विश्वाससँग जोडिएको छ छाउगोठ, भत्काउनुभन्दा पहिले जनचेतना आवश्यक

 माघ ८, २०७६ बुधबार १४:२:२५ | करुणा कुँवर
unn.prixa.net

महिनावारी भएको बेला सुदूरपश्चिम र कर्णाली प्रदेशका महिला गोठमा बस्छन् । यतिमात्रै हैन, उनीहरुले दूध–दही खान हुँदैन, गाईलाई छुन हुँदैन भन्ने चलन छ । तरकारी, फलफूल लगाएको बारीमा जाँदा समेत बोट नै सुक्छ भन्दै बारीमा जान पनि बन्देज लगाइन्छ । 

छाउ भएको बेला घरमै बस्दा सबैलाई छुँदा देवता रिसाउँछन्, घरमा अनिष्ट हुन्छ भन्ने अन्धविश्वास त्यहाँका नागरिकमा छ । छाउगोठमा बस्ने चलन अहिलेको हैन, यो महिनावारीसँग जोडिएको पुरानो विश्वास हो । यो पुस्तौँ पुस्तादेखि चल्दै र मान्दै आएको चलन हो । यो अदृश्य शक्तिमा अडिएको छ । 

जसले गर्दा महिलाले शारीरिक र मानसिक समस्या भोगिरहेका छन् ।  छाउ हुनु प्राकृतिक नियम हो । यदि महिनावारी नै हुने हैन भने यसले महिलालाई झनै मानसिक यातना दिन्छ । महिनामा एक पटक त देवीहरु पनि महिनावारी हुन्छन् । यो बेलामा झन् हामीले उत्सव पो मनाउनु पर्ने हो ।

सरकारको निर्देशनअनुसार अहिले धमाधम छाउपडी गोठ भत्काउने अभियान चलिरहेको छ । लगभग ६ हजार जति छाउगोठ भत्काइ सकिएका छन् । गोठमा बस्न हुँदैन भनिए पनि एक्कासी गएर गोठ भत्काउँदा भने यसको असर महिलालाई परिरहेको छ । 

मानसिक असर 

छाउगोठ भत्काउनै पर्छ । गोठमा बस्नै हुँदैन । तर धमाधम गोठ भत्काउँदा यसको मानसिक असर त्यहाँका महिलाले भोग्नुपरेको छ । मैले गर्दा परिवारमा केही अनिष्ट नै हुन्छ कि भन्ने एक किसिमको डर सिर्जना भएको छ । परम्परादेखि यही गोठमा बस्दै आइरहेका महिलाको लागि गोठमा बस्नु सामान्य जस्तै लाग्छ ।

हामीले जति सुन्ने गरेका छौँ– सर्पले डस्यो, निसास्सिएर मर्‍यो भन्ने यो उनीहरुका लागि कहिलेकाहीँ त हो भन्ने जस्तै लाग्छ । त्योभन्दा ठूलो विश्वास के हुन्छ भने मेरो परिवारमा कतै केही भइहाल्ने पो हो कि भन्ने खालको विश्वास जिउँदै छ । यस्तो अवस्थामा एक्कासी गएर गोठ भत्काउँदैमा उनीहरुको विश्वास भत्किँदैन । 

गोठ भत्काइएपछि धेरै व्यक्तिलाई विश्वास टुटेको र अब अनिष्ट नै हुन्छ भन्ने मानसिक समस्या देखा परेको छ । अहिले सुदूरपश्चिमका केही ठाउँका महिलाहरुमा मानसिक तनाव भएर, छटपटिएर, बेहोसी भएर, देवता आयो भन्दै काँप्ने जस्ता कुरा सुन्नमा आएको छ । यसको अर्थ के हो भने उनीहरुको जुन विश्वास छ, त्यो विश्वासमाथि अरु कसैले ठेस पुर्‍याएको महसुस भइरहेको छ । 

यो तनाव भइरहँदा कसरी यसको सामना गर्ने भन्ने उनीहरुले बुझेकै छैनन् । गोठ भत्काइएकोमा उनीहरुलाई निद्रा नलागेको होला, खान मन नलागेको होला, गाउँघरमा यही कुराको चर्चा भइरहेको छ होला । गोठ भत्काइनु पर्छ भन्ने मान्यता सबैको होला । तर त्यहाँका नागरिकमा गोठ भत्काइनु पर्छ भन्ने खालको बुझाइ आउन पनि उत्तिकै जरुरी छ । 

कुनै घरका महिला घरभित्रै बसिरहेका छन् भने अरु घरमा पनि बिस्तारै यसको सिकाइ अवश्य हुन्छ । तर अहिलेको अवस्थामै गोठ धमाधम भत्काउँदैमा सबै समस्या समाधान हुन्छ भन्ने हैन । यसले मानसिक तनाव भएर झनै मानसिक समस्याको लक्षण देखा परेको छ । यो  विश्वास  अदृश्य शक्तिसँग जोडिएको छ । हत्तपत्त लतार्न सक्दैनन् । 

गोठ भत्काइएको ठाउँमा कस्तो अध्ययन हुँदैछ ?

गोठ भत्काउने अभियान जारी छ । कतिपय ठाउँमा भत्काइ सकिए । तर त्यो भत्काइएका ठाउँमा महिलाले के गरिरहेका छन् ? छाउ भएका महिला कसरी बसिरहेका छन् भन्ने कुरा हेरियो त ? घरभित्रै बस्ने कुरा महिला अथवा परिवारले स्वीकारेको छ त ? भन्ने कुरामा अहिले कसैले ध्यान दिएको पाइँदैन । 

कतिपय ठाउँमा तैँले गर्दा यस्तो भयो भन्दै महिलालाई नै दोषी बनाइएको छ होला । अहिले गोठ भत्काइएका महिला कहाँ बस्छन् त ? घरमा बस्ने ठाउँ छ त ? यो अध्ययन हुन जरुरी छ । 

घरभित्र बस्न सक्ने मात्रै हो कि चुलोचौको सबै छुनैपर्ने हो कि ? यसको लागि परिवारले के गर्न सक्छ भन्ने छलफल नै नगरि गोठ भत्काउँदा महिला तनावमा परेका छन् । 

गोठ त भत्काइयो । स्वास्थ्य स्थिति कस्तो छ ? मानसिक स्थिति कस्तो छ भन्ने कुराको त चर्चा गरिएको छैन । यस्तो अवस्थामा दुःख भोग्नुपर्ने फेरि महिलाले नै हो ।  

यसले गर्दा पनि महिलाले हिंसामाथि हिंसा भोग्नुपरेको छ । हो यहीँबाट सुरु हुन्छ मानसिक तनाव । बाहिर छोडेर एक्कासीभित्र पस्दा उनीहरु आफैले असहज महसुस गरेका हुन्छन् । यहाँ एक्कासी गोठ भत्काउँदा उनीहरुमा आफ्नो बासस्थान गुमेको जस्तो महसुस भइरहेको हुन सक्छ । यसकारण पनि महिलाहरुलाई तनाव भएको हुन सक्छ । 

अब हामीले के बुझ्न आवश्यक छ भने सबैभन्दा पहिले जनचेतनामूलक कार्यक्रम दिनुपर्छ । उहाँहरुलाई गोठ भत्काउने समय दिन सकिन्छ । यसको जिम्मेवार भनेको अबको पालिका सरकार हो । पालिकाले नै सुरुवात गर्दा राम्रो हुन्छ ।

यसको एउटा रामो उदाहरण हो खुला दिशामुक्तको । पहिले चर्पी बनाउन पनि वर्षौँ लाग्यो । चर्पी बनाउन नसक्नेको चर्पी बनाइदिँदा पनि दाउरा राख्ने गरियो । अहिले त सबैले प्रयोग गरेका छन् नि त । 

हो यस्तै छाउपडी कुप्रथा हो । छाउपडी गोठमा बसेको देख्दा कारबाही त हुने भयो । तर ती महिला बस्ने घर छ कि छैन भन्ने बारे पनि हेरविचार हुनुप¥यो । गाउँघरमा धेरैको घर नै गोठ जत्रो हुन्छ । गोठ भत्किँदैमा विश्वास भत्किँदैन । रातारात विश्वास परिवर्तन हुन्छ भन्नु मूर्खता हो । उहाँहरुको विश्वासलाई आत्मसात गर्दै अघि बढ्यो भने पक्कै सफल भइन्छ ।

जनचेतनासँगै पालिकाको भूमिका महत्वपूर्ण

छाउ भनेको प्राकृतिक नियम हो । छाउ भएको बेला अछुतो भइँदैन । छाउ भएको बेला गोठमा बस्दा झनै जोखिम हुन्छ भन्ने मात्रै बुझाउन सक्यो भने बिस्तारै परिवर्तन हुन्छ होला । 

किन छाउगोठ भत्काइँदै छ, यसले के असर पारेको छ भन्ने चेतना परिवार परिवारमा बुझाउनु पर्ने देखिन्छ । यसरी दबाब सिर्जना गरेर गोठ भत्काउँदा झनै समस्या सिर्जना हुन सक्छ । यसले समाजमै झगडा, एक अर्काबीच मनमुटावको वातावरण बनाइदिन्छ ।

हाम्रो संस्कृति र समाजको कुरा हेर्ने हो भने परिवारमा को शक्तिमा छ ? बा, हजुरबा, दाइ र कतिपय ठाउँमा आमा हजुरआमा छन् । उनीहरुमा चेतना आवश्यक छ । एक घरमा मात्रै यो परिर्वतन गर्न सक्यो भने बिस्तारै समाजका अरु मान्छे परिवर्तन हुन्छन् । 

यस्ता विश्वास तोड्न केही समय लाग्छ । हामीले मान्दै आएका हरेक चलनको केही न केहीको विश्वास हुन्छ । अरुले आएर तोड भन्नेबित्तिकै तोड्न सक्दैनौँ । उनीहरुको विश्वासलाई सम्मान गर्दै कसरी यो विषयमा काम गर्ने भन्ने सोच्न आवश्यक छ । सोच परिवर्तन गर्न निकै काम गर्नुपर्छ । यो निकै चुनौतीपूर्ण छ । यो निकै गाह्रो छ । यसका लागि धेरै काम गर्नुपर्छ ।

यो कुप्रथाका बारेमा बालबालिकाकै शिक्षा प्राणालीमा यसबारे समावेश गर्नुपर्छ । पाठ्यक्रममा समावेश गरेर मात्रै हुँदैन, पढाइनु पर्छ । बाल क्लब, नेता, धर्मगुरु, पुजारी जसले समाजलाई मान्छ, उसले धेरै जनालाई परिवर्तन गर्न सक्छ । परिवारभित्रको व्यक्तिले जिम्मा लियो भने परिर्वतन हुन्छ । सबैको विश्वासिला पात्रलाई लिएर अन्तक्रिया, छलफल चलायो भने यो बिस्तारै हट्दै जान्छ ।

छाउगोठमा बस्दा कस्तो समस्या हुन्छ भन्नेबारे स्वास्थ्यका कुरा गर्न आवश्यक छ ।  सकेसम्म त जसले छाउगोठमै बसेर श्रीमती, छोरी, बुहारी गुमाएका छन्, उनीहरुलाई लगेर जनचेतना जगाउँदा प्रभावकारी हुन्छ । किनभने उनीहरुले आफूले भोगेका कुरा अरुलाई सुनाउँदा विश्वास हट्दै जान्छ ।  

(मनोविद कुँवरसँगको कुराकानीमा आधारित)

अन्तिम अपडेट: चैत ४, २०८०

करुणा कुँवर

कुँवर मनाेविद् हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया