

‘कुरीमा एउटा घर बनाएँ, त्यही घरमा होटल चलाएको छु, छोराहरुले होटल चलाउँछन् हामी श्रीमान्, श्रीमती चाहिँ माथि डाँडामा फूलपाती र जडीबुटी बेच्छौँ’ पाख्रिनले भन्नुभयो । उहाँको अनुहारमा चमक देख्दा मेरो मन पनि प्रफुल्ल भयो । 

उहाँकै छेउमा छुर्पी बेच्ने ६२ वर्षीया कान्छी तामाङसँग पनि कुरा भयो । ‘बडाबडी (बुढाबुढी) भइयो, खेतीपाती गर्न सकिँदैन, अनि यही छुर्पी बेचेर रोजीरोटी चलाउँछौँ’ आमैले सन्तुष्टिको भावमा भन्नुभयो ।

गोरखा आरुघाटका सुपेन्द्र गुरुङ पनि कालिञ्चोकको डाँडामै बसेर व्यवसाय गर्नुहुन्छ । उहाँको व्यवसाय चाहिँ अलि छुट्टै छ । दर्शन गर्न जानेहरुको फोटो खिचेर उतिखेरै तयार पार्ने र बेच्ने । ‘नेपालमा डाँडाकाँडा, पाखापखेरा, ढुँगा माटो, हिउँ जताततै पैसा छ, मैले चाहिँ यहाँ फेला पारेँ’ एल्बम तयार पार्दै गरेका सुपेन्द्रले भन्नुभयो, ‘पैसा कमाउन विदेश जानु पर्दैन, मैले यहीँ बसेर दिनमा १०÷१२ हजार रुपैयाँ कमाउँछु, तर मेहनत चाहिँ गर्नुपर्छ ।’

दुःख बिर्साउने थुम्को 

नाम चाहिँ कालिञ्चोक । तर चोकमा हैन, डाँडाको टुप्पोमा रहेछ भगवतीको मन्दिर । कुरी बजारबाट एक घण्टा ठाडो उकालो लाग्नुपर्ने । केबलकार त छ, तर मान्छे धेरै भएको दिन चढ्नै मुश्किल । जम्मा चार वटा डिब्बा । लाइनमा पर्खेर केबलकार चढ्नभन्दा हिँड्न छिटो हुने । त्यसमाथि केबलकारबाट ओर्लेर पनि झण्डै ५० मिटर उकालो हिँड्नुपर्छ । बुढाबुढी र अशक्तलाई निकै गाह्रो । अप्ठ्यारो र साँघुरो बाटो । हिउँ परेपछि त झन् चिप्लो हुने । चिसोले सिँढीको डण्डी समाउन नसकिने । नसमातिकन हिँड्दा चिप्लेर लडिने । 

तर डाँडाको थुम्कोमा पुगेपछि यी सबै अप्ठ्यारा र हैरानी बिर्सँदा रहेछौँ । वरपर गौरीशङ्कर, लाङटाङ, जुगल लगायतका हिमश्रृङ्खलाको मनमोहक दृश्य ।

सेताम्य डाँडापाखा । सिपालु कुचीकारले मेहनत गरेर बनाएको कलाजस्तै । जति हेरे पनि धित नमर्ने सुन्दरता । जति व्याख्या गरे पनि नसकिने कालिञ्चोकको कहानी । 

अन्तिम अपडेट: असार १३, २०७७

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया