काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाडौं – राष्ट्रिय दैनिकका सम्पादकहरुले कुनै आन्दोलन र मागबारे आफै उपस्थित भई समर्थन गर्नु कतिको उचित होला ? व्यावसायिक पत्रकारिताको सिद्धान्त र धर्मअनुसार सम्पादक र पत्रकारले आफूलाई प्रत्यक्षरुपमा संलग्न गरएको विषय पुनः विवादित बनेको छ ।
पत्रकारले उपयुक्त लागेको विषयमा सम्पादकीय वा लेख, विचारका माध्यमबाट जनमत निर्माण गर्न सक्ने भए पनि कुनै आन्दोलनरत पक्षकोमा पुगेर ऐक्यबद्धता जनाउनु विज्ञहरुको विचारमा उचित होइन ।
अस्पतालमा आधारित आमरण अनसनरत चिकित्सक डाक्टर गोविन्द केसीलाई आइतबार त्रिवि, शिक्षण अस्पतालमा भेटेर विभिन्न सम्पादकले उहाँका मागप्रति ऐक्यबद्धता जनाउँदै अविलम्ब माग पूरा गर्न वक्तव्यसहित सार्वजनिक आह्वान गरेका थिए । राष्ट्रिय दैनिक तथा अनलाइनका गरी १४ जना सम्पादक र पूर्वसम्पादकले त्यसरी गर्नुभएको ऐक्यबद्धता व्यावसायिक पत्रकारिताको धर्मविपरीत भएको वरिष्ठ पत्रकार एवं विज्ञहरुको भनाइ छ ।
त्रिभुवन विश्वविद्यालयका आमसञ्चार तथा पत्रकारिता विषयका प्राध्यापक पी खरेलले संविधानले आफ्ना हकअधिकारका विषयमा आवाज उठाउन जुनसुकै नागरिकलाई अधिकार भए पनि सम्पादक र पत्रकारले ती सबैका माग उचित वा अनुचित भनेर वकालतमा उत्रनु व्यावसायिक पत्रकारिताको धर्मविपरीत भएको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘पत्रकारिता भनेको पहरेदारको पनि पहरेदार गर्ने पेसा हो । आफूलाई उचित लागेको विषयमा विचार र सम्पादकीय लेख्न पाइन्छ तर यसरी अनसनस्थलमा पुगेर सम्पादकले सामूहिक रुपमा समर्थन गरेको उदाहरण विश्वमा विरलै पाइन्छ ।’
वरिष्ठ पत्रकार किशोर नेपालका विचारमा सम्पादकले आफूले पालना गर्ने कर्तव्यको परिभाषा कसरी गरेका छन्, त्यसै आधारमा त्यो ऐक्यबद्धतालाई हेर्नुपर्ने जनाउनुहुन्छ ।
नागरिक दैनिकका पूर्वसम्पादक समेत रहेका नेपालले भन्नुभयो, ‘प्रजातान्त्रिक समाजमा विचार राख्न पाउने स्वतन्त्रता अन्तर्गत सम्पादक अस्पताल गएको हुन सक्छ तर उहाँहरु कसैको ‘कुक्स’ का आधारमा गएको हो भने राम्रो होइन, एक्टिभिष्ट नभई सम्पादकीयमार्फत आफ्नो विचारलाई जनतासमक्ष फराकिलो रुपमा लान पनि सकिन्छ ।’
उहाँले सरकारले पनि डा. केसीको अनसन र उहाँको मागलाई वास्ता नगरेकाले सम्पादकहरु त्यहाँ पुगेको हुन सक्ने बताउनुभयो ।
पत्रकार आचारसंहिता, २०७३ मा पत्रकारले गर्न नहुने विषयअन्तर्गत बुँदा नम्बर १० मा पत्रकारले ‘अनुचित दबाब र सम्बन्ध’ राख्न नहुने उल्लेख छ । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ पत्रकारले एक्टिभिज्म र पक्षधरता देखाउनु पत्रकार आचारसंहिताविपरीत हुने भन्दै गणतन्त्र स्थापनाका लागि भएका आन्दोलन र अभियानमा ऐतिहासिक आवश्यकताका आधारमा पत्रकारहरु लागेको अनुभव भए पनि हरेक मुद्दापिच्छे सम्पादकको ऐक्यबद्धता देखिनु निष्पक्षता नहुने बताउनुभयो ।
कार्यवाहक अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘यसले गर्दा निष्पक्ष पत्रकारिताको कर्तव्य र भूमिकाबाट च्यूत भएको ठहर्छ ।’
ऐक्यबद्धतामा सहभागीमध्येका नागरिक दैनिकका सम्पादक गुणराज लुइँटेलले केसीले सर्वसाधारणको शिक्षा र स्वास्थ्यको अधिकारका आवाज उठाएको आफूहरुलाई लागेकाले विगतदेखि नै लेख्दै र समर्थन जनाउँदै आएको प्रतिक्रिया दिनुभयो ।
‘जुन कुरामा हाम्रो विश्वास छ, त्यसमा त्यसरी प्रतिबद्धता जनाउन जानै हुन्न भन्ने होइन’, लुइँटेलले भन्नुभयो, ‘केसीको जीवनरक्षाका लागि पनि हामीले दबाब दिएका हौँ । हामीहरु २०६२-०६३ को जनआन्दोलन र पछि पनि मानवअधिकारका विषयमा पर्दा यसरी उत्रँदै आएका छौँ । त्यसकारण यसपल्ट पनि गएका हौँ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।