चीनबाट नेपाली छिटो ल्याउ सरकार

 माघ २६, २०७६ आइतबार १४:१६:४ | अमरेन्द्र यादव
unn.prixa.net

राणाकालमा तत्कालीन श्री ३ सरकारहरुले जनसरोकारप्रति देखाउने गरेका चरम लापरबाही र ढिलासुस्तीलाई त्यसबेलाको एउटा चर्चित घटनाले उजागर गर्छ । मूल रुपमा नागरिकप्रति उदासीन र गैरजिम्मेवार रहेको राणाशासनको वास्तविक चरित्र उदाङ्गो पार्ने त्यो सत्य घटनाबारे बेलाबेला चर्चा हुन्छ ।

भएको के थियो भने राणाकालको समयमा तराईको एउटा गाउँमा आगो लाग्यो । चैतको हावाहुरीको बेला र आगो निभाउने दमकलको अभावमा केही मिनेटमै पूरै गाउँ खरानी भयो । जिल्लाको प्रमुख जिल्ला अधिकारी (सीडीओ) जस्तो हैसियतमा रहने सम्बन्धित बडा हाकिमलाई त्यही दिन गाउँलेले आगलागीबारे जानकारी गराए ।

तर बडा हाकिमले काठमाण्डौसम्म सबै घटना विवरण पठाउनेदेखि तत्कालीन श्री ३ महाराजले आगो निभाउन हुकुम गर्दासम्म तीन महिना बित्यो । 

गाउँ नै खरानी भएर आगो त्यही दिन निभिसकेको थियो । तर त्यसको तीन महिनापछि मात्रै काठमाण्डौबाट श्री ३ महाराजले 'चाँडै आगो निभाउनू !' भन्ने आदेश दिनु चरम लापरबाही र ढिलासुस्ती मात्र नभइ हाँस्यास्पद पनि थियो ।  

कोरोना भाइरस सङ्क्रमित चीनको हुबेई प्रान्तबाट नेपाली फर्काउने सन्दर्भमा सरकारको रबैया हेर्दा राणाकालीन त्यही हाँस्यापद र उदेकलाग्दो घटना याद आउँछ । चीनमा कोरोना भाइरसको सङ्क्रमण सुरु भएको डेढ महिना बितिसक्यो । सङ्क्रमणबाट मान्छेकाे ज्यान जान थालेको पनि कम्तीमा एक महिना भइसक्यो ।

महामारी फैलिएको क्षेत्रमा रहेका नेपाली नागरिकलाई फर्काउनुपर्छ भन्ने आवाज उठ्न थालेको पनि दुई हप्ता गइसक्यो । नेपालीलाई फिर्ता ल्याउन जहाज तयारी अवस्थामा छ भनेर मन्त्रीले भनेको पनि झण्डे १० दिन बितिसक्यो । नेपाल फर्किन चाहन्छु भन्दै नेपालीहरुले चीनमा रहेकाे नेपाली दूतावासमा आवेदन दिएको पनि झण्डै एक हप्ता गुज्रिसक्यो । तर त्यहाँ त्रासमा बाँचेका नेपालीहरुलाई स्वदेश फर्काइएको छैन । 

भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ३५ हजार पुगिसक्यो । सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या सात सय नाघिसक्यो । अमेरिका, फ्रान्स, साउदी अरेबिया, जापान र टर्कीलगायतका धनी देशका सरकारले आफ्ना नागरिकलाई चीनबाट फिर्ता लगिसके । छिमेकी देश भारत, बङ्गलादेश, श्रीलङ्का र माल्दिभ्सका सरकारले पनि आफ्ना नागरिकलाई आ–आफ्ना देश ल्याइसके । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार आफ्ना नागरिकलाई सकुशल फिर्ता ल्याउन पाकिस्तान र नेपालमात्रै बाँकी छन् । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफ्ना नागरिक फिर्ता ल्याउन किन ढिलाइ गरिरहनुभएको हो, त्यतातिर नजाऔँ । तर हाम्रा नागरिकलाई फिर्ता ल्याउन किन ढिलाइ भइरहेको हो सरकार ? 

चीनको सङ्क्रमण प्रभावित क्षेत्रमा अवस्था भयावह छ । प्रभावित शहरका सडकहरु सुनसान छन् । पसल र कार्यालयहरु बन्द छन् । चिनियाँमात्र होइन, नेपालीहरु पनि कोठामै थुनिन बाध्य छन् । विद्यालय र विश्वविद्यालयहरु अनिश्चितकालका बन्द गरिएका छन् । सरकारी कार्यालयहरुको बिदा लम्बिएको छ । स्वदेश फर्कन चाहने नेपालीहरुले नेपाली राजदूत र नेपालका मन्त्रीहरुलाई हारगुहार गरिरहेका छन् । 

त्यहाँ पिउने पानीको समेत अभाव हुन थालेको छ । अस्पतालमा बेड अपुग भएर चीनमा सङ्क्रमितलाई घरमै उपचार गर्न थालिएको छ । दुई जना डाक्टरको समेत सङ्क्रमणबाट ज्यान गइसकेकाे छ । वुहान शहरमा मात्रै १० हजारभन्दा बढी कोरोना भाइरसबाट सङ्क्रमित भइसकेका छन् । त्यहाँ रहेका नेपालीहरु मानसिक तनावमा छन् । उनीहरुका आमाबुबा र अभिभावकले काठमाण्डौमा सरकारसँग रोइ, कराइ गरिसकेका छन् । अब उनीहरुले विश्व समुदायलाई गुहार्ने बताइरहेका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मात्रै नेपाली नागरिकलाई चीनबाट छिटो फर्काउन उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई निर्देशन दिनुभएको छ । सरकारका सम्बन्धित निकायहरुले नेपालीलाई फिर्ता ल्याउने तयारी चलिरहेको बताइरहेका छन् । शुक्रबार मात्रै स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । तर उहाँकै अनुसार कुन दिन ल्याउने भन्ने टुंगो लागेको छैन । 

भक्तपुरको खरिपाटीको विद्युत् प्राधिकरणको तालिम केन्द्रलाई चीनबाट फिर्ता ल्याइने नेपालीलाई राख्ने चर्चा चलेको कति दिन भइसक्यो । सरकारले तालिम केन्द्रलाई क्वारेन्टाइनमा बदल्ने तयारी गर्दैछ भन्ने समाचारहरु पनि अब पुरानो भइसक्यो । एकातिर स्थानीयले त्यसको विरोध गरेको र अर्कोतिर पालिकाकाे नगर सभाले त्यसविरुद्ध निर्णय नै गरेको खबर पनि छ ।

के साँच्चै नै चीनबाट फर्किने नेपालीलाई राख्ने ठाउँको अझैसम्म पनि ठेगान भइसकेकाे छैन सरकार ? एक जना सांसदले चीनबाट फर्कने नेपालीलाई सङ्घीय संसद् भवनमै राख्ने प्रस्ताव गरेका थिए । यदि अन्य ठाउँमा व्यवस्था नभए संसद् भवनमै चीनबाट फर्किने नेपालीलाई राख्ने व्यवस्था गर सरकार । सबभन्दा महत्वपूर्ण चीनबाट नेपालीलाई छिटो फर्काउ सरकार ।

नेपाल सरकार र प्रशासनले तदारुकता देखाउन ढिलो भइसक्यो । सङ्घीय सरकारले नागरिकप्रति जवाफदेहिता र मायाको प्रमाण पेस गर्ने समय घर्किसक्यो ।

जनप्रतिनिधिमूलक सरकारलाई एक जना नागरिकको आवाज पनि विचारणीय हुन्छ । जवाफदेही सरकारका लागि एक जना नागरिकको ज्यान पनि प्यारो हुन्छ । सङ्क्रमित विदेशीलाई चीनले स्वदेश फर्काउन दिँदैन । उसले त्यही उपचार गर्छ ।  

सुखद् संयोग नै भन्नुपर्छ चीनमा रहेका एक जना नेपाली पनि सङ्क्रमित भएका छैनन् । तर चीनमा भाइरसको सङ्क्रमण बढेको बढ्यै छ । सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या पनि दिनदिनै बढिरहेकै छ । त्यहाँ रहेका हरेक नेपाली मृत्युको मुखमा छन् सरकार । त्यसैले आलटाल नगर सरकार । उनीहरुलाई आजै फिर्ता ल्याउ सरकार ।   

अन्तिम अपडेट: बैशाख ५, २०८१

अमरेन्द्र यादव

करिब डेढ दशकदेखि पत्रकारितामा सक्रिय यादव राजनीति र समसामयिक विषयमा लेख्न रुचाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया