सातै प्रदेशमा राष्ट्रिय सभा चुनावकाे मतदान हुँदै, परिणाम आजै सार्वजनिक हुने

 माघ ९, २०७६ बिहिबार १२:३६:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - राष्ट्रिय सभाको रिक्त हुन लागेको १८ सदस्यका लागि अहिले मतदान भइरहेको छ । बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ४ बजेसम्म हुने छ । 

देशका सातै वटा प्रदेशमा मतदान शान्तिपूर्ण रुपमा भइरहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार हरेक प्रदेशमा तोकिएको मतदान स्थलमा मतदान भइरहेको हो ।  

प्रदेश १ मा विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, प्रदेश २ मा जनकपुर उपमहानगरपालिकाको महेन्द्र नारायणनिधि स्मृति भवन, वाग्मती प्रदेशको ललितपुर महानगरपालिका वडा नम्बर ४ को वडा समितिको भवन, गण्डकी प्रदेशको जिल्ला निर्वाचन कार्यालय कास्की परिसरमा मतदान भइरहेको छ । 

यस्तै प्रदेश ५ को घोराही उपमहानगरपालिकाको कर्मचारी मिलन केन्द्रको भवन, कर्णाली प्रदेशको जिल्ला निर्वाचन कार्यालय सुर्खेत परिसर र सुदूरपश्चिम प्रदेशको सिलगढी नगरपालिकाको पद्म पब्लिक मुक्ति नारायण उच्च माध्यमिक विद्यालयमा मतदान भइरहेको आयोगले जनाएको छ ।

मतदान गर्दै वागमती प्रदेशका मुख्यमन्त्री डाेरमणि पाैडेल

सात प्रदेशमा पाँच सय ५० जना प्रदेश सदस्य र एक हजार पाँच सय ६ जना पालिकाका पदाधिकारीको नाम मतदाता सूचीमा छ । मतदान भएको केही घण्टामा नै मतपरिणाम सार्वजनिक गरिने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताउनु भयो ।  

राष्ट्रिय सभाको कुल ५९ सदस्यमध्ये एक तिहाई अर्थात् १९ जना यही फागुन २० गते दुई वर्षे कार्यकाल सकेर बाहिरिन लागेका हुन् । जसमध्ये १८ जना चुनावमार्फत छानिने छन् भने एक जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछन् । 

राष्ट्रिय सभामा सात वटै प्रदेशबाट मतभारका आधारमा सदस्य छानिने व्यवस्था छ । जसअनुरुप अहिले प्रदेश १ बाट तीन जना, प्रदेश २ बाट चार जना, प्रदेश ३ बाट दुई जना, गण्डकी प्रदेशबाट दुई जना, प्रदेश ५ बाट तीन जना, कर्णाली प्रदेशबाट दुई जना र सुदूरपश्चिम प्रदेशबाट दुई जना गरी कुल १८ जना चुनावमार्फत छानिने छन् ।   

राष्ट्रिय सभा चुनावमा प्रदेशसभा सदस्य, नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले मतदान गर्न पाउने छन् ।  

मतदान गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ

१८ सदस्यका लागि भएको चुनावमा ६ दलका ४५ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

काे काे बाहिरिँदै ?

दुई वर्षे कार्यकाल सकिनेमा अर्थमन्त्री डा. युवराज खतिवडासहित नेकपाका ९, काङ्ग्रेसका सात, राजपाका दुई र समाजवादी पार्टीका एक जना सदस्य छन् । 

बिदा हुनेहरुमा नेकपातर्फका अर्थमन्त्री खतिवडासहित, बलरामप्रसाद बास्कोटा, कालीबहादुर मल्ल, हरिचरण शिवाकोटी, युटोल तामाङ, कमलाकुमारी ओली, खेमराज नेपाली, मिना बुढा र राजकुमार कुँवर छन् । 

त्यसैगरी नेपाली काङ्ग्रेसका मुख्य सचेतकसमेत रहनु भएका सुरेन्द्रराज पाण्डे, सरिता प्रसाईँ, बद्रीप्रसाद पाण्डे, मुक्ताकुमारी यादव, धनकुमारी खतिवडा, विन्दादेवी आले (राना) र दुर्गाप्रसाद उपाध्यायको पनि कार्यकाल सकिँदैछ ।

त्यस्तै राजपाका वृषेशचन्द्र लाल र रमेशप्रसाद यावद तथा समाजवादी पार्टीका रामप्रीत पासवान राष्ट्रिय सभाबाट बिदा हुँदै हुनुहुन्छ ।  

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया