दुर्इ झाँक्रीकाे हत्या भएपछि एकै गाउँका ३१ जना पक्राउ

 साउन ८, २०७५ मंगलबार १६:२:९ | उज्यालो सहकर्मी
unn.prixa.net

धादिङ – उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर २ लताबमा दुई जना झाक्रीको हत्या गरेको आरोपमा गाउँका ३१ जनालाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । 

लताबबासीको कुटपिटबाट दुई जनाको ज्यान गएपछि गाउँमै शव जलाइएको थियो ।

घटनापछि गाउँपालिका उपाध्यक्षसमेतलाई गाउँमा जान समेत नदिएको घटनामा संलग्न भएको आरोपमा प्रहरी टोलीले घटनास्थल पुगेर २७ पुरुष र ४ महिलालाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामबहादुर केसीले बताउनुभयो । 

कुटपिटका कारण गंगाजमुना गाउँपालिका वडा न-२ लताबका ६५ वर्षीय साइँला तामाङ र ५४ वर्षीय नरुङ तामाङको मृत्यु भएको थियो ।

उनीहरुले गाउँमा मृत्यु भएका केही व्यक्तिहरु आफूले मन्त्र गरेर मारेको, गाइबस्तुलाई समेत मन्त्र गर्ने गरेको र झाँक्री मन्त्रबाट मानिसहरुलाई बच्चा पाउने नपाउने समेत बनाउन सक्ने भन्दै गाउँबासीलाई आक्रोशित पारेपछि सिंहबहादुर तामाङको घरमा किरिया समापनको कार्यक्रम हुँदै गर्दा कुटपिट गरिएको थियो । 

असार ५ गते कुटपिट गरी गाउँमै बाँधेर राखिएका दुवै जनालाई गाउँले असार ६ गते फेरि कुटेका थिए । घटनापछि दुवै जनाको मृत्यु भएपछि गाउँलेले मिलेर गाउँकै डाँडामा लगेर जलाएका थिए । जलाइएको ठाउँमा प्रहरीले अनुसन्धान गर्दा अंगार र केही हाडसमेत बरामद गरेको छ । 

साइला तामाङ झाँक्री काम गर्दै आएका व्यक्ति हुन् भने नरुङ तामाङ झाँक्रीको सहयोगीको रुपमा रहेका छन् । 

हिरासतमा लिइएका सबैलाई जिल्ला प्रहरी कार्यालयले बयान लिएको छ ।

घटनाको छानविनपछि सम्लग्न नभएकालाई छाडिने प्रहरी नायव उपरीक्षक  केसीले बताउनुभयो । 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया