पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
जुम्ला - एक त नानु (सानो), गरी खानु, उही पनि रहेन ।
मेरो जस्तो घटी कर्म कसैको भएन ।
यो विरहको गीत सिञ्जा कनकासन्दरी गाउँपालिका-७, देयारपाटाका ८० वर्षीय झुपलाल उपाध्यायको हो । वि.सं २०४३ सालमा सिञ्जाको कनकासुन्दरी गाउँपालिका देयरपाटा गाउँमा सुनका अशर्फी पाएको घटना सम्झिँदै उहाँ टोलाउनु हुन्छ ।
देयरपाटा, जुम्लाका ८० वर्षीय झुपलाल भन्ने नन्दलाल उपाध्याय आफ्नो बारीमा पाइएका सुनका अशर्फी सम्झिँदै भक्कानिनुहुन्छ । आजसम्म पनि आफ्ना सुनका अशर्फी (सिक्का) फिर्ता नभएकोमा उहाँ आक्रोश पाेख्नुहुन्छ ।
वरिपरिका धेरैले षडयन्त्र गरेका कारण आफ्नो बारीको सम्पति गुमेको उहाँकाे गुनासाे छ ।
उहाँका अनुसार देयरपाटा गाउँको झावटी नामको गडा (गह्रा)मा जोत्दै गर्दा २०४३ साल पुसमा चाँदीका बाला र सुनका पाइएको थियाे । तत्कालीन प्रहरी प्रशासनले खानतलासी गरेर सबै सुन पनि जफत गरेकाे र आफूलाई उल्टै जेल पनि हालेको पीडा उहाँले बिर्सनुभएकाे छैन ।
यस्ताे थियाे घटना : हलो अडकिँदा सुन राखेको गाग्री निस्क्यो
‘भाइ धनलाल उपाध्याय र हली (गह्रा जोत्ने) जोखे कार्की गाउँदेखि झण्डै दुई घण्टा टाढा रहेको झावटी गह्रामा जोत्न गएका थिए । हलो जोत्दै गर्दा अड्कियो । केही छिनमा सुनका सिक्काको लाइन लाग्यो । खाेतलेर हेर्दा तामाको हुड्काे (गाग्री) भेटियो । त्यसभित्र सुनका सिक्का रहेछन्’, भाइ धनलाल र हली जोखेको भनाइ उद्धृत गर्दै धनलालले बताउनुभयो ।
एक कान, दुई कान गर्दै गाउँमा हल्ला भयो र स्थानीय प्रशासनकहाँ पुगेको उहाँले भन्नुभयो ।
भाइ र हली दुवैले पाएको सुन गाउँका नायक/मुखियाहरुले केही भाग आफूलाई दिन नन्दलाललाई आग्रह गरेका थिए । माग्नेहरुलाई आफ्नै गह्रामा पाएको सुन उनले दिन इन्कार गरेपछि गाउँकै उनीहरुले सुन, हार, हिरा, माला, मुकुट, मूर्ति पाएको भन्दै आफूहरुविरुद्ध प्रशासनमा उजुरी हालेको नन्दलालको गुनासाे छ ।
मुद्दा हालेपछि सुरुमा आफूसहित भाइ धनलाल, बुहारी देवीकन्याका साथै हली जोखे कार्की पक्राउ परेको उहाँकाे भनाइ छ । त्यपछि जार शाही, देवी सिंह, गोरखबहादुर, धनबहादुर कार्कीलगायतकाअगुवाहरु समेत पक्राउ परेका र प्रशासनले ती चारै जनालाई दुई-चार दिन राखेर छाडेकाे तर आफूहरुले वर्ष दिनसम्म कष्ट काटेको दुख पोख्नुभयाे ।
मुद्दा जिते पनि पाइएन न्याय
४३ सालकाे घटनाकाे फैसला २०५६ मा झुपलालकै पक्षमा भयाे ।
‘तत्कालीन केन्द्रीय कारागार जुम्ला र क्षेत्रीय सुर्खेत गरेर एक वर्ष जेल सजाय भुक्तान गरेँ’, उपाध्यायले सुनाउनुभयो, ‘चार जनाविरुद्ध हालिएको मुद्दा जितियो तर के गर्नु, मुद्दा जिते पनि अहिलेसम्म हामीले आफ्ना सुनका अशर्फी पाएका छैनौँ ।’
अहिले हली जोखे कार्की र घरधनी धनलाल उपाध्यायको मृत्यु भइसकेको छ । फैसला आफ्नाे पक्षमा आए पनि जफत गरिएकाे धन र क्षतिपूर्ति नपाइएकाे उहाँकाे विषयमा बोल्नुपर्ने भएको छ ।
उपाध्यायका अनुसार सुनका अशर्फीहरुको अभिलेख पुरातत्व विभाग र वसन्तपुर सङ्ग्राहलयमा राखिएको बताइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।