बिरामी बाेक्ने एम्बुलेन्सभित्र ३० किलाे गाँजा, तीन जना पक्राउ

 माघ १२, २०७६ आइतबार १२:४२:११ | उज्यालो सहकर्मी
unn.prixa.net

हेटौँडा – पछिल्लाे समय मकवानपुरबाट भारततर्फ लागुऔषध निकासी हुने क्रम बढेको छ ।

त्यसमा पनि भारतीय नम्बर प्लेटका सवारीसाधनमा बढी ओसारपसार हुने गरेको छ । तर तराईका जिल्लाका एम्बुलेन्समा समेत गाँजा ओसारपसार गरिएको पाइएको छ । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरले गाँजा लैजाँदै गरेको एम्बुलेन्स नियन्त्रणमा लिएपछि यस्तो जानकारी बाहिर आएको हो । प्रहरीले एम्बुलेन्समा गाँजा लैजाँदै गरेका तीन जनालाई शनिबार साँझ पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा एम्बुलेन्स चालक रौतहटको डुमरिया नगरपालिका ९ का ३९ वर्षीय महमद खलिद, डुमरिया ४ का १९ वर्षीय अशोक कुमार र भारत बिहार मोतिहारी वसन्तपुरका २२ वर्षीय विनोद सहनी रहेका छन् ।

सूचनाको आधारमा मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको डुमरिया स्वास्थ्य चौकीको बा २ झ १७४९ नम्बरको एम्बुलेन्स नेवारपानीमा जाँच गर्दा तीन वटा झोलामा ६ वटा पोका बनाएर लुकाइ राखेको ३० किलो ६ सय ग्राम गाँजा बरामद भएको हाे ।

उनीहरुकाे साथबाट ९१ हजार नेपाली रुपैयाँ र दुई हजार दुई सय भारतीय रुपैयाँ पनि बरामद गरिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) सुशिलसिंह राठौरले जानकारी दिनुभयाे ।

उनीहरुलाई लागुऔषध नियन्त्रण ऐनअन्तर्गत कारबाही अघि बढाइने भएको छ । ऐनअनुसार दुई वर्षदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि १ लाख रुपैयाँ जरिबाना तथा सवारीसाधन जफत हुने कानुनी प्रावधान छ । 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया