धन्न तपाईं र म अझै बहुलाएका छैनौं !

 माघ २५, २०७६ शनिबार ८:५८:० | मिलन तिमिल्सिना
unn.prixa.net

काठमाण्डौ – सडकमा प्रेम सप्ताह चलिरहेको छ । ठिटाठिटीहरुलाई रोजदेखि किस डेसम्म मनाउन भ्याईनभ्याई छ । कोही प्रेम धेरै भएर बहुलाएका छन्, कोही प्रेमको गन्धै सुँघ्न नपाएर बहुलाउन आँटेका छन् । तर तपाईं र म चाहिँ प्रेमले भन्दा भ्रमले बहुलाउन आँटेका छौं ।  

अरु भएको भए उहिल्यै बहुलाइसक्थे । धन्न तपाईं र म मात्रै यस्ता सहनशील र शक्तिशाली मान्छे रहेछौं अहिलेसम्म बहुलाउन सकेका छैनौं । तपाईं र मलाई बहुलाह बनाउन यिनीहरुले भरमग्दुर प्रयास गरेकै हुन् । तर आजको मितिसम्म सफल भएका छैनन् । 

अस्तिताकासम्म एमसीसीको कुरा गरेर यिनीहरुले हामीलाई बहुलाह बनाउन खोजे । अहिले ललिता निवासको प्रकरण जोडेर बहुलाह बनाउन खोज्दैछन् ।

सबैभन्दा पहिले ललिता निवास प्रकरणको कुरा गरौं । 

मान्छेहरु भन्छन्, उम्केको माछो ठूलो । तर यहाँ त उम्केको होइन, समातिएको माछो चाहिँ ठूलो भयो । उम्केको माछो ठूलो भनेर सुन्दै आएको तपाईं र मलाई बहुलाह बनाउने प्रयास यहीँबाट सुरु भयो ।

साना माछामा मात्र आँखा लगाउँछ, ठूलो माछा समाउनै सक्दैन भनेर धेरैले अख्तियारलाई उडाए । केही लछारपाटो लगाउन सक्दैन भनेर खेदो खने । साँच्चै हेपेकै हो त भन्ने पारामा अख्तियारले एकैपटक सानादेखि ठूला माछालाई जालमा पार्यो । पहिले कुरा काट्ने र धारे हात लगाउनेहरु हेरेका हेर्यै भए । 

सबैलाई थाहा भएकै कुरा हो कि खोलामा जाल हान्दा एकैपटक सबै माछा पर्दैनन् । पर्नैपर्ने पनि उम्कन्छन् । नपर्न पर्ने पनि पर्छन् । सानाभन्दा ठूला माछा स्वभावैले बलिया हुन्छन् । जाल छल्न, च्यात्न र उम्कन सक्छन् ।

 त्यसैले अख्तियारको जालमा सबै ठूला माछा परेनन् । कसैले छले, कसैले जाल नै च्याते । कुनै माछा देखेर जाल हान्ने पनि तर्सिए होला । तर जालमा पर्नैपर्ने केही ठूला माछा त परे नि । केही पो उम्के ।

तर जाल हान्ने मान्छेले उम्केको माछो ठूलो थियो भन्नुपर्नेमा अरुले चाहिँ परेको माछो ठूलो भन्दैछन् । अहिले जति पर्यो ठिकै छ, पार्नै पर्ने अरु माछालाई पनि छोड्नुहुन्न भन्नुपथ्र्यो । तर हाम्रा माछा मात्रै जालमा पार्ने भनेर उफ्रन थालेका छन् । अरुभन्दा पनि अहिले जालमा परेको सबैभन्दा ठूलो माछाको बारेमा चिन्ता छ । 

हुन पनि यी ठूला माछा साँच्चैका महान हुन् । उनलाई जुनसुकै पार्टीको सरकार पनि मन पथ्र्यो । पार्टी फोडेर भए पनि पदमा पुग्नुपर्ने साँच्चैका मनकारी मान्छे थिए । अति मिजासिला र देशकै सर्वप्रीय नेता थिए । 

उनको छँदाखाँदाको सांसद पद नै नरहनेगरी जालमा पारियो । यो उनीप्रति, उनको पार्टीप्रति मात्र होइन देशकै निम्ति अन्याय हो । संसददेखि सडकसम्म तनाउन खोज्नेहरु यसै भन्छन् ।

जालमा परेको ठूला माछाको गुणगान गाउनेले त बहुलाह बनाउन खोजे नै । जालमा नपरेका माछाहरुको बारेमा पनि दिमाग घुमाउने नजिर बनाएर बहुलाह बनाउन खोजिंदैछ । अब चोरले मैले चोरेको सामान फिर्ता गर्छु भन्यो भने उसलाई स्याबास मात्रै भने पुग्ने भएको छ । 

यो त अहिलेको कुरा । तपाईं र मलाई पहिलेदेखि नै एमसीसीको कुरा झिकेर यिनीहरुले बहुलाह बनाउन खोजे । एउटै पार्टीको एउटा नेता भन्छ, एमसीसी पास भए नेपाल ईरान बन्न सक्छ । अर्को नेता सही थाप्दै उफ्रन्छ, एमसीसी पास भए पार्टी फुट्छ ।

अर्को नेता तर्क गर्छ, एमसीसी अहिलेसम्मकै ठूलो परियोजना हो, फिर्ता जान दिन हुँदैन । अर्को भन्छ, एमसीसी भनेको विशुद्ध आर्थिक विकास र सुशासनका लागि मद्दत गर्ने र ठूला परियोजनालाई मद्दत गर्ने परियोजना हो । फेरि अर्को नेता भन्छ, एमसीसी सम्झौता भए चीनको रेल आउँदैन । 

जान्ने पल्टँदै अर्को नेता भन्छ, एमसीसी नेपालका लागि घातक छ । सही थाप्दै अर्को नेता भन्छ, एमसीसी सम्झौता महाकली सन्धीभन्दा ठूलो राष्ट्रघात हुन्छ ।
अर्को शीर्ष नेता भन्छन्, एमसीसी जसरी पनि पास गर्नुपर्छ । अर्को युवा नेता चिन्ता मान्छन्, एमसीसी परियोजना फिर्ता पठाएनौं भने अमेरिकी सेना नेपालमा क्याम्प बनाएर बस्ने निश्चित छ ।

अर्थमन्त्री भन्छन्, एमसीसीलाई देश विकासको सहयात्री बनाऔं । 

आपूmलाई महान क्रान्तिकारी ठान्ने नेता मुठी कस्छन्, एमसीसी पारित गरिए आन्दोलन गरिन्छ । एउटै पार्टी, उस्तै नेता । तपाईं, मेरो र देशको हितमा काम गर्छु भन्ने नेता । तर एउटै कुरामा एउटा नेता ठिक भन्छ, अर्को बेठिक ।

 तपाईं र मलाई ठिक लागेको कुरामा बेठिक भन्छ, तपाईं र मलाई बेठिक लागेको कुरामा ठिक भन्छ । अख्तियारले समाउनु पनि ठिक भन्छ, अख्तियारले नसमाउनु पनि ठिक भन्छ । अख्तियारले किन समायो पनि भन्छ, अख्तियारले किन समाएन पनि भन्छ । 

एमसीसी राम्रो पनि भन्छ, एमसीसी नराम्रो पनि भन्छ । कहिले के भन्छ, कहिले के भन्छ । कहिले एकथोक, कहिले अर्कोथोक भनेर उ आफू त बहुलाउन खोजिसक्यो, तपाईं र मलाई पनि बहुलाह बनाउन आँट्दैछ ।

धन्न तपाईं र म अहिलेसम्म बहुलाउन सकेका छैनौं ।
 

अन्तिम अपडेट: चैत १२, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया