‘गुरिल्ला’ हिँडेको बाटोमा ‘गुरिल्ला म्याराथन’ सम्पन्न : दुर्गाराज र सानुमायालाई उपाधि

 फागुन ३, २०७६ शनिबार ११:१३:२४ | राजु लामिछाने
unn.prixa.net

रुकुम - रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले आयोजना गरेको तेस्रो गुरिल्ला म्याराथन सम्पन्न भएको छ ।

तत्कालीन माओवादी लडाकुहरूले सशस्त्र संघर्षका क्रममा प्रयोग गरेको बाटोमा सञ्चालन भएको मौराखारा गुरिल्ला म्याराथनको उपाधि रुकुम पश्चिमका दुर्गाराज बुढा र जुम्लाकी सुनमाया बुढाले प्राप्त गर्नुभएको छ ।

शुक्रबार बेलुका सम्पन्न ४८ किलोमिटर दुई सय मिटर दूरीको पुरुषतर्फको म्याराथन ४ घन्टा ५४ मिनेटमा पूरा गर्दै दुर्गाराज बुढा पुरुषतर्फ विजेता बन्नुभएको हो।

५३ जना प्रतिस्पर्धीलाई पछि पार्दै बुढाले नगद ७५ हजार, कप र पदक हात पार्नुभएको हो ।

त्यसैगरी निर्धारित दूरी पाँच घन्टा पाँच सेकेण्डमा पूरा गरेर रुकुम पश्चिम सानीभेरी गाउँपालिकाका अर्जुन बस्नेतले दोस्रो हुँदै नगद ५० हजार र पदक पाउनुभयाे । गोरखाका भिम गुरुङ र जाजरकोटका दीपक कार्कीले जनही दश हजार रुपैयाँकाे सान्त्वना पुरस्कार प्राप्त गर्नुभयाे ।

त्यसैगरी महिलातर्फको म्याराथनमा जुम्लाकी सुनमाया बुढाले प्रथम हुँदै ५० हजार, कप र पदक पाउनुभयाे । सुनमायाले निर्धारित ३६ किलोमिटरको दुरी दुई घन्टा ५७ मिनेटमा पार गर्नुभएको थियो ।

३ घन्टा ९ मिनेटमा दूरी पार गर्नुभएकी प्युठानकी हुमी बुढामगरले दोस्रो हुँदै नगद ३५ हजार र पदक तथा सानीभेरी गाउँपालिकाकी रुपा नकालले तीन घन्टा २५ मिनेट र सानीभेरी गाउँपालिकाकै मुवा भण्डारीले तीन घन्टा ४२ मिनेटमा दौड पूरा गर्दै सान्त्वनास्वरुप जनही दश हजार रुपैयाँ प्राप्त गर्नुभयाे।

प्रतियोगिताको व्यवस्थापक मौराखारा युवा क्लबका अनुसार, म्याराथनमा रुकुम पश्चिम र पूर्वसहित जाजरकोट, प्युठान, दाङ, बागलुङ, गोरखा, सिन्धुपाल्चोक र सिन्धुलीका पुरुषतर्फ ५४ जना र महिलातर्फ ३७ धावकहरूले प्रतिस्पर्धा गरेका थिए ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया