चीनबाट ल्याइने नेपालीलाई राख्न चार ठाउँकाे टुंगाे लाग्याे

 माघ २३, २०७६ बिहिबार १४:३१:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले चीनबाट ल्याउन लागेका नेपालीलाई काठमाण्डाैका चार ठाउँमा राख्ने भएको छ ।

चीनबाट ल्याइएकाहरूलाई काठमाण्डौको शिवपुरी, इचङ्गुनारायण, सूर्यविनायक र खरिपाटीमा राखिने भएको हो । कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राखेर यी चार ठाउँमा क्वारेन्टाइन व्यवस्थित गरी उनीहरुलाई राखिने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार निर्धारित कार्ययोजना अनुसार तयारीमा जुट्न स्वास्थ्य मन्त्रालयसहितका निकायलाई निर्देशनसमेत दिनुभएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा उपप्रधान तथा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, स्वास्थ्य तथा जनसंख्या र पर्यटनमन्त्री सहितको छलफलमा प्रधानमन्त्रीले चीनबाट ल्याउनुपर्ने विद्यार्थी र नेपाली नागरिकलाई राख्न र उपचारको व्यवस्था गर्न तत्काल जुट्न निर्देशन दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले कार्ययोजना योजनाबद्द रूपमा कार्यान्वयन गर्न पनि जिम्मेवार निकायको ध्यानाकर्षण गराउनुभएको छ । छलफलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायणप्रसाद विडारीले अत्यावश्यक कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै, परराष्ट्र सचिव शंकरदास वैरागीले चीनबाट नेपाली ल्याउन भैरहेको पछिल्लो अवस्थाबारे जानकारी गराउनुभएको थियो । नेपालले एक लाख ‘प्रोटेक्टिभ मास्क’ चीन सरकारलाई सहयोग उपलब्ध गराउने निर्णय समेत गरेको छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया